वामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी, कम्तिमा छ मन्त्री र दुई राज्यमन्त्री माग 

नेकपा एमालेको ‘फ्लोर क्रस’ गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने समूहले सरकारमा जाने तयारी गरेको छ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको उक्त समूहले एमाले उपाध्यक्ष वामदेव गौतमलाई समूहको तर्फबाट उपप्रधानमन्त्रीसहित सरकारमा नेतृत्व गरी पठाउने गृहकार्य गरेको हो।

एमालेभित्रै रहेर ‘समानान्तर गतिविधि’ सञ्चालन गरिरहेको उक्त समूहका तर्फबाट प्रधानमन्त्रीसँग छ वटा मन्त्रालयको माग गरिएको सो समूहको उच्च स्रोतले जानकारी दियो। कम्तिमा छ जना मन्त्री र दुई जना राज्यमन्त्री पाउनुपर्ने उक्त समूहको माग छ।

उपाध्यक्ष गौतम सरकारमा सहभागी भएमा उनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री दिनुपर्ने सो समूहको माग छ। गौतम सरकारमा सहभागी भएमा वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको जिम्मेवारी फेरिन पनि सक्ने उक्त स्रोतको दाबी छ।

एमालेभित्रको नेपाल समूहका तर्फबाट मन्त्री हुने संभावित अन्य अनुहारहरुमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ ‘किसान’, धनबहादुर बुढा र भवनीप्रसाद खापुङको नाम सबैभन्दा अगाडि रहेको छ। चौधरी र किसान राज्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवाले आइतबार विश्वासको मत लिएकाले आजभोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ। अहिलेसम्म कांग्रेसबाहेक नै २४ वटा मन्त्रालयको माग भइसकेकाले प्रधानमन्त्री देउवालाई यो व्यवस्थापन गर्न मुस्किल भएको छ।

गौतमले देउवालाई विश्वासको मत दिन सघाएकै कारण एमालेका ‘फ्लोर क्रस’ गर्ने सांसद्को संख्या २२ पुगेको विश्वास एमालेको संस्थापन पक्षले गरेको छ। गौतमकै कारण धनबहादुर बुढा, गोपाल बम, पार्वती विशंखे, किसान श्रेष्ठसहित १० जनाले देउवालाई विश्वासको मत दिएको सो पक्षको विश्वास छ।

स्रोतका अनुसार, एमालेबाट उपाध्यक्ष गौतमका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको माग भएको छ भने अरु पाँचजना मन्त्री र दुई जना राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवासमक्ष गरेका छन्।

जनता समाजवादी पार्टीले १० वटा मन्त्रालय माग गरेको छ। सो पार्टीले पाँचभन्दा बढी राज्यमन्त्री राख्ने छ। माओवादीकेन्द्रले कम्तिमा पनि आठ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ।

प्रकाशित मिति: : 2021-07-19 19:05:00

प्रतिकृया दिनुहोस्