काँग्रेस अधिवेशन: मोरङ सभापतिमा लिम्बूले पाए सर्वाधिक मत

नेपाली काँग्रेस मोरङको सभापतिमा दोसो चरणको निर्वाचन हुने भएको छ। आइतबार मतदान हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि पुनः निर्वाचन हुने भएको हो।

१४औँ महाधिवेशनअन्तर्गत मोरङको अधिवेशनमा आइतबार ३ हजार ४ सय १४ मत खसेको थियो। आइतबार राति मतगणना हुँदा सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले १ हजार ५ सय ४४, दिलीप गच्छदारले १ हजार १ सय ६६ र यदुकुमार विष्टले पाँच सय ६३ मत प्राप्त गरे। पुन: हुने चुनावमा सबैभन्दा धेरै मत ल्याउने लिम्बु र दोस्रो हुने दिलीपबीच प्रतिस्पर्धा हुनेछ।

कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन्। तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए । 'उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन,' उनले भने, 'नत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौँ ।'

लिम्बू संस्थापनइतर समूहका उम्मेदवार हुन्। संस्थापन पक्षबाट दुई उम्मेदवार बनेका थिए। सभापतिका लागि पुनः निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ। पुनः मतदानपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरूको मतगणना हुने समितिले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-29 05:30:00

प्रतिकृया दिनुहोस्