जलजलाः आनन्द र उर्जासँगै 'आस्था केन्द्र'

रोल्पाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजलाको विकासमा सरकारले चासो देखाएको छ।

पूर्वाधार अभावका कारण ओझेलमा पर्दै आएको जलजलामा केहि संरचना बनेसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

पर्यटकीय स्थल जलजलालाई सरकारले देशभरको सय गन्तव्यमा राखेसँगै यसको प्रवद्र्धनको काम पनि हुन थालेको छ। सय गन्तव्य अन्तर्गत एक करोड बजेटबाट धर्मशाला, ९ किलोमिटर घोरेटो बाटो, विश्राम गृह र केहि मोटर बाटो निर्माण भएको छ।

यस्तै प्रकृति संरक्षण कोषबाट २२ लाखमा भामा गुफामा पर्खाल र वन कार्यालयबाट भ्यूटावर निर्माण गरिएको छ। केहि संरचना बनेपनि अझै प्रयाप्त नभएको जलजला पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष ग्रीस पुनले बताएका छन्।

धार्मिक तथा प्राकृतिक रुपमा प्रसिद्ध जलजलाको विकासका लागि गुरु योजना समेत बनिसकेकाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्थानीय मौसम रोकाको भनाइ छ। 

जलजलाको विकासका लागि थप प्रयास भइरहेको पूर्वसभामुख ओनसरी घर्ती र प्रदेश सांसद् दिपेन्द्रकुमार पुन बताउँछन्।

सडक सञ्जालले नजोडिएको जलजला पुग्न जति कठिन छ त्यहाँ पुगेपछि छुट्टै आनन्द र उर्जा मिल्ने त्यहाँ पुग्नेहरूको अनुभूति छ। 

हिउँदमा हिउँ खेल्न र प्राकृतिक मनोरममा रमाउन पर्यटकहरू जाने गरेपनि जलजलामा विशेषगरी वैशाख, जेठ र साउने पूर्णिमा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाई बराह जस्ता देवताको पुजा गर्न दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ।

फाेटाे साैजन्य: मिनराज राेका

प्रकाशित मिति: : 2022-04-23 09:04:00

प्रतिकृया दिनुहोस्