मेयर पदमा उम्मेदवारी दिएपछि न्याैपानेले भने : कोहलपुर बासीको मनमा छु, पक्कै जित्नेछु

डिल्ली शाही

काेहलपुर
Breaknlinks
Breaknlinks

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाे लागि बाँकेकाे काेहलपुर नगरपालिकामा गठबन्धन (माओवादी केन्द्र र एकीकृत समाजवादी)बाट माओवादीका नरेन्द्र न्याैपानेले मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन्। लामाे समयदेखि राजनीतिमा सक्रिय यहाँ लाेकप्रिय नेता न्याैपानेले हिजाे (साेमबार) दलबलसहित मुख्य निर्वाचन अधिकृतकाे कार्यायल पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराएकाे हुन्।

यसअघिकाे निर्वाचनमा काेहलपुरकाे मेयर पदमा पराजित युवा नेता न्याैपाने यसपटक पुन: उम्मेदवारी दिने निर्णय गरेका हुन्। उनले अघिल्लाे चुनावमा विजय हासिल गर्न नसकेपनि छाँया मेयरका रूपमा काम गर्दै आएका थिए।

चुनावमा पराजित भएर पनि जनताको काममा लागिरहने नरेन्द्रले जनताको सेवा र कोहलपुरको विकास गर्न कुनै एउटा काम गर्नु पर्ने महशुस भएर अगाडि सरेकाे उनकाे भनाइ छ। केन्द्रीय तहको राजनीति गरेर कोहलपुर पुगेका न्यौपानेले आफू पछिल्लो ५ वर्षको अवधिमा कोहलपुरको राजनीतिक अवस्था, मुख्य–मुख्य समस्या र कोहलपुरको सम्भावनाका बारेमा समेत अध्ययन गर्ने प्रयाप्त मौका साथै जनताको सेवा गर्ने अवसरका रुपमा आफूले लिएको बताउँछन।

गाँउ घरका स–साना समस्यादेखि कोहलपुरलाई विकास र प्रशासनिक हिसाबले समृद्ध गर्ने काममा उनको उत्तिकै खटाइ छ। कोहलपुरमा विकासका काममा प्रदेश र केन्द्र सरकारसँग लबिङ गर्न होस् या कोभिडको महामारीमा जनताकाे घर–घरमा पुगे सेवा गर्न हाेस् उनी निरन्तर लागिपरेका थिए।

‘मैले काेहलपुर बासीकाे लागि कुनै पदमा नरहेपनि काम गर्दै आएकाे छु, त्याे कुरा मैले भन्नुभन्दा पनि यहाँका जनतालाई थाहा छ,’ उम्मेदवारी दर्ता गरेपछि न्याैपानेले बिएल नेपाली सेवासँग भने,‘तर, काम गर्न इच्छा र जागर भएर मात्रै नहुने रहिछ कुनै तहबाट गर्न सकियाे भने झन राम्राे हुन्छ भन्ने मेराे बुझाइ छ। त्यसैले मैले उम्मेदवारी दिएकाे हाे, आशा छ यहाँका जनताले साथ दिनुहुने छ।’

कोहलपुरमा लोक कल्याणकारी स्थानीय सरकार बनाउने योजनामा रहेकाे उनकाे भनाइ छ। खासगरी सार्वजनिक सेवा, सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस हुन नदिने उनकाे दाबी छ।

उनले यसअघिदेखि नै काेहलपुरबासीकाे लागि काम गरेर सबैकाे मन–मनमा बस्न सफल भएकाेले जित निश्चित भएकाे बताएका छन्।

‘काम गरेर हाेस् या नयाँ विचार र याेजना बनाएर हाेस् म यहाँका जनताकाे मनमा बस्न सफल छु, त्यसैले चुनाव त अवश्य जित्ने नै छु,’ न्याैपानेले भने।

प्रकाशित मिति: : 2022-04-26 20:50:00

प्रतिकृया दिनुहोस्