आइतबार, २७ जुलाई २०२५

गण्डकी प्रदेशमा ट्रायल पास गरेकाे १० मिनेटमै लाइसेन्स पाइने

News Image
• • •

गण्डकी प्रदेशमा अब सवारी चालक अनुमति पत्र ट्रायल पास गरेको १० मिनेटमै पाइने भएको छ। झन्झटिलो प्रक्रिया छोट्याउदै यातायात व्यवस्था कार्यालयले १० मिनेट भित्रै सेवाग्राहीको हातमा लाइसेन्स थमाउने भएको हो।

शुक्रबार गण्डकी प्रदेशका यातायात तथा भौतिकमन्त्री कुमार खड्काले अस्थायी लाइसेन्स वितरण कार्यक्रमको उद्घाटन गरेका छन्।

स्मार्ट लाइसेन्स आउन ढिला भएपछि विकल्पमा यस्तो विधि ल्याएको यातायात कार्यालय गण्डकीले जनाएको छ। स्मार्ट कार्ड ट्रायल कटाएर राजस्व तिरेको १० मिनेटमै सेवाग्राहीलाई दिइने साथै एक वर्षका लागि उपलब्ध गराइने उक्त अस्थायी स्मार्ट कार्ड सेवाग्राहीको वास्तविक परिचयसहित हुने भएकाले सबैलाई सहज हुने कार्यालयका अधिकृत रमननाथ आचार्यले विश्वास लिएका छन्।

ट्रायल पास गरे पनि चिर्कटोमा फोटो नहुनाले पानीले भिजेर कार्बन मेटिएर जाने लगायतका सास्ती सेवाग्राहीले ब्यहोर्दै आएका थिए। ०७४ मा लाइसेन्स परीक्षा पास गरेका सेवाग्राही अहिलेसम्म कागजी चिर्कटो बोकेर हिँडेको र कार्यालयमा स्मार्ट लाइसेन्सबारे सोध्न आउने सेवाग्राहीको जवाफ दिँदा–दिँदा आफूहरुलाई पनि हैरान भएको आचार्यले सुनाए।

 

यातायात व्यवस्था विभागले विवरण उपलब्ध नगराउँदा नवीकरण गर्नेहरुलाई अस्थायी कार्ड दिन तत्काल असमर्थ रहेको प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री खड्काले बताए। उनले यातायात कार्यालयलाई विचौलियारहित बनाउन समेत आग्रह गरेका छन्।

प्रिन्ट मेसिन र स्मार्ट कार्डका लागि कार्यालयले ५ लाख रुपैयाँ लगानी गरेको छ। एउटा कार्ड छपाइ गर्न ५० देखि ६० रुपैयाँसम्म लाग्छ। भदौ २७ देखि असोज १३ गतेसम्म ट्रायल परीक्षा पास गरेका सेवाग्राहीलाई पहिलो चरणमा स्मार्ट कार्ड वितरण गरिँदैछ।

शुक्रबार, आश्विन १५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!