एक 'फेसबुक रिक्वेष्ट'जसले कम्बोडिया पुर्‍याएर यौनदासी बनायो 

कमल प्रभात

काठमाडौं

‘सम्झना’ (नाम परिर्वतन) को अनुहारमा बिहानैदेखि छुट्टै खालको खुशी झल्किएको थियो। जीवनको एउटा सपना पूरा हुँदै थियो। 

सामान्य लेखपढ मात्र भएकी युवती थिइन्– सम्झना। आर्थिक अवस्था पनि कमजोर थियो। उनीभित्र विदेश गएर धन कमाउने दमित आकांक्षा थियो। आफ्नै कमाइले जीवनमा केही गर्ने हुट्हुटीले उनलाई फरक बाटोतिर डोर्‍याएको थियो।

वैदेशिक रोजगारीका लागि उनी नेपालबाट घुमाउरो बाटोबाट कम्बोडियातर्फको यात्रा गर्दै थिइन्। त्यस बेला धन कमाउने लालसाले उनको अनुहारमा खुशी छाएको थियो। उनीभित्र विल्कुलै कुनै त्राश वा आशङ्का थिएन।

केवल तीव्र आकांक्षा, उत्साह र चाहिनेभन्दा आत्मविश्वास थियो। उनी आफ्नोसामु यत्ति मात्र देखिरहेकी थिइन्– मासिक एक लाख रुपैयाँ कमाइ। त्यसपछि आफ्नो जीवनमा आउने परिवर्तन। मीठो खाने, राम्रो लगाउने चाहना। महंगो मोबाइल र सुनका गरगहना पहिरिने सपना। अनि सुन्दर घरमा एक जना असल जीवनसाथीसँग सुखले जिन्दगी जिउने सपना थियो, जुन आम युवतीमा हुने गर्छ।

भारत–म्यानमार–थाइल्याण्ड हुँदै कम्बोडिया प्रवेश

२०७६ चैत्र १८ गते। सम्झना बिहानैदेखि विदेश जाने तयारी गर्दै थिइन्। उनको बाटौ भने त्रिभुवन विमानस्थलको ‘टर्मिनल’ को सोझो बाटोबाट कम्बोडिया प्रस्थान गर्दै थिइनन्। उनको कम्बोनिया पुग्ने मार्ग चाहिँ अलिक फरक थियो।

उनी हवाई मार्गबाट होइन, स्थल मार्ग भएर कम्बोडिया पुयाइँदै थिइन्। झापाको काँकडभिट्टाबा भारतको असम पुग्ने। त्यहाँबाट नागाल्याण्ड, गुहाटी, मणिपुर हँुदै म्यानमार पस्ने उनको ‘रुट’ थियो। म्यानमारबाट थाइल्याण्ड छिर्ने अनि त्यहाँबाट कम्बोडिया जाने प्रवेश गर्ने उनको योजना थियो। 

यात्राको सम्पूर्ण प्रबन्ध र ‘रुट’ धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईले तय गरेका थिए। महिनौँ लगाएर ‘चोर बाटो’ बाट उनी कम्बोडिया प्रवेश गरिन्। 

उनको कोम्बिडा पुग्ने सपना त पूरा भयो, अब सपनाबमोजिम राम्रो काम गरेर प्रशस्त धन आर्जन गर्नु थियो। 
उनी काम गर्ने ठाउँ चिनियाँ नागरिक बस्दैआएको एउटा घर थियो, उक्त घरमा सफाइ र खानामा पकाउने काम तोकियो। बस्न–खान दिएर मासिक एक लाख रुपैयाँ हुने भएपछि उनी त्यो काम गर्न राजी भएकी थिइन् तर उनले सोच्दै नसोचेको काम गर्नुपर्यो। 

पाहुनालाई यौन–सन्तुष्टि पूरा गर्नुपर्ने !

‘सफाइ र खाना पकाउने काम’ भनिए पनि घरमा आएका पाहुनालाई यौन–सन्तुष्टि पूरा गर्नुपर्ने जिम्मा पनि उनमा आइपर्‍यो। सम्झना एकाएक छाँगाबाट खसेजस्तै भइन्– अब गर्ने के ? ! बिरानो देशमा अर्को बज्रपात आइलाग्यो।

सम्झनालाई कम्बोडिया पठाउने राईसँगको सम्पर्क काँकाडभिट्टाबाटै टुटिसकेको थियो। सम्झनाले एक वर्षभन्दा बढी घरभित्र बन्दीझैं जीवन बिताउनुपर्यो– यौनदासी भएर। 

उनी शोषणको शिकार भइन्। ‘कमाउँला, रमाउँला’ भन्ने सबै सपनामा तुषारापात भए। त्यसपछि उनी त्यहाँबाट उम्कने उपायको खोजीमा लागिन्। विभिन्न जुक्ति लगाएर उनी बल्लतल्ल गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्पर्कमा पुगिन्। एनआरएनएकै सहयोगमा उनी ०७७ कार्तिक ७ गते नेपाल आइपुगिन्।

लाखै कमाउने सुन्दर सपना साँचेर कम्बोडियासम्म गएकी उनले त्यहाँ पठाइदिने दलाललाई ४ लाख ५० हजार रुपैयाँ बुझाएकी थिइन्। त्यो पैसा पनि डुब्यो। 

सम्झना नेपाल फर्किएपछि उनलाई पठाउने दलाल धनकुटाका किसान राई पनि फेला पार्न सकिनन्। राम्रो रोजगारी र आम्दानीको लोभमा सम्झनाको सर्वस्व डुब्यो। त्यसपछि उनी नेपाल प्रहरीको मानव बेचविखन व्यूरोको सम्पर्कमा पुगिन्। उनकै उजुरीका आधारमा उनलाई कम्बोडिया पुर्‍याउने राई पक्राउ परेका छन्।

सम्झनालाई राईसँग जोडेको थियो– फेसबुकले

एक दिन एक जना अपरिचित युवकले सम्झनालाई फेसबुकमा ‘फ्रेण्ड रिक्वेष्ट’ पठायो।  युवक अपरिचित भए पनि उनले सहजै स्वकार गर्छिन्। यसरी सम्झनालाई ‘रिक्वेस्ट’  पठाउने उनै  किसान राई थिए। उनीहरुको कुरा यत्तिमा नै सीमित रहेन। बिस्तारै ‘म्यासेञ्जर’बाट कुराकानी हुन थाल्छ। सबै कुरा उनीहरुबीच ‘शेयर’ हुनथाल्छ।



साइबर अपराधको मारमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्म

एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित



घरको आर्थिक अवस्थादेखि अन्य कुराहरु पनि एकअर्काबीच साटासाट हुन्छ। सम्झनाको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि किसानले उनलाई वैदेशिक रोजगारीमा जान सल्लाह दिन्छन्। 

सम्झनाले सोध्छिन्– ‘कुन देश?’ 

किसानले जवाफ दिन्छन्– ‘कम्बोडिया’।

त्यसपछि सम्झनाले सपना देख्न थालेकी हुन्छिन्। त्यसमाथि मासिक कमाइ पनि एक लाख रुपैयाँ ! उनलाई स्थल मार्गबाट कम्बोडिया पुर्याउने राई युवा–युवतीलाई विभिन्न प्रलोभनमा पारेर पैसा कमाउने मानव तस्कर भएर निस्किन्छन्। 

किसान राईलाई अहिले नेपाल प्रहरीको व्यूरोले पक्राउ गरेको छ। उनले सम्झना मात्र होइन, उनीजस्तै विपन्नता र बेरोजगारीमा पिल्सिएका ४५ जना युवा–युवतीलाई राम्रो रोजगारीको आशा देखाएर विदेश पुर्‍याएर बिचल्ली पारेको व्यूरोका एसपी अनुराग द्धिवेदीले जानकारी दिए बताए।



मलेसिया बसेर नेपालका युवतीलाई उनीहरूकै नाङ्गो फोटो पठाउने खजुमको साइबर आतङ्क 

दिपाश्रीलाई सुत्न नदिएका १४ वर्षीय ह्याकर: जो ९ कक्षामा पढ्छन् 

प्रकाशित मिति: : 2021-07-08 21:20:00

प्रतिकृया दिनुहोस्