कोलम्बियाका कुख्यात लागूपदार्थ दलाल ओतोनिएल पक्राउ, पाब्लो एस्कोबारको हत्यापछिकै सबैभन्दा ठूलो सफलता

[Handout via Reuters]

करिब दुई दशकदेखि आतङ्क फैलाउने र लागूपदार्थको दलाली गरी संसारभरि करोडौँ मानिसको जीवनसँग खेलवाड गर्ने कोलम्बियाका कुख्यात लागूपदार्थ दलाल दाइरो आन्तोनियो उसुगा उर्फ 'ओतोनिएल' शनिवार पक्राउ परेका छन्।  

कोलम्बियाको सशस्त्र बलले देशको ग्रामीण उराबा क्षेत्रमा भएको ओतोनिएलको गिरफ्तारीलाई कोलम्बियाकै अर्को लागूपदार्थ दलालको पनि राजा मानिने पाब्लो एस्कोबारको हत्यापछिकै सबैभन्दा ठूलो सफलता भएको भनी सरकारले बयान गरेको छ । सरकारले भनेको छ, 'यो गिरफ्तारी कोलम्बियाको तस्करी नेटवर्कका लागि सबैभन्दा ठूलो झट्काको हो।'  

कोलम्बियन र अमेरिकी सरकारले ओतोनिएलको गिरोहबारेमा जानकारी दिने र ठेगाना उपलब्ध गराउनेलाई क्रमशः तीन बिलियन पेसो (नौ करोड रुपैयाँ) र पाँच मिलियन अमेरिकी डलर (उनन्साठी करोड रुपैयाँ) को इनाम दिन समेत तयार थिए।  

ओटोनिलमाथि दर्जनौँ कोकिन अमेरिका भित्र्याएको, प्रहरी अधिकारीको हत्या, अवैध उत्खनन्, बाल शोषण र बालबालिकामाथि यौन–दुर्व्यवहार गरेको आरोप लगाइएको छ।

कोलम्बियाका राष्ट्रपति इभान डुकेले एक भिडियो सन्देशमा ५० वर्षीय ओतोनिएलको गिरफ्तारीको प्रशंशा गर्दै भने, 'यो शताब्दीमा हाम्रो देशमा लागुऔषध तस्करीविरुद्धको सबैभन्दा ठूलो धक्का हो। उक्त गिरफ्तारी सन् १९९३ मा पाब्लो एस्कोबारको पतनसँग मात्र तुलना गर्न सकिन्छ।'

कोलोम्बियाका रक्षामन्त्री डिएगो मोलानोका अनुसार शनिवार भएको सैन्य अपरेशनमा कोलोम्बियन सशस्त्र बलका ५०० सेना र २२ आक्रमण हेलिकप्टर संलग्न थिए।

२०१६ मा भएको एक अपरेशनमा उनका दर्जनौँ लेफ्टिनेन्टहरू पक्राउ गरी मारिएका थिए र उनकी बहिनी निनी जोहाना उसुगा यस वर्ष मार्चमा गिरफ्तार भएकी छन्।  

पहिले वामपन्थी छापामार र अर्धसैनिक रहेका ओतोनिएल लागुऔषधको तस्करी समूह 'क्लान डेल गल्फो' वा 'गल्फ क्लान' को नेता बने।  

क्लान डेल गल्फोसँग लगभग १२०० सशस्त्र सेना छ। जसमा अधिकांश दक्षिणपन्थी अर्धसैनिक समूहका पूर्वसदस्यहरू कोलम्बियाका ३२ प्रान्तहरू मध्ये १० मा तैनाथ छन्।

प्रकाशित मिति: : 2021-10-24 18:38:00

प्रतिकृया दिनुहोस्