माधव नेपालमाथि रावल र पाण्डेको प्रश्न– देउवालाई विश्वासको मत दिने निर्णय कहिले भएको थियो ?

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधान कार्यदलमा रहेर काम गरेका उनकै पक्षका स्थायी कमिटीका पदाधिकारी एवम् सदस्यहरुले प्रश्न गरेका छन्– देउवालाई विश्वासको मत दिने निर्णय कहिले भएको थियो ?

विघटित विवाद समाधान कार्यदलका संयोजक र सदस्यसँगको बैठकमा वरिष्ठ नेता नेपाल र उनैले कार्यदलमा पठाएका नेताहरुबीच विवाद भएको हो।

कार्यदलको प्रतिवेदन कार्यान्वयबारे शनिबार अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि गएका स्थायी कमिटीमा रहेका नेताहरु आइतबार नेपालसँग छलफल गर्न बिहानै उनको निवास, कोटेश्वर पुगेका थिए।

भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्त्रय प्रदीप ज्ञवाली, भीम आचार्य र गोकर्ण बिष्ट, स्थायी कमिटी सदस्यद्वय शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे सहभागी थिए। सदस्यहरु रघुजी पन्त बिरामी परेका कारण र विष्णु रिमालको पूर्वनिर्धारित अर्को काम परेकोले उपस्थित थिएनन्।

नेपालसँगको छलफलमा एमाले संसदीय दलका उपनेता एवम् कार्यदलमा अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङले सुरुमा कुरा राखे।

उनले बोल्ने क्रममा आफूले दुईवटा सूचना पाएको बताए- 'एक, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिँदै हुनुहुन्छ भन्ने सूचना आएको छ। यो माधव कमरेडकै सल्लाहबमोजिम भएको हो भन्ने छ। दोस्रो, मन्त्रिमण्डलमा छ जनाको नाम सिफारिश गरेर प्रधानमन्त्रीलाई पठाउनुभएको भन्ने छ। यसबारे प्रष्ट पारिदिनुस्।'

त्यसपछि बोलेका नेपालले आफू पनि एमालेलाई एकताबद्ध बनाउने पक्षमा नै रहेको बताउँदै त्यो केपी ओलीमा भरपर्ने बताए। उनले भने, ‘कार्यदलको १० बुँदे प्रस्तावमा मेरा धेरै आपत्ति छन्। ती कुरा मैले पटक–पटक भन्दै आएको छु।’

विघटित कार्यदलमा रहेका नेपाल पक्षका संयोजक उपाध्यक्ष भीम रावलले आपत्ति जनाए, ‘१० बुँदे प्रस्ताव सहमतिको दस्तावेज हो। त्यो दुवै पक्षलाई पूर्णतः मन परेको छैन। मैले मात्र लेख्ने हो भने पनि बेग्लै लेख्थेँ। अध्यक्ष ओलीलाई पनि त्यो मन परेको छैन तर कार्यान्वयन गर्छु भनेर हामीसँगै भन्नुभएको छ।’

वरिष्ठ नेता नेपालले मन्त्रीको नाम दिएको भन्ने कुरा हास्यास्पद रहेको बताए। नेपालसँगको छलफलमा सहभागी एमाले स्थायी कमिटीका एक जना सदस्यले बिएल नेपाली सेवालाई दिएको जानकारीअनुसार, नेता नेपालले भने, ‘मैले आजै विश्वासको मत लिनुस् भनेको त होइन तर विश्वासको मत छिटो लिनुस् भन्ने सुझाव दिएको थिएँ। पहिलो दिन नै लिन लाग्नु भएछ।’

वरिष्ठ नेता नेपालले आफूले देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने ‘कमिटमेण्ट’ गरेको पनि बताएका थिए। ‘मान्छेको कमिटमेण्ट गरेपछि पूरा गर्नुपर्छ। अहिले आएर हामीले देउवालाई भोट हाल्दिनँ भन्न मिल्छ?’, नेता नेपालले आफ्नै निवासमा आएका कार्यदलमा रही काम गरेका एमाले स्थायी कमिटीका नौ जना नेताहरुलाई भने, ‘मैले कमिटमेण्ट गरेको थिएँ। म उहाँलाई विश्वासको मत हाल्छु। बरु केपी (ओली) कमरेडसँग पनि सबैले कुरा गरौँ, देउवालाई विश्वासको मत दिनसपर्छ भनेर। अहिले  विश्वासको मत नदिए चुनाव हुन्छ। अहिले नै चुनावमा जानु हाम्रो हितमा हुँदैन।’

आफूले शेरबहादुर देउवालाई विश्वासको मत छिटो लिन सुझाव दिएको र उनलाई विश्वासको मत दिन आफूले ‘कमिटमेण्ट’ गरेको पनि प्रष्ट पारे।
नेपालले यस्तो अभिव्यक्ति दिएपछि नेपालको भनाइप्रति एमाले उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका थिए। ‘देउवालाई विश्वासको मत दिने निर्णय कहिले कहाँ भएको थियो ? यो भएको छैन’, रावलले आपत्ति जनाए।

रावलले अब जे भए पनि पार्टीको संस्थागत निर्णय गरेर एक जुट भएर अघि बढ्ने बताए तर नेता नेपालले भने आफू अल्पमतमा रहेको एमालेको निर्णय मानेर अघि बढ्न नसक्ने पनि बताएका थिए।

उक्त छलफलमा उपाध्यक्ष भीम रावल, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले पनि देउवालाई विश्वासको मत दिने निर्णय आफ्नो समूहले कहिल्यै नगरेको बताउँदै नेपालसँग आपत्ति प्रकट गरे।

त्यसपछि नेपाल निवासबाट ओलीनिकट नेताहरु नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली नेपाल निवासबाट निस्केर हिँडेका हिँडेका थिए। नेपालनिकट नेताहरु भने स्थायी कमिटीका नेताहरुबीच अनौपचारिक बैठक बसौँ भन्दै त्यहीँ बसेका थिए। नेपालले भने बैठक बस्न पनि अस्वीकार गरेको स्रोतको दाबी छ।

प्रकाशित मिति: : 2021-07-18 15:30:00

प्रतिकृया दिनुहोस्