सोमबार, २८ जुलाई २०२५

ईश्वरको भर छ, ओलीलाई के को डर छ?

पहिलोपोष्ट

पहिलोपोष्ट

काठमाडौं
News Image
• • •

 'हामी बिलकुल सहमतिका साथ नेतृत्व चयन गर्छौं। देशभरका जिम्मेवार नेता कार्यकर्ताको यही मानसिकता छ,' नेकपा एमालेका महासचिव ईश्वर पोखरेले शुक्रबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा भने। पोखरेलले स्पष्ट रूपमा दिन खोजेको सन्देश थियो -चितवनमा हुन लागेको १०औँ महाधिवेशनपछि पनि एमाले केपी ओलीको नेतृत्वबिना अघि बढ्न सक्दैन।

त्यसैले पोखरेल आफू ओलीको विकल्प नभएको बताइरहेका छन्।

'नेसनल पोलिटिक्स दुई वटा पोलमा छ, एउटा पोल नेकपा एमालेले लिड गरिरहेको छ जसको नेता केपी ओलीले गर्नुहुन्छ। अर्को, विभिन्न शक्तिहरू छन्। जसको सिद्धान्त मिल्दैन/ विचार मिल्दैन। ओलीले नेतृत्व गर्नुभएको पोलमा नेकपा एमालेका नेता कार्यकर्तामात्रै होइन देशलाई माया गर्ने सबै गोलबद्ध हुन जरुरी छ,' ओलीको नेतृत्वलाई स्विकार्न आग्रह गर्दै पोखरेलले भनेका थिए।

एमाले नेताहरूका अनुसार ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्षका रूपमा अघि बढाउने पक्कापक्की छ। त्यसैले पोखरेलले मंसिर १०-१२ मा चितवनमा हुने महाधिवेशनमा ओली सर्वसम्मत रूपमा अध्यक्ष हुने दाबी गरिरहेका छन्।

यद्यपि, उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले अध्यक्षका लागि आकांक्षा देखाइरहका छन्। तर, एमालेभित्र आफू कति कमजोर अवस्थामा छौँ भन्ने राम्रै जानकारी छ रावल र भुसाललाई। 'केपी ओलीले आठौँ महाधिवेशन हारेका होइनन् र? त्यो बेला हामी एकै प्यानलमा थियौँ। म उपाध्यक्षमा जितेँ। संविधानसभाको निर्वाचनमा ओली झापाबाट चुनाव हारेका होइनन् र? माधव नेपालले काठमाडौँबाट हारेका होइनन् र?,'ओलीसँग अध्यक्षमा लडे पराजित हुनसक्ने भन्दै रावलले गृह जिल्ला अछाम पुगेर कात्तिक २३ मा भनेका थिए।

उनीहरूले उम्मेदवारी दिए पनि त्यो औपचारिकतामा सीमित हुने सबैभन्दा बलियो उदाहरण हो १० बुँदे सहमति गरेर तत्कालीन वरिष्ठ नेता माधव नेपालको साथ छोडेका १० नेताको तितरबितर। पोखरेलले अध्यक्ष ओलीलाई कतिसम्म काँध थापिरहेका छन् भने एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ मा एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा महासचिव पद खोसिँदा पनि उनले त्यसको प्रतिवाद गरेनन्। एमाले नेता विष्णु पौडेललाई ओलीले महासचिव बनाएका थिए।

शनिबार, कार्तिक २७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)