पाल्पाको रम्भा गाउँपालिका-१ का वडा सदस्य हुमबहादुर सिंजालीको डेंगु रोगले मृत्यु भएको छ।
रम्भा-१ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। ५७ वर्षीय सिंजालीको उपचारका क्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। डाइलासिस गर्नुपर्ने अवस्था सिर्जना भएको र अन्तिम अवस्थामा रोग पहिचान भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।
आइतबार हात दुख्ने समस्या देखिएर स्याङ्जाको गल्याङ सामुदायिक अस्पताल पुगेका सिंजालीलाइ पट्टी बाँधेर अस्पतालले घर फर्काएको थियो। पछि पुनः हात दुख्ने र अरू समस्या देखिएपछि उनलाई तानसेनको युनाइटेड मिसन अस्पताल हुँदै बुटवल पुर्याइएको थियो।
वडा सदस्य सिंजाली ०७३ को स्थानीय चुनावमा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए। वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकाले पालिकाभर शोक बिदा दिएको छ।