कर्णालीका कृषि मन्त्री शाहीकाे बलात्कार काण्ड: पत्रकारको कलमलाई खुकुरीकाे चुनाैती

कर्णालीका बाहालवाला मन्त्रीलाई बलात्कार आराेप लागेपछि प्रदेश तातेकाे छ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीललाई बलात्कार आराेप लागेकाे हाे।

मन्त्रीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि त्यस सम्बन्धका समाचार एकपछि अर्काे गरि आइरहेका छन्।

सार्वजनिक भएकाे भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन् भने बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ। पीडित महिलाले ढोका खोल्छिन्। खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेरेकाे दृश्य देख्न सकिन्छ।

प्रहरीको सम्पर्कमा पुगेका पीडितहरुले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जतिबेला शाही प्रदेश सांसद मात्रै थिए। प्रहरीसम्म यो घटना ढिलोगरी पुग्नुमा पीडितहरुले तत्कालीन सांसद एवम् हालका मन्त्री शाहीसँग 'रकमको बार्गेनिङ' गरेको देखिन्छ। कानून व्यवसायीसँग छलफल गर्न पठाएका पीडित युवक गत शुक्रबार मध्यराति भेरी पुलमा कुटिएको घटनाबाट प्रहरी गम्भीर बनेको हाे।

पीडित महिलाका अनुसार मन्त्रीका स्वकीय सचिवले भने छलफलका लागि भन्दै राति ९ बजेतिर गाडीमा राखेर मन्त्रीका अंकलका छोराले लगेका थिए।  उनीहरु छिन्चु बजार पुगेर एक होटलमा मदिरापानसहित छलफलमा जुटेका थिए। फर्केर आउँदा भेरीको पुलमा विवाद भयो। उक्त विवाद पारिवारिक नै थियो। तर घटना विवरण अनुसार छिन्चुमा लेनदेनको विषय नमिलेपछि उनीहरु वीरेन्द्रनगर फर्किएका थिए।

वीरेन्द्रनगर फर्किनेक्रममा स्वकीय सचिव र शाहीले पीडित महिलाका श्रीमानलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए। प्रहरीले साढे १ बजेतिर युवकको उद्दार गरेको थियो।

पीडित महिलाले श्रीमान सम्पर्कविहिन भएदेखि आफूले चार दिनसम्म खाना पनि नखाएको बताएकी थिइन्। 'मन्त्रीका स्वकीयले बोलाएर गएको, मध्यराति प्रहरीले भेरी पुलबाट उद्दार गरेको थाहा छ,' उनले भनिन्, 'त्यसयता श्रीमानको अत्तोपत्तो छैन। श्रीमान फेला नपर्दासम्म बलात्कारको विषयमा केही बाेल्दिन।'

यता कृषिमन्त्री शाहीले सांसद हुँदा स्वकीय सचिव राखेकाे बेला आर्थिक हिनामिना गरेका कारण आफूले स्वकीय सचिवबाट हटाएको र त्यसैको रिसमा श्रीमतीसँगकाे कृत्रिम भिडियो बनाएर धम्की दिइरहेको बताएका थिए। 'यो बारम्बारको बार्गिनिङ हो। उसँग दुई वर्ष अगाडिदेखि बोलचाल बन्द छ,' उनले भने, 'विभिन्न योजना हालिदिनका लागि बाराम्बार मलाई दबाब पनि दिएको छ।'

पत्रकारको कलमलाई खुकुरीकाे चुनाैती

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीलाई बलात्कार आराेप लागेकाे समाचार नागरिक दैनिकका कर्णाली ब्युराे चिफ नगेन्द्र उपाध्याय र अन्नपूर्ण पाेष्ट दैनिकका कालिकोट सम्वाददाता विष्णु न्याैपानेकाे बाइलाइनमा ०६ भदौ २०७८ मा प्रकाशन भएका थिए। त्यसयता उनीहरुलाई निरन्तर धम्की आइरहेको छ।

मन्त्री शाहीका आफन्त, प्रेस सल्लाहकार र स्वकीय सचिवले पत्रकारहरुलाई निरन्तर धम्की दिइरहेका छन्। मन्त्री शाहीका प्रेस सल्लाहकार नन्दकेश अधिकारीले सामाजिक संजालमा खुलेआम पत्रकारलाई चाैराहमा मार्ने धम्की दिएका छन्। उनले फेसबुकमार्फत भनेका छन्, 'अब कलमकाे टुप्पाेले हाेइन, खुकुरीकाे टुप्पोले दिने हाे। खुरापातीलाई शरीर खाेलामा, टाउकाे झाेलामा, जे पर्छ, त्यही टर्छ।'

तथ्यसहितको समाचार प्रकाशनयता निरन्तर मार्ने धम्की आइरहेको पत्रकार उपाध्यायले बताए। 'हामीलाई मन्त्रीका स्वकीय सचिव र प्रेस सल्लाहकारले निरन्तर मार्ने धम्की दिइरहनु भएकाे छ। हामीले गलत समाचार लेखेकाे हाे भने कानूनी उपचारको खाेजी गर्न सकिन्छ,' उनले भने, 'हामी गलत छाैं भने कारबाही भाेग्न तयार छाैं। तर कलमलाई खुकुरीकाे आडमा चुनैती दिँदा चुप बस्न सकिदैन।'

समाचार प्रकाशनपश्चात् मार्ने धम्की दिनेहरु एक दुई जना मात्र नभई मन्त्री निकटकाहरुकाे लर्काे नै भएकाे अर्का पत्रकार न्याैपानेले बताए। 'स्वकीय सचिव प्रेम बुढा, प्रेस सल्लाहकार नन्दकेश अधिकारी, युवा संघ कर्णाली प्रदेश संयाेजक तथा सुपा कालिका-५ का वडा अध्यक्ष केशन शाही, मन्त्रीका भाई जगराज शाहीले सार्वजनिक स्थालमै सिद्याइदिन्छाै भनेर धम्कि दिइरहनु भएकाे छ,' उनले भने, 'अन्नपूर्णकाे चैतेलाई ठाेक्नुपर्छ भने। सामाजिक संजाल तथा फाेनमार्फत धम्की आइरहेका छन्। मैले सुरक्षाकाे लागि प्रहरी कार्यालयमा निवेदन दिएकाे छु।'

यसैबीच पत्रकार सम्बन्ध छाता संगठन र पत्रकार महासंघले समेत विज्ञप्ति निकालेर पत्रकारलाई धम्की दिएकाे विषयमा ध्यानाकर्षण गरेका छन्।

एमाले निकट युवा संघ र अनेरास्ववियूले भदाै १३ गते मुख्यमन्त्री शाहीलाई बुझाएको ज्ञापनपत्रमा तत्काल बलात्कार आरोपी मन्त्रीलाई बर्खास्त नगरे थप संघर्षका कार्यक्रम घोषणाको चेतावनी दिएका थिए। 'समाचार लेख्ने पत्रकारलाई धम्की दिइनु, पीडित महिलाका श्रीमानलाई मध्यराति भेरी पुलमा लिएर कुटपिट गर्नु, कर्णाली प्रदेश सरकार र सत्ता साझेदार दलहरु मौन बस्नु अत्यन्तै निन्दनीय र खेदजनक कुरा हुन्,' विज्ञप्तिमा भनिएको छ, 'बलात्कार आरोपी मन्त्रीलाई तत्काल वर्खास्त नगरिए थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्छौं।'

त्यस्तै युवा संघ नेपालकी केन्द्रीय सदस्य यमुना नेपालीले गल्ती गर्ने मन्त्रीलाई सरकारले वर्खास्त गर्नुपर्नेमा उल्टै समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की दिइनु गम्भीर भएको बताइन्। 'आरोपित मन्त्रीलाई तत्काल पदबाट बर्खास्त गरेर अनुसन्धान प्रक्रियालाई सहज बनाइनुपर्नेमा उल्टै समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की दिइनुलाई सामान्य रुपमा लिन सकिँदैन,' उनले भनिन्, 'समाजमा भएका अपराधिक घटनाहरुलाई निर्मूल गरेर सभ्य समाज निर्माणमा सरकार लाग्नुपर्नेमा उल्टै अपराधीको संरक्षण गर्न प्रदेश सरकारका मुख्यमन्त्रीनै लागेको घटनाले आम कर्णालीवासीहरु लज्जित भएका छन्।'

मन्त्री बर्खास्त गर्न मुख्यमन्त्रीसमक्ष माग

बलात्कार आरोपी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै भदौ १३ गते अनेरास्ववियू र राष्ट्रिय युवा संघले मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए। र्‍यालीसहित मुख्यमन्त्री कार्यालय पुगेका एमाले निकट युवा, विद्यार्थीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर ज्ञापनपत्र समेत बुझाए।

'बहालवाला मन्त्रीलाई तथ्य प्रमाणसहित बलात्कारजस्तो गम्भीर आरोप लाग्दा बर्खास्त गरेर अनुसन्धान प्रक्रियालाई सहज बनाउनुपर्नेमा सत्ता साझेदार दल र मुख्यमन्त्री शाहीले नै संरक्षण गरिराखेकाले र्‍यालीसहित मुख्यमन्त्री कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका थियौं,' अनेरास्ववियूका सुर्खेत अध्यक्ष भूपेन्द्र शाहीले भने, '२४ घण्टाभित्र आरोपित मन्त्रीलाई बर्खास्त नगरिए थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिदा पनि माैन बसी प्रेदश सरकारले नैतिकता सिद्याएकाे छ।'

युवा संघ सुर्खेतका अध्यक्ष कमल खड्का 'जुनी'ले प्रदेश सरकारका बहालवाला मन्त्रीमाथि बलात्कार जस्तो संगीन आरोप लाग्दासमेत छानबिन गर्नुको सट्टा संरक्षण हुन थालेपछि आफूहरु आन्दोलित हुनु परेको बताए। 'आरोपित मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग यसअघि नै गरेका थियौं,' उनले भने, 'हाम्रो मागको सुनुवाई नभएकाले आइतबार मुख्यमन्त्री कार्यालय घेराउसँगै ज्ञापनपत्र बुझायाैं।'

अध्यक्ष खड्काले मन्त्रीले महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक हुनुका साथै स्वयम् मन्त्रीको सचिवालय समेतले घटना स्वीकार गरिसकेको अवस्थामा पनि आरोपित मन्त्रीलाई बर्खास्त नगर्नुले सरकारी संरक्षणमा अपराध भइरहेको बताए। 'भिडियो सार्वजनिक भइसकेको छ। मन्त्रीको सचिवालयले नै घटना विवरण स्वीकार गरिसकेको अवस्था छ,' उनले भने, 'यति हुँदा पनि मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त नगर्दा याे सत्ता संरक्षित अपराध भएकाे प्रष्ट हुन्छ।'

तर मुख्यमन्त्री शाहीले बलात्कार पीडित महिला न्याय माग्दै आएमा आरोपित मन्त्रीलाई सरकारले संरक्षण नगर्ने बताए। उनले मिडियाले आरोप लगाउँदैमा तत्काल 'एक्सन'मा जानुपर्ने बाध्यतामा सरकार नरहेको थपे।

'पीडित महिलाले ममाथि अन्याय भएकै हो भन्ने आयो भने अपराधीलाई सरकारले संरक्षण गर्दैन,' युवा संघ र अनेरास्ववियूकाे ज्ञापनपत्र बुझ्दै उनले भने, 'तर यस्ता आरोपहरु भोलि अरुका बारेमा पनि लाग्न सक्छन्।'

मुख्यमन्त्री शाहीले सरकार जहिल्यै न्यायको पक्षमा रहेको बताउँदै पीडितलाई न्याय दिनु सरकारको दायित्व भएको थपे। तथापि हालसम्म सरकारकाे आधिकारिक धारणा आएकाे छैन।

पीडित हाेस्टाइल

मन्त्री शाहीका प्रेस सल्लाहकारले घटना भएकाे स्वीकार गरेका भए पनि हाल आएर पीडित पीडक एक भएकाे पत्रकार उपाध्यायले बताए। 'अहिले पीडित महिलाले आफूमाथि मन्त्रीले  बलात्कार गरेकाे आराेप निराधार भएकाे भनिरहनु भएकाे छ,' उनले भने, 'हिजाेदेखि बार्गेनिङ चलिरहेको कुरा मन्त्री निकट स्राेतबाटै बाहिर आइसकेकाे अवस्थामा उहाँले अस्वीकार गर्दा पीडित हाेष्टाइल भएकाे देखिन्छ।'

'मन्त्रीकाे जागिर अब एक महिना बाँकी छ। त्यसैले थामुथुम पारेर खाने साेचमा उहाँ हुनुहुन्छ। यही बीचमा लेनदेन मिलाएकाले पनि पीडितले ममाथि अपराध भएकाे छैन भनेकाे हुनुपर्छ। नत्र भिडियो र हालसम्मका रेकर्डहरुले मन्त्रीमाथि लागेकाे आराेप सत्यताकाे नजिक भएकाे प्रष्ट छ,' उनले थपे।

'भिडियोमा देखिने मै हुँ, केटी चिन्दैन': मन्त्री शाही

बलात्कारको आरोपी मन्त्री शाहीले सामाजिक सञ्जालमा भाइरल भइरहेको मन्त्रीसहितको यौन क्रियाकलपाको भिडियोबारे पत्रकार सम्मेलन गरेर 'कोठामा छिरेको देखिने व्यक्ति मै हुँ तर केटीसँग त्यसपछि भएका कार्यहरु सत्य नभएको' बताएका छन्।

मन्त्री शाहीले केटीसँग आफ्नो कुनै परिचय नभएको पत्रकार सम्मेलनमा जानकारी दिए। 'कोठामा जाउँला, बाटोमा हिडुँला, ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ?' प्रश्न गर्दै शाहीले भने, 'पीडित युवतीले नै म बलात्कार भएको हाेइन भनिसक्दा पनि फण्डा मच्चाउनु राम्रो हैन।'

शाहीले भिडियो पूर्ण रुपमा ईडीट गरेर सार्वजनिक गरिएको दावी गरेका छन्। 'मलाई भिडियोबारे थाहै थिएन्। एक्कासी भाइरल बनाइरहेको मैले हिजो मात्रै थाहा पाए,' उनले थपे, 'भिडियो काइनमाष्टरमा ईडीट गरेर राखिएको हो। कोठामा गएको सत्य हो। त्यसपछि कुनै अनैतिक कार्यहरु भएका छैनन्।'

उनले आफूले 'फ्लोर क्रस' गरेको झोकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले भिडियो बनाउन लगाएकाे आराेपसमेत लगाए। उनले भने, 'भिडियो बनाउनुमा मुख्य भूमिका कँडेलकै छ।'

प्रकाशित मिति: : 2021-09-02 10:05:00

प्रतिकृया दिनुहोस्