कोभिड–१९ महामारीको समयमा जापानको आत्महत्या दरमा वृद्धि

File photo
File photo

कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ।

सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ। उक्त समूहले कोभिड महामारीपूर्वको सोही अवधिको तुलनामा यो सङ्ख्या अत्यधिक भएको बताएको छ।

अनुसन्धान रिपोर्ट अनुसार आत्महत्या गर्ने अत्यधिक व्यक्ति २०–३० बर्ष उमेरका युवती भएको पाइएको छ। कोभिडका कारण २० बर्षभन्दा मूनिका किशोरीहरू पनि उल्लेख्य सङ्ख्यामा प्रभावित बनेको जनाइएको छ।

विवरण अनुसार उक्त अवधिमा महिलापुरूष गरी एक हजार ८३७ यूवाले आत्महत्या गरेका थिए भने एक हजार ९२ युवती रहेका थिए।  

महामारीका कारण भएका भनिएका ३७७ आत्महत्या मध्ये १९ वर्ष वा सोभन्दा कम उमेरका २८२ जना रहेका छन्। 

टोकिया विश्वविद्यालयका सह–प्राध्यापक ताइसुके नाकाताले क्योदोसँग भने, 'पुरुषको तुलनामा नियमित काम नगर्ने महिलाहरू आर्थिक रूपमा बढी प्रभावित हुन्छन्, जबकि व्यवहारिक प्रतिबन्धका कारण युवाहरू आइसोलेसनमा बस्न बाध्य हुने सम्भावना बढी हुन्छ।'

क्योदोका अनुसार ‘जापानमा आत्महत्याको दर बढ्नुको प्रमुख कारण आर्थिक कठिनाइ रहेको विश्वास गरिएको छ, किनकि बेरोजगारी बढ्दै जाँदा आत्महत्याको मृत्यु दर बढ्छ। 

ओसाका विश्वविद्यालयका प्राध्यापक फुमियो ओटाकेले आत्महत्याको संख्याजस्ता तथ्याङ्कलाई ध्यानमा राखेर सरकारले आफ्नो नीति परिवर्तन गर्न आग्रह गरे। कोभिड–१९ सम्बन्धी सरकारी समितिका सदस्यसमेत रहेका ओटाकेले भने 'सामाजिक र आर्थिक गतिविधि रोक्नका लागि कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको जोखिमलाई मूल्याङ्कन गर्न जरूरी छ।'

उनले सामाजिक–आर्थिक गतिविधि कायम राख्न सङ्क्रमित बिरामीका लागि आइसोलेसन अवधि घटाउनेजस्ता उपायलाई खुकुलो बनाउन आवश्यक रहेको जानकारी दिए। जापानमा सन् २०१० देखि हरेक वर्ष आत्महत्याका घटनामा कमी आएको थियो। तर सन् २०२० मा यसमा वृद्धि आएको र सन् २०२१ मा पनि उस्तै रहेको सरकारी तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति: : 2022-08-18 13:14:00

प्रतिकृया दिनुहोस्