यस्ता छन् एमाले स्थायी कमिटीका आठ निर्णय

नेकपा एमालेले १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ। बिहीबार सुरु भई शुक्रबार सम्पन्न बैठकले चितवनमा मंसिरमा तोकिएको राष्ट्रिय महाधिवेशनको तयारीका लागि रामबहादुर थापा 'बादल'को संयोजकत्वमा गठित २१ सदस्यीय समितिलाई पूर्णता दिएको हो।  

बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ। यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ।  

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक ११ कात्तिकमा बोलाउने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको छ।

राष्ट्रिय महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी, भाइचारा पार्टी र देशभित्र विभिन्न राजनीतिक दललाई निमन्त्रणा गर्ने निर्णय पनि गरेको छ।

बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आमरूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छ।

बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति: : 2021-10-22 19:44:00

प्रतिकृया दिनुहोस्