मङ्गलबार, २९ जुलाई २०२५

संसद खुलाउने सरकारको प्रयास, देउवाले बालकोट पठाए प्रतिनिधि

File Photo
• • •

सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ। सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन्।

२३ भदौमा आह्वान भएको सदनमा त्यसयता एमालेले निरन्तर अवरोध गरिरहेको छ। माधव नेपालसहित १४ सांसदको कारवाहीसम्बन्धी सूचना टाँस गर्नुपर्ने र गैरसांसदलाई सदनमा उपस्थित गराउन नहुने र सभामुखले माफी माग्नुपर्ने एमालेको अडान छ।

यो बीचमा सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएर सदन खुलाउने प्रयास गरेका थिए। तर माधव नेपाललाई संसदीय दल (नेकपा एकीकृत समाजवादी) को हैसियतमा बैठकमा बोलाएको भन्दै एमालेले बहिष्कार गरेको थियो।

सभामुखको पहलबाट प्रतिपक्षीसँग संवद नभएपछि प्रधानमन्त्री देउवाले आफ्नो प्रतिनिधि खटाएका छन्। देउवाले सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पुन: बालकोट पठाएका हुन्।

संसद अधिवेशन आह्वान हुनुअघि पनि देउवाले कार्कीलाई बालकोट पठाएर प्रतिपक्षीसँग सहयोग गर्न आग्रह गरेका थिए। बिहीबार फेरि कानुनमन्त्री कार्की एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएका हुन्।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मन्त्री कार्कीले बालकोट पुगेर बिहीबार राती अध्यक्ष ओलीसँग भेटेको बताए। भेटमा सदनको गतिरोध अन्त्य गरेर बजेट प्रतिस्थापन विधेयक पारित गर्न सघाउन कार्कीले आग्रह गरेका थिए। ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म सहयोग गर्न नसकिने जवाफ दिएका छन्।

एमालेको अवरोधका बीच सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेस गरिसकेको छ। विधेयकलाई अगाडि बढाउन ४ असोजमा संसद बैठक बोलाइएको छ। न्युज कारखाना

शुक्रबार, आश्विन ०१, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)