अफगानी द्वन्द्वमा पाकिस्तानी प्रधानमन्त्रीको आफ्नै दाउ

Photo - Reuters
Photo - Reuters

अफगानिस्तानबाट सुरक्षा फौज फिर्ता भएसँगै स्लामिक अतिवादी समूह– तालिवानले देशभरि प्रभाव बढाउँदै गएको छ।

तालिवानले सीमावर्ती क्षेत्रसहित ठाउँ–ठाउँमाथिको कब्जा बढासने कार्यलाई तीव्रता दिएका छन्। अफगानिस्तान मात्रै होइन, छिमेकी देश पाकिस्तानसमेत तालिवानको उग्रवादीको कदमले आजित बनेको छ।

अफगान सरकार र विद्रोही तालिवानबीच मुठभेड रोक्न पाकिस्तानले विशेष सम्मेलन गर्ने चर्चा व्यापक भएको छ ताकि युद्धबाट ध्वस्त अफगानिस्तानमा अर्को गृहयुद्ध नहोस्। 

अफगानी नेतृत्वका सबै पक्षहरू सरकार, उग्रवादी तालिवान र विभिन्न जातीय विद्रोही समूहबीच तालमेल मिलाउन पाकिस्तान लागिपरेको छ।

अफगानिस्तानमा राजनीतिक सम्झौताको लागि छिमेकीको नाताले पाकिस्तानले भव्य ‘फोरम’ आयोजना गरी सबै पक्ष जुटाउन चाहन्छ। पाक प्रधानमन्त्री इमरान खानले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने विचार व्यक्त गरेका छन्। उनले अफगानी पूर्वराष्ट्रपति हमिद कारजईसँग संवाद गरेपछि आफ्नो धारणा सार्वजनिक गरेका हन्। 

प्रधानमन्त्री खानले पूर्वराष्ट्रपति कारजईसँगको टेलिफोन वार्ताका क्रममा शान्ति–सुव्यवस्था पुनस्र्थापनाका लागि हरसंभव प्रयास गर्ने बाचा गरेका छन्। 

पछिल्लो सातायता तालिवानको प्रभाव तीव्र रुपमा फैलिँदै गइरहेको छ। सरकारी सुरक्षा फौजको चेतावनी नटेरी तालिवानले आफ्नो कब्जाको क्षेत्र विस्तार गरिरहेको छ। 

सरकारी सुरक्षा फौज तालिवानको छेउछाउ पनि पर्नसक्ने अवस्था छैन। तालिवानले पेल्न थालेसँगै अफगानी सैनिकहरूको भागाभाग मच्चिएको छ। उनीहरू सीमावर्ती ताजिकिस्तानसम्म पुगेका छन्। 

पाकिस्तानी प्रधानमन्त्री खानको प्रस्तावलाई भिन्नभिन्नै कोणले विश्लेषण गरिएको छ। पाकिस्तानमा तालिवानको बढ्दो प्रभावले हैरान भएको टिप्पणी गर्न थालिएको छ। कतिपय अन्तर्राष्ट्रिय समुदायमा तटस्थ खेलाडीको रूपमा आफ्नोस्थिति स्पष्ट गर्नका लागि महत्वपूर्ण ठाउँ बनाइरहेको दाबी गर्छन्। अफगानिस्तानमा तालिवानको फैलिँदो दृश्यबाट पाकिस्तानसमेत तर्सिएको टिप्पणीसमेत गर्न थालिएको छ। 

अफगानिस्तानमा सम्मेलन आयोजना गर्ने योजनामाथि पाकिस्तानभित्र कुनै बहस सुरु भएको देखिँदैन। युद्धग्रस्त देशको निकटम छिमेकी शान्तिको चिन्ता हुनु स्वाभाविक भएको प्रायःको भनाइ छ। वास्तवमा अफगान गृहयुद्धतर्फ अग्रसर भइरहेको छ। पछिल्लो समय यहाँको अवस्था भयावह बन्दै गएको अनुमान गर्न सकिन्छ। 

चूपचाप पाकिस्तान एकाएक सक्रिय बनेपछि देशको पश्चिमी भेगमा अशान्त रहेको सङ्केत गर्छ। पाकको पछिल्लो कदमको धेरैले स्वागत् गरेका छन्। 

छिमेकी देशमा शान्ति र राजनीतिक समाधानका लागि हर–प्रयास जरुरी नै मानिन्छ। अफगानिस्तानमा शान्ति पुनस्र्थापन गर्न पाकिस्तानको भूमिका महत्वपूर्ण र फलदायी हुने अन्तर्राष्ट्रिय समुदायको दाबी छ। तर, आउँदा दिनहरूमा पाकिस्तानले पार्ने प्रभावबारे आशंका हुनु भने नौलो कुरा होइन।

प्रकाशित मिति: : 2021-07-17 20:13:00

प्रतिकृया दिनुहोस्