दैलेखमा सत्ता साझेदार दलहरूको भागबण्डा टुंगियो

File Photo
File Photo

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दैलेखमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ।

११ वटा स्थानीय तह रहेको दैलेखमा २०७४ मा शून्यमा रहेको नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ।

नेपाली कांग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ  भने एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख पाएको छ।

लामो समयदेखि सहमतिको प्रयास भए पनि आज मात्रै भागबण्डा मिलेको हो। औपचारिक घोषणा भने हुन सकेको छैन। गठबन्धन दलको बैठकले पालिकाको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाएको स्रोतले जनाएको छ।

स्रोतले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ।

यसैगरी महाबु गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको स्रोतले जनाएको छ।

यस्तै नौमूले गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसलाई भाग पर्दा नेकपा एकीकृत समाजवादी भागमा उपाध्यक्ष परेको छ। भगवतीमाई गाउँपालिकाको अध्यक्ष भने नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ।

त्यस्तै डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ। यस्तै गुराँस गाउँपालिकामा पनि अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ। त्यसैगरी दुल्लु नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको छ।

यसैगरी भैरवी गाउँपालिकाको अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ। चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ।

ठाटीकाँध गाउँपालिकाको अध्यक्ष भने नेकपा माओवादी केन्द्रलाई भाग पर्दा उपाध्यक्ष नेपाली कांग्रेसले पाउने स्रोतले जनाएको छ। त्यस्तै आठबीस नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउँदा नेकपा माओवादी केन्द्रले उपमेयर पाउने निश्चित जस्तै भएको बताइएको छ।

प्रकाशित मिति: : 2022-04-24 18:23:00

प्रतिकृया दिनुहोस्