गम्भीर धोका भयो, यथास्थितिमा हामी एमाले छैनौँ : प्रभु साह (भिडियोसहित)

रातोपाटी

काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीबार बिहान १० बजे पार्टीका केन्द्रीय सदस्य प्रभु साहलाई आफ्नै निवास बालकोटमा बोलाए। असोज १५ देखि गोदावरीमा हुने विधान अधिवेशन ‘बहिस्कार’ गर्ने बताइरहेका साहलाई फकाउन ओलीले बालकोट बोलाएका हुन्।

पूर्वमाओवादीबाट रामबहादुर थापा बादलसँगै एमालेमा मिसिएका पूर्वमाओवादी नेता प्रभु साहले आफू अझै एमाले हुन नसकेको बताउँदै आएका छन्। पछिल्लो समय उनले एमाले केन्द्रीय कमिटीको बैठकसमेत बहिस्कार गर्दै आएका छन्। केपी ओलीको क्याबिनेटका मन्त्रीसमेत रहेका साहले अध्यक्ष ओलीसँग विभिन्न ८ वटा माग राखेका छन्। यी माग पूरा नभए विधान महाधिवेशनमा सहभागी नहुने साहको अडान यथावत छ।

विहीबार बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले साहका मागप्रति सकारात्मक रहेको भन्दै महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए। तर, साहले मौखिक आश्वासनले मात्रै नहुने भन्दै आफ्ना मागबारे एमालेले औपचारिकरुपमै निर्णय नगरेसम्म महाधिवेशनमा भाग लिन नसक्ने जवाफ ओलीलाई दिएका छन्।

बालकोटमा अध्यक्ष ओलीसँग वार्ता सकेपछि रातोपाटीसँग कुरा गर्दै साहले भने, ‘अध्यक्षसँग सकारात्मक कुरा भएको छ। उहाँले विधान अधिवेशन र बैठकमा आउनुपर्यो भन्नुभयो, मैले त्यसरी सहभागी हुने–नहुने तपाईंको हातमा छ भनें। हामीले उठाएका सकारात्मक कुराहरु सम्बोधन गर्नुहुन्छ भने आउने वातावरण बन्छ भनें। यदि त्यो स्वीकार्नुहुन्न र असहमत हुनुहुन्छ भने सायद म आउदिनँ भनेको छु। उहाँले म सहमत छु, मिलाउँछु भन्नुभएको छ। पार्टीको स्पष्ट धारणा आएन भने महाधिवेशनमा जान सकिँदैन।’

आखिर एमाले अध्यक्ष केपी ओलीसँग पूर्वमाओवादी नेता साहले राखेका ८ माग के–के हुन् त ? यिनै विषयमा केन्द्रित रहेर गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

तपाईंलाई ‘नेकपा एमालेका नेता प्रभु साह’ भन्दा हुन्छ ?

अब कानूनी ढंगले त भनि पनि राखेको छ, हामीले त्यसलाई अन्यथा पनि लिएका छैनौं। वैचारिक, राजनीतिक ढंगले यदि एमाले नेकपाको निरन्तरता हो भने हामीलाई स्वीकार्न केही गाह्रो छैन। यदि पुरानै ढाँचाबाट जुन अभ्यास भइराखेको छ, त्यो यथास्थितिको एमाले त होइनौँ हामी।

प्रकाशित मिति: : 2021-09-30 21:57:00

प्रतिकृया दिनुहोस्