वडाध्यक्षमा २३ वर्षीय दोर्जेकाे दाबी, भन्छन्– टिकट पाए जितेर देखाउँछु

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देशभर उम्मेदवारका आकांक्षीहरु बढ्दै गइरहेका छन्। यही माहोलका बीच युवा आकांक्षी पनि बढेका छन्।

पछिल्लाे समय उम्मेदवारीको लागि विभिन्न दलका युवाको दौडधुप जारी छ। गाउँगाउँमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन्।

राजनीतिकप्रति विशेष चासाे राख्ने युवा हुन्, २३ वर्षीय दोर्जे लामा। नेविसघंबाट राजनीतिमा लागेका उनी स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको दौडमा छन्।

नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोककाे जुगल गाउँपालिका–३ को वडाध्यक्ष पदमा उनले दाबी गरेका छन्।

उमेरले सानै भएको भनिएता पनि उनको आँट, अनि हिम्मतलाई स्थानीयले सम्मान गरेका छन्। पार्टीले मूल्याङ्कन गरेर टिकट दिए जितेर देखाउने उनले दाबी गरे।

गाउँ–समाजको मुहार फेर्न आफू अध्यक्ष पदमा उठ्न चाहेको उनी सुनाउँछन्।

कांग्रेसको चारतारे झण्डा फरफराउन उम्मेदवार जो कोही उठेपनि सो वडामा जित्ने अवस्था रहेको उल्लेख गर्दै दोर्जेले भने, ‘युवाहरुले अवसर पाउनुपर्छ। भाषणमा मात्र युवा नेतृत्व भनेर हुँदैन, व्यवहारमा कार्यान्वयन हुनुपर्यो।’

समाजको सेवा गर्नमा खुसी लाग्ने बताउँदै उनले बिएल नेपाली सेवासँग भने, ‘गाउँको सेवा गर्न पाउँदा खुसी लाग्छ। वडाध्यक्ष बनेर विकासको काम गर्नेछु।’

राजनीति आम्दानी गर्ने माध्यम नभएकाे बताउँदै उनले सेवाको गर्ने माध्यम रहेको बताए। उनले भने, ‘म समृद्ध वडा बनाउनको लागि वडा अध्यक्षको आकांक्षी हुँ।’

कांग्रेसबाट उम्मेदवार हुने योजना बनाएका दोर्जे समग्र विकासमा आफूले ध्यान दिने भन्दै प्रचार सुरु गरेका छन्।

सामाजिक कार्यमा एकदमै अब्बल देखिएका विपन्न र पीडामा रहेकालाई तत्कालै सहयोग गर्दै आएका दोर्जे वडामा लोकप्रिय छन्।

‘वडाका वासिन्दाले परिवर्तन खोजेका छन्’, उनले भने, परिवर्तनको सम्बहाक बनेर मैदानमा खडा हुन चाहन्छु।’

पहिलो पटक अध्यक्षमा दाबी गरेका उनी आफूसँग वडा सम्हाल्ने क्षमता भएको बताउँछन्। ‘वडाको समस्या बुझेको छु, जनतासँग सहकार्य गरेर समाधानको पाटो पनि खोज्नेछु’, उनले भने।

दोर्जेले भन्दै गए, ‘म गाउँको समस्या टुलुटुलु हेरेर बस्न सक्दिनँ। टिकट दिएर जिताए सेवा गर्नेछु, नजिताए बाहिरबाटै गाउँ विकासमा पहलकदमी गर्नेछु।

उनले भने, ‘हामी जस्ता शिक्षित युवाका लागि राम्रो पार्टी कांग्रेस हो। यो पार्टीेसँग हामी युवाको कुरा मिल्छ।’

दोर्जे कांग्रेसको १४ औं महाधिवेशनको सिन्धुपाल्चोकबाट क्षेत्रीय प्रतिनिधिसमेत हुन्।

प्रकाशित मिति: : 2022-04-10 17:46:00

प्रतिकृया दिनुहोस्