को हुन् ६ जनाकै हत्या गर्ने लोकबहादुर,लखेटी-लखेटी किन मारे ? यस्तो छ नालीबेली

तेजन खड्का

विराटनगर
Breaknlinks
Breaknlinks

संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यू भएको थियो।

लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए। तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दुरीमा छन्।

यसैबीच गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे। र आक्रमण गरेर हत्या गरे।

तेजबहादुरकाे हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए। घरनजिकै रहेको खोलाछेउमा उनीहरुलाई पनि लाेकबहादुरले ह्यामरले हिर्काएर हत्या गरे।

यहासम्म कि हत्या गरेकाे प्रमाण मेटाउन लाेकबहादुरले आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई समेत बारीमा लखेटी-लखेटी हत्या गरे। त्यसपछि पनि लाेकबहादुरले तेजबहादुरकाे घरमै पसेर कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरे।

याे रहस्य भने लोकबहादुर प्रहरीले पक्राउ गरेपछि बाहिरिएकाे हाे।

आफन्तसमेत रहेका लाेकबहादुरले सपरिवारकै हत्या गरेको स्वीकार गरेको प्रदेश नम्बर १ का डिआइजी अरुणकुमार बिसीले जानकारी दिएका छन्।

६ जनाको ज्यान जाने गरी भएकाे गत सोमबारकाे घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो। सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लाेकबहादुरलाई पक्राउ गरेको हो। लोकबहादुरले पनि व्यक्तिगत रिसीबीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन्।हत्या गरिएका तेजबहादुरले केहि गर्न नसकेको भन्दै  ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन्।

त्यसाे त २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर नाताले काका-भतिज हुन्। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको रहस्य खाेले।

बौदमान कार्कीकाे परिवारका ६ जनाको हत्या भएपछि चार पुस्ता नै सकिएकाे छ। अहिले त्यही घरमा चार पुस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको छ। बौदमानका तीन छोरा, तीन छोरी, एक नाति र नातिनी बुहारी किरियामा बसेका छन्।

हत्या गर्ने लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको थिए। छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि वर्षदिन नपुग्दै गाउँमा फर्किएका थिए।

६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाई छ। त्यसको डेढ बर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे। तर त्यहाँबाट पनि नौ महिना नपुग्दै घर फर्किए।

राति कहिल्यै घरमा बास नआउने, कहिले राति घरबाटै हराउने, गाउँका बेकामे केटाहरुसँग बिनाकाम डुलिहिँड्ने लाेकबहादुरकाे विशेषता रहेछन्।

गत साेमबार लाेकबहादुरले हत्या गरेका तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियो भने श्रीमती मनमाया र बुहारी रन्जनाको शव घरनजिकै खोल्सीमा भेटिएको थियो। नाति-नातिना दीपक र गोमाको शव पनि घरमाथि मकै बारीमा भेटिएको थियो।

हत्या गरेपछि आफू निर्दाेष देखिन लाेकबहादुरले यतिसम्मकाे चलाखी गरे कि छिमेकीलाई हत्याको खबर सबैभन्दा पहिले उनले नै पुर्याए। तर लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएकोजस्तो देखिने हतियारहरु प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरेको थियो।

घटनामा संलग्नलाई भोलि (आइतबार) चैनपुर ईलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी लालध्वज सुवेदीले जानकारी दिए। उनले भने, ‘घटनामा संलग्नलाई नियन्त्रणमा लिईसकेका छौ, भोलि विहान १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौ।’

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी लाेकबहादुर शङ्काको घेरामा थिए। घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा शंकास्पद केही ब्यक्तिहरुको 'डिएनए'समेत परीक्षण गरिएको थियो। तर प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिएसपी लालध्वज सुवेदीको टोलीकाे संयुक्त अनुसन्धानबाट भने लाेकबहादुर बच्न सकेनन्। र अन्ततः उनी पक्राउ परिसकेका छन्। 



सबैभन्दा पहिले लास देख्ने लाेकबहादुर नै हत्यारा, तेजबहादुरलाई मारेकाे देखेपछि यसरी परिवार नै शिकार बन्याे

संखुवासभा सामूहिक हत्या प्रकरणः अभियुक्तका रुपमा आफन्त पक्राउ

संखुवासभामा हत्या प्रकरणः हत्याराको नजिक पुगेका छौँ – प्रहरी

छ जना मारिएको परिवारका एक्ला साक्षी वृद्धले भने, ‘बिहान परिवारका सबैलाई मारेभन्दा छाँगाबाट खसेजस्तो भएँ’

संखुवासभा हत्या प्रकरणः घटनास्थलमा नगद, सुनका गहना र मोवाइल सेट भेटियाे

संखुवासभा छ जना हत्या प्रकरणः फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ 

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

प्रकाशित मिति: : 2021-09-11 22:01:00

प्रतिकृया दिनुहोस्