टप गन मेभरिक अर्थात् एक पाइलटकाे चमत्कार !

सन् १९८६ मा रिलिज भएकाे टम क्रुज अभिनित सिनेमा ‘टप गन’ आजसम्म पनि सुपरहिट छ। करिब ३५ वर्षपछि त्यसैको सिक्वेल ‘टप गन मेभरिक’ गत हफ्ता रिलिज भएको छ। यो सिनेमाको केन्द्रबिन्दुमा पुन: क्याप्टेन पिट मेभरिक मिशेल (टम क्रुज) नै छन्, जसले पाईलट तालिम दिन्छन। उनको साथ मृत्यु भइसकेको मित्र गुजको छोरो लेफ्टिनेन्ट ब्रेडली रुस्टर ब्रेड्शा (माईल्स टेलर) पनि छन्। सिनेमाको कथाअनुसार पिट मेभरिकलाई एउटा नयाँ जिम्मेवारी दिइएको छ र त्यो जिम्मेवारी पूरा गर्ने क्रममा उनले यस्तो परिस्थितिको सामना गर्नुपर्छ कि उनलाई पुरानो कुराको सम्झना आउँछ जो त्यति सम्झन लायक थिएन।

सिनेमाको कथाअनुसार यसमा पनि हवाई सैनिकहरुलाई तालिम दिने र त्यसमा आउने अनेकौं बाधा तथा रमाइलो प्रसंगहरु नै हुन्। पहिलो सिनेमा मा २४ वर्षको रहेका नायक क्रुज आज ५९ वर्षको हुँदासम्म पनि दर्शकहरुको लागि उनको आकर्षण उस्तै र सायद त्यो भन्दा निकै धेरै छ। सिनेमामा फाईटरप्लेन र त्यो उडाउने तालिमको साथै पुरानो घटनाको अपराधबोध, ह्रदयस्पर्शी मित्रताको कथा, हिन्दी सिनेमाको जस्तै घमन्डी र सुन्दरी युवती पेनी बेन्जामिन (जेनिफर कोनेली) सँगको प्रेम प्रसंग र सत्रु र सत्रुताको कथा पनि छ। जसलाई अगाडि बढाउन अन्य उपकथा पनि जोडिएको छ। सिनेमाको कथा कसरी अगाडि बढ्छ भनेर थाहा पाउन सिनेमा नै हेर्दा झनै रमाइलो हुन्छ।

आफ्नो मिल्ने साथी गुजको सम्झना र उनको छोरोको अनुहारमा मित्रको छाया देखेर ऊसँग सहकार्य गर्ने क्रममा आउने राम्रो/नराम्रो भावको बीच नायक क्रुजले यो सिनेमामा पनि पहिलेको जस्तै उत्कृष्ट अभिनय गरेका छन्। त्यो नै सिनेमाको सबैभन्दा महत्वपूर्ण उपलब्धी हो। निर्देशक जोसेफ कोसिन्स्कीले सिनेमाको कथासँग दर्शकहरुलाई भावनात्मक रुपमा जोड्न सफल भएका छन्। फाईटरप्लेनको मुटु हल्लाउने स्टन्ट, ध्वनी र क्यामरा एङ्गल सटिक भएको कारण सिनेमा हेर्दा दर्शकहरु एकटक हेर्न बाध्य छन्, जो निर्देशकको सफलता हो।

यो सिनेमा नायक क्रुजको ‘वान म्यान शो’ हो र सबै कलाकारहरु क्रुजको छायामा परेका छन्। त्यसमा पनि आईसम्यानको रुपमा बेल किल्मरको स्वभाविक अभिनयले दर्शकहरुको मन छुन्छ। अन्य कलाकारहरुको अभिनय सामान्य छ। सिनेमामा पुरानो सम्झना, ड्रामा र एक्सन छ, जसको कारण सिनेमा हेरुञ्जेल रमाइलो लाग्छ। विमानसँग सम्बन्धित दर्शकहरुलाई सिनेमा रमाइलो लागे पनि यो क्षेत्रको प्राविधिक शब्दको ज्ञान नभएकाहरुको लागि कतै–कतै अल्मल्लिने पनि हुन सक्छ।

सिनेमाको शीर्ष गीत ‘होल्ड माई ह्यान्ड’ लेडी गागाको स्वरमा छ। जो सुमधुर छ तर पुरानो सिनेमाको ‘टेक माई ब्रिथ अवे’को जस्तो असर रहन्छ कि रहन्न त्यो भने हेर्न बाँकी छ। एक्सन मन पराउने दर्शकहरुको लागि यो सिनेमा ‘पैसा असुल’ छ। र, विमान सेवासँग सम्बन्धित दर्शकहरुले एक पटक अवश्य हेर्नुहोला।

प्रकाशित मिति: : 2022-06-01 21:50:00

प्रतिकृया दिनुहोस्