बर्मेली फुटबल इतिहासमा 'बहादुर' गोर्खाको कथा

जीवन डाँगी

काठमाडौं
Breaknlinks
Breaknlinks

सन् १९६६ ताका बर्मा (म्यान्मार) फुटबल टोलीले श्वर्ण पदक जितेपछि ठूलो फड्को मार्‍याे। एसियाको अब्बल टोलीको उपमा–लगतै फुटबलप्रेमीहरूले देशभर उत्सव मनाए। 

जितपछि राष्ट्रिय फुटबल टोलीले ठाउँ–ठाउँमा खुशीयाली मनाएको थियो। उत्सव मनाउने क्रममा एक दिन शानप्रान्तको कलौँ नगरमा फुटबलको जम्बो टोली आउने हल्लाले स्थानीयमा रौनक छायो। मानिसहरू गाउँ–गाउँमा गेट, टोल–टोलमा फुलमाला उनिरहेका थिए। सबैमा आ–आफ्नै उत्साह प्रकट भइरहेको थियो।

रैथाने बर्मेलीसँगै गोर्खा (नेपालीभाषी) हरू झन्–झन् ठूलो सङ्ख्यामा नाच्दै–गाउँदै आइरहेको हाल रंगुननिवासी नेपालीभाषी वरिष्ठ साहित्यकार विष्णु पन्थी त्यो दृश्य झल्झली सम्झिन्छन्। उनको उमेर सानै थियो। श्वर्ण पदक प्राप्त गरेको राष्ट्रिय फुटबल टोलीलाई उनले समेत स्वागत् गर्ने माैका पाएका थिए। 

टोलीका महत्वपूर्ण सदस्य थिएः ‘गोर्खा–टाइगर’ अर्थात् ‘बहादुर’। शुकबहादुर थापालाई प्रायः बर्मेलीहरू ‘बहादुर’कै नामले चिन्ने गरेकाे अर्का वरिष्ठ साहित्यकार लक्ष्मण न्याैपाने बताउँछन्। शुकबहादुर नेपाली मूलका बर्मेली नागरिक हुन्। ‘विश्व फुटबल इतिहासमा पेलेलाई जून नामले चिनिन्छ त्यसैगरी बर्मेली फुटबलमा पनि शुकबहादुरलाई चिनिन्छ,’ साहित्यकार न्याैपानेले भने।

शानप्रान्तस्थित कलौँ नगरमा जन्मिएका उनै ‘बहादुर’ श्वर्ण पदक जितेपछि तामझामका साथ गाउँमा पुगेका थिए। गाेर्खा समाज उनैलाई कुरिरहेको थियो। बर्मा देशले श्वर्ण पदक पाउनुमा ‘बहादुर’को ठूलो योगदान रहेको कुरा फुटबल टोली गाउँमा नआउँदै फैलिसकेको थियो। मानिसका लागि सबैभन्दा धेरै आकर्षण उनै थिए। टोलीका महत्वपूर्ण खेलाडी र स्थानीयबासी जो– घर छाडेको केही वर्षपछि गाउँमै रमाउन आइपुगे। 

नेपालीहरू हात–हातमा माला र अबिर लिएर उनको नजिक–नजिक पुगिरहेका थिए तर उनी दायाँ–बायाँ नहेरी सीधै एक जना ‘गोर्खाली’ कहाँ पुगे। ‘बहादुर’ भूइँमा पसारिए र उनै ‘गोर्खाली’को पाउमा आफ्नो निधार राखेर साष्टाङ्ग गरे। कलौको रेल्वे स्टेशनमा स्वागतका लागि भेला भएका सबैजना एकछिन अचम्मित भएको प्रत्यक्षदर्शी समेत रहेका साहित्यकार पन्थी उक्त दिन सम्झिन्छन्। 

बर्माका ‘बहादुर’ अर्थात् शुकबहादुरले साष्टाङ्ग गरेक व्यक्ति उनका गुरु सूर्यमान राई थिए। ‘बहादुर’का फुटबल गुरु सूर्यमान कलौँ नगर फुटबल टाेलीकाे आजीवन प्रशिक्षक रहेँ। गुरुकै कारण आफूमा फुटबलकाे शक्ति प्राप्त भएको उनी बेला–बेला सुनाउथेँ। कुनै समय एसियाली फुटबलका ‘राजा’ भनेर चिनिने उनको गूरुप्रतिको सम्मानले हुर्किंदै गरेको गोर्खा पुस्ता तथा रैथाने बर्मेलीहरूलाई भावुक तुल्यायो र केही सिक्न बाध्य पारेको थियो।

उनकाे बारेमा बर्मेली विद्यालयस्तरीय पाठ्यपुस्तक र नेपाली पाठशालामा समेत पढाइ हुन्छ। ‘उहाँ नामी फुटबलर हुनुहुन्थ्याे। उहाँकाे बारेमा अहिले पनि देशभर उतिकै चर्चा भैरहेकाे हुन्छ,’ साहित्यकार न्याैपाने भन्छन्।

शुकबहादुरसँग आफ्नाे भेट नभए पनि उनी बर्मेली गोर्खा जातिकाे गौरवपूर्ण इतिहास भएको माण्डले निवासी देवेन्द्र रिजालकाे भनाइ छ।

'शुकबहादुर ऐतिहासिक पुरुष हुनुहुन्छ बर्मा देशकाे। आज पनि उत्तिकै याद र गौरव गर्छन् यहाँ,' उनले भने, 'भकुण्डो खेलमा आजसम्म म्यान्मार फेरी त्यो स्तरमा पुग्न सकेको छैन जति बेला बहादुर टाेलीको कप्तान थिए।'

०००

सन् १९६०–७० को दशकमा बर्मेली फुटबल एसियाकै उत्कृष्ट मानिन्थ्यो। १९६६ र १९७० को एसियाली खेल होस् या दक्षिण–पूर्वी एसियाली प्रतियोगितालगातार पाँचौँपटक (१९६५, १९६७, १९६९, १९७१ र १९७३) सम्म बर्माले आफ्नो पोल्टामा पारेको गौरवपूर्ण इतिहास छ।

बर्माले जितेका प्रायः महत्वपूर्ण खेलहरूका नायक उनै शुकबहादुर मानिन्छन्। आज पनि उनको नाम ‘फुटबलको बहादुर’ भनेर नचिन्ने शायदै होलान्। बाल्यकालमा अभावै–अभावका बीच गाउँमा हुर्किएका उनी निकै मेहनती र निडर मानिन्थेँ। 

सन् १९४०–५० को दशकतिर कलौँ नगरमा शिक्षाको राम्रो पहुँच नहुँदा ‘बहादुर’ले इच्छाए जति पढ्न पाएनन्। कारण– पाठशाला घर नजिकै थिएन। पढ्न नपाए पनि खेलप्रतिको उनको मोह भने घटेन।

शुकबहादुरका पिता एमएस थापा ब्रिटिश–बर्मा सैनिकमा कार्यरत थिए। पिताकै पदचाप पछ्याउँदै बर्मा सैनिकको चौथो गाेर्खा बटालियनमा भर्ती भएका उनी खेल मैदान देख्यो कि कुदिहाल्थेँ। काँधमा बन्दूकको जिम्मेवारीसँगै मनको इच्छा फुटबल पनि साथमै अघि बढाए। 

बर्मेली गोर्खा सैनिकको फुटबल क्लब, शान प्रान्त फुटबल टोलीको क्याप्टेन हुँदै नेपाली मूलका ‘बहादुर’ सन् १९५२ मा बर्मा राष्ट्रिय फुटबल टोलीमा छनोट भएका थिए। उनी म्यान्मारको खेल जगतमा बहादुर र फुटबल विकासको अभिन्न अङ्ग मानिन्छन्।

क्लबस्तरीय फुटबल टोलीबाट मैदान प्रवेश गरेपछि उनी असफल नभएको नेपालीभाषी बर्मेलीहरू बताउँछन्।

रङ्गशाला पुग्नेहरू उनले गरेको प्रदर्शन अझै पनि याद गर्छन्। विपक्षीलाई दबाबमा राख्दै ‘बहादुर’ले खेल अवधिभर गरेको गोलहरू सायद अब बर्मेलीहरूले देख्न पाउने छैनन्। 'बहादुर' छैनन् तर युवापुस्तामा उनको चर्चा उत्तिकै छ। (शुकबहादुरको मृत्युलगत्तै बर्मेलीभाषाको पत्रिकामा प्रकाशित समाचारको भनाइमा आधारित)

०००

बर्मा फुटबल टोलीका प्रख्यात स्ट्राइकर उनी सन् १९६० को दशकमा एसियाको च्यान्पियन र लामो समयसम्म देशको कप्तान समेत रहे। उनी म्यान्मार सेनाको चोथो बटालियनमा मेजर पदसम्म पुगेका थिए। उनीमा चर्चित खेलाडी हुनुको कुनै घमण्ड थिएन। सामान्य जीवनशैलीमा बाँचिरहेका उनले खिन्तान्मीसँग वैवाहिक सम्बन्ध जोडेका थिए। 

पाँच पटक स्वर्णपदक, पाँच पटक चाँदी पदक अनि दुई पटक ताम्रापदक जितेका थिए। सन् १९६५, ६७ र ६८ ताका तीनचोटी सर्वश्रेष्ठ खेलाडीको उपमा पाउने उनी म्यान्मारको एक मात्र खेलाडी हुन्।

सलिन मैदानमा उनले खेलेका खेलहरू नसम्झिने कमै छन्। सन् १९९६ एसियाको च्याम्पियन हुँदा उनका गोलहरूले फाइनलमा पुर्याेएका झलकहरू अझै सम्झिन्छन्। च्याम्पियन भएपछि आफ्ना साथीहरूसँग साटेका खुशी र देशभरि मनाएको उत्सव उनको स्मृति दिवसमा सम्झिरहँदा खेलाडी र फुटबलप्रेमी भावुक हुन्छन्।

मेजरबाट अवकाशपछि उनकी श्रीमती खिन्तान्मीको मृत्यु भयो। लगतै 'बहादुर'ले याँगौको मिङ्लाडौमा अर्को गृहस्थी बसाएका थिए। बिहेपछि उनी गुमनामजस्तै थिए।

०००

एक जना मेजर। मेजर मात्रै होइन चर्चित खेलाडी। खेलाडी मात्रै पनि होइन, एउटा गोर्खालीको अस्ताउँदो जीवनका तीता–अनुभूतिहरू पनि उत्तिकै कहालीलाग्दा छन्। 'मलाई बहादुरको अन्तिम जीवनकथा लेख्ने रहर छैन। लेख्ने रहर नहुनु विषय मन नपरेर हैन। लेख्दै जाँदा, नरमाइला अनुभूतिले हृदय नै पोल्छ,' झण्डै २२ वर्षअघि बर्मेली पत्रिकामा एक जना पत्रकारको लेखको पहिलो वाक्य यस्तो थियो।

'नरमाइलाे अनुभूतिले धेरै–धेरै हृदय दुख्छ अनि आँखा रसाउँछ। यो लेख आँखाभरी आँशु लिएर मद्वारा लेखिको हो। हाम्रा ऐतिहासिक पुरूषका लागि नरमाइला अनुभुति, असह्य पिडा र वेदनाहरूले मेरो हृदयलाई जगडिरहेको छ,' उनले दोस्रो वाक्यमा लेखेका छन्।

कुनै समयका सफल विभूति, एसियामा चर्चित खेलाडीको अन्तिम दिनहरू सोचे जस्तो सरल र सहज थिएनन्। बर्माको ऐतिहासिक पुरूष, एसियाकै चर्चित फुटकलर, बर्माका फुटबल राजा शुकबहादुर थापाको एउटा कथा हो, यो।

कुनै दिन सलिन मैदानमा देशीयस्तरको फुटबल खेल्नका लागि तेस्रो प्रतियोगी बनेका दुई टोली आइपुगे। त्यो समयमा मैदाननजिकैको भित्री गल्लीस्थित एउटा सानो झुपडीबाट ६५ वर्षीयमाथि टी–सर्ट र पूरानो लुङ्गी लगाएका गोर्खालीजस्ता देखिने पुरूष निस्किए।

एक दिन युवाहरूसँग संवाद गरिरहेका एक व्यक्ति भेटिए तर उनी कुनै समय एसियामा चर्चित फुट्बलका राजा मेजर शुकबहादुर नै थिए। उनको परिचय पाएपछि फुटबल खेल्न आएका युवाहरू अचम्मित परे। लाग्थ्यो, यी मानिस मैदान सफा गर्ने मात्रै हुन् कि तर चकित परिरहे।

'बहादुर'को बारेमा सबै कुरा जानेपछि खेलाडी नि:शब्द भई आँखाबाट आँशु खसाउन थाले। उनी फुटबल मैदानछेउमा बस्थेँ। जीवनको अन्तिम अवस्थासम्म फुटबल र मैदानसँगै रमाए। फुर्सद मैदा सफा गर्नसमेत तम्सिरहेका हुन्थेँ ताकि मैदानलाई असाध्यै प्रेम गर्थेँ।

बर्माको फुटबल खेललाई अग्रपङ्तिमा लैजाने व्यक्तिको जीवन अस्ताउदाका दिनहरू भने युवा अवस्थाको जस्तो तामझामपूर्ण जीवनसँग मेल खाँदैन्थ्यो। उनी बस्ने झुपडी सानो थियो। छानाहरू चुइँने, अभावै–अभावका बीच अन्तिम पल 'बहादुर'ले यसरी बिताए।

अहिलेको जस्तो स्थिति हुन्थ्यो भने 'बहादुर' देश तथा विदेशका मैदानमा विश्वव्यापी सफल खेलाडी हुनेथिए। त्योभन्दा पनि अहिलेजस्तो दु:खित र पीडित जीवन नबिताई जीवनको अन्तिम पलमा रमाई–रमाई बाँच्थे।

चर्चित खेलाडीको स्थिति देखेर विदेशमा रहेका उनका चेला तथा खेलाडीहरूले प्रेमसहित राहतका सामाग्री र केही रकमले गरेका थिए। बर्मास्थित गोर्खा सैनिकका मेजर तथा महान फुटबलर 'बहादुर' सन् २००१ अगस्त महिना १९ का दिन सदाका लागि बिदा भए।  उनलाई क्रिस्तानको चिहानमा अन्तिम संस्कार गरियो।

आगामी अगस्त १९ मा बहादुर बितेको पनि २१ वर्ष पुग्ने छ। स्वर्णिम समयका फुटबल टोलीका महान खेलाडी शुकबहादुरप्रति उच्च सम्मान छ।


(म्यान्मारबाट राजकुमार शर्मा, निर्मल खरालको सहयोगमा)

प्रकाशित मिति: : 2021-07-24 21:03:00

प्रतिकृया दिनुहोस्