रवि लामिछाने दलाल हुन्, निर्मलाकाे बलात्कारी बचाउने उनकाे कर्तुत चुनावबाट भण्डाफाेर गर्छु : खेम भण्डारी (अन्तर्वार्ता)

पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संयोजक रवि लामिछाने जुन क्षेत्रबाट निर्वाचन लड्छन्, त्यहीँ क्षेत्रबाट आफूले उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समय पत्रकारितमा गरेका उनले लामिछानेले निर्मला हत्या प्रकणमा बलात्कारी रक्षाको लागि भूमिका खेलेकोले सोही कुरा पर्दाफास गर्नको लागि एकै ठाउँबाट चुनाव लड्ने बताएका छन्।

यसरी चुनाव जित्न भन्दा पनि रवि लामिछानेले लुकाएको निर्माला प्रकरणको वास्तविकता सार्वजनिक गर्न चुनाव लड्ने तयारी गरेकाे घोषणा गरेका पत्रकार भण्डारीसँग बिएल नेपाली सेवाको लागि ध्रुब बस्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः 

तपाईंले किन संसदीय निर्वाचनमा उम्मेदवारी दिने योजना बनाउनु भयो ?

रवि लामिछानेले नयाँ पार्टी बनाएका छन्। उनी निर्मला पन्त हत्या प्रकरणमा एउटा दलालको भूमिकामा देखिनु भएकाले हत्याराका पक्षमा, हत्यारा लुकाउनेहरुको पक्षमा बोलिरहनुभयो। हाम्रो आन्दोनको विपक्षमा रहेर विभिन्न आरोप लगाउने कोसिश र निर्मालाको न्याय हराउनुमा रवि लामिछानेको विशेष हात रहेको छ। यो मुद्धालाई हराउनका लागि विभिन्न मिडिया प्रयोग गरेर जुन शंकास्पद प्रहरीको पक्षमा वातावरण बनाउने, अदालतलाई प्रभावित बनाउने जस्ता विभिन्न गतिविधिमा सामेल भएकाले रवि लामिछाने लड्ने निर्वाचन क्षेत्रमा नै यो मुद्धालाई विशेष रुपले उठाउन चाहन्छु। त्यसकारण मैले उम्मेदवारी घोषणा गरेको हुँ।

किन तपाईं रवि लामिछाने जहाँबाट उठछन्, त्यहीँ ठाउँबाट उम्मेदवारी दिन खोज्नु भएको हो ? अन्य ठाउँबाट गर्दा हुन्न र ?

मेरो रविकै निर्वाचन क्षेत्रमा उठ्ने मुख्य कारण नै निर्मला प्रकरणमा रविले गरेको गलत भूमिकालाई जनतामाझ उठाउने उद्देश्य रहेकोले अन्य विकल्प छैन।

भनेपछि तपाईं चुनाव जित्नभन्दा पनि रवि लामिछानेलाई हराउनको लागि उठ्न खोज्नुभएको हो ?

जित्ने र हार्ने होइन। रविले जित्ने के ग्यारेन्टी रहेको छ र ? यो त सबै जनताको हातको कुरा हो। उद्देश्य सबैको जित्ने नै हुन्छ तर नेपालको जुनसुकै क्षेत्रमा लामिछानेको उम्मेदवारी रहन्छ, त्यही क्षेत्रबाट निर्मला प्रकरणको मुद्धा पर्दाफस गर्नको लागि उठ्न तयार भएको हुँ।

तपाईं कोहीबाट परिचालित त होइन नि ?

यस्तो सम्भावना नै छैन। यस्तो गर्छु होला र म ? कसैबाट परिचालित भएर होइन निर्मलाको न्यायको लागि आन्दोलमा खुल्ला रुपले आन्दोलित थियाैँ। परिचालित हुने आफ्नो तर्क र मुद्धा नभएर यो उद्देश्य लिएको होइन, यस्तो मुद्धामा कसैबाट परिचालित हुने कुरै भएन।

तपाईंका योजनाहरु के हुन् ? जित्नु भयो भने के गर्नुहुन्छ ?

मैले फेसबुकमै लेखिसकेको छु। छोटाे समयमै भन्न सम्भव छैन। विशेष योजना भनेकै निर्मला प्रकरणको पर्दाफास गर्नु हो।

अहिलेका नेताहरुबाट जनता वक्क भएकाबेला तपाईंहरु मिलेर जानुपर्ने बेलामा किन दुश्मनी साँध्न खोज्नु भएको नि ?

रवि जस्तो प्रवृतिमा मिलेर जान सकिँदैन। जुन प्रवृति निर्मलाजस्तो अवोध बालिकाको बलात्कारपछि हत्या भएको छ, यसको बचाउँ गर्ने सँग हामी मिलेर जान सक्दैनाैँ। न्याय हराउन दलालको भूमिका निर्वाह गर्ने सँग मिल्न सकिँदैन। उनी कस्तो मान्छे हुन्, के–के भूमिका निभाएका छन् भन्ने धेरैलाई थाहा छ। त्यसैले रवि प्रवृतिलाई जनताको माझमा नाङ्गे झार पार्ने अबको आवश्यकता हो।

तपाईंले भनिरहेको निर्मला प्रकरणबारे खास कुरा के हो ?

निर्मला प्रकरण धेरै ठुलो र लामो इतिहास छ। यो सबै छोटो वार्तामा भन्न सकिँदैन। नेपाली जनतालाई कम्तिमा पनि एउटा अवोध बालिकाको बलात्कारपछि निर्मम हत्या भएको छ, सकिन्छ त्यसका लागि न्याय दिलाउने हो, रवि जस्तो प्रवृति देखाउने होइन। जनतामाझ आएर आफू हिरो बन्न खोज्ने होइन। जनतामाझ आएर भ्रम छर्नु गलत हो। सत्य तथ्यको बारेमा बोल्नुपर्छ।

अन्त्यमा तपाईंको सन्देश के छ ?

यो चुनाव जित्नकै लागि हो भने त म आफ्नै निर्वाचन क्षेत्र अथवा सुदूपश्चिमको जुनसुकै क्षेत्रबाट जित्न सक्छु। म चुनाव लड्ने मान्छे नै हो। तर, लामिछाने उठेकै निर्वाचन क्षेत्रमा जानुको मुख्य कारण भनेकै निर्मला प्रकरणको मुद्धा जनतामाझ सार्वजनिक गर्नु हो। मैले गरेको काम जनतालाई अवगत नै रहेको छ।

प्रकाशित मिति: : 2022-07-28 21:55:00

प्रतिकृया दिनुहोस्