सर्वेन्द्र राजनीतिमा आउँदैमा काेहि आत्तिनुपर्दैन !

नेपाल प्रहरीको पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेसँगै राजनैतिक वृत्तमा ठूलै हलचल पैदा भयो। उनलाई विभिन्न आरोपहरु लगाएर ३० वर्ष  नेपाली जनताको सेवामा समर्पित एक जना राष्ट्र सेवकको छविलाई धुमिल पार्ने प्रयास भएका छन्। सर्वेन्द्र खनाल राजनीतिमा आउँदैमा कोहि आत्तिनुपर्ने अवस्था चाहिं छैन।  

वि.स २०२३ बैशाख २३ गते तनहुँ जिल्लामा जन्मिएका सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरिक्षकसम्म भए।  राजनैतिक परिवारमा जन्मिएका कारण खनालमा सानैदेखि नेतृत्व विकास भयो। नेपालमा निरंकुश पञ्चायतको अन्त्यतिर प्रहरी निरीक्षकको रुपमा आफ्नो करियर शुरुवात गरेका खनाल नेपाल प्रहरीको २६ औँ महानिरिक्षकसम्म भए।  

वि.स २०४६ सालमा प्रहरी निरीक्षकको रुपमा तालिममा रहँदा नेपालभर प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलनको आधिवेरि थियो। जब २०४७ सालमा पञ्चायतको अन्त्य भएर नेपालमा प्रजातन्त्रको पुनस्थापना भयो, सर्वेन्द्रले प्रहरी तालिम केन्द्रमा नारा लगाए  'प्रजातन्त्र जिन्दावाद , निरंकुश पञ्चायत मुर्दावाद'।

प्रजातन्त्र स्थापनाको दिन सर्वेन्द्रको जीवनको सबैभन्दा खुसीको दिन बन्यो, उनी अत्यन्तै उत्साहित भएर प्रहरी तालिम केन्द्रमा प्रजातन्त्रको स्थापनाको हर्ष साटिरहेका थिए। विद्यार्थी अवस्थादेखि खनाल प्रजातन्त्रप्रति प्रतिवद्ध थिए।  नेपालमा प्रजातान्त्रिक मुल्य मान्यताहरु कायम हुनुपर्छ भनेर पञ्चायत कालमा समेत खनालले क्याम्पसमा आन्दोलनको नेतृत्व गरेका थिए। 

प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गरेका खनाल आफ्ना समकक्षीहरुलाई पछार्दै नेपाल प्रहरीको सर्वोच्च कमाण्डर भए। ३० वर्षसम्म नेपाल प्रहरीको इमानदार, क्षमावान र साहसिक प्रहरी अधिकृतको रूपमा देश र जनताको पक्षमा सयौं योगदानहरू गरे।

नेपाल प्रहरीको महानिरिक्षकबाट रिटायर भएपछि एक सार्वजनिक कार्यक्रममा बोल्दै खनालले भनेका थिए, 'जनताले अवसर दिए सक्रिय राजनीतिमा लाग्छु।'

प्रहरीमा रहँदा गुन्डा, तस्कर, भ्रष्टाचारी , माफिया, दलाल र अपराधीहरूलाई दण्डित गर्न कुनै कसुर नराखेका खनालले सक्रिय राजनीतिमा आउने आशय व्यक्त गरे लगत्तै विभिन्न आरोपहरू लगाएर बदनाम गराउने कोसिस भए। सर्वेन्द्रको कुशल र निडर नेतृत्वले नजिकबनट देखेका नेताहरू उनको राजनीतिमा आगमन हुने कुरा सँग डराउनु स्वाभाविक हो।

लोकतान्त्रिक मूल्य र मान्यतामा सदैव अडिग रहने कुशल प्रशासकहरू मध्येका एक सर्वेन्द्र खनाल  हुन्, बोली र व्यवहारमा लोकतान्त्रिक ठहरिएका नेपालका प्रशासकहरूको तुलना गर्ने हो भने खनाल अग्रपंतिमा पर्छन्।

१० वर्षे जनयुद्धको रापतापसंगै  युद्धविराम गरेर आएको माओवादी, राजा ज्ञानेन्द्रको 'कू' बाट आन्दोलित नेपाली कांग्रेस एमाले लगायतका दलहरुका कारण राजधानीको सुरक्षा अत्यन्तै गम्भीर मोडमा थियो। त्यतिबेला राजधानीले कुशल र साहसिक सुरक्षा कमाण्ड सर्वेन्द्र खनालले गरेका थिए।

तत्कालीन राजा ज्ञानेन्द्रलाई उनको सांस्कृतिक भूमिकाबाट अलग गर्न साहस चाहिन्थ्यो, त्यसको नेतृत्व खनालले गरेका थिए। राजा आफैँ कुमारीको हातबाट टिका ग्रहण गर्न जाने चलनको अन्त्य गर्दै  तत्कालीन प्रधानमन्त्रीलाई कुमारीको हातबाट टिका ग्रहणका लागि  सुरक्षा प्रबन्ध सर्वेन्द्र खनालको कमाण्डमा कुशलतापूर्वक सम्पन्न भएको थियो।

मधेश आन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सरकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि खनालको कमाण्डमा स्थिति गएको टोलीले नियन्त्रणमा लिएको थियो। मधेश आन्दोलनका क्रममा  तत्कालीन बिद्रोही नेता उपेन्द्र यादव काठमाडौं आउन नमानेपछि बारा जिल्ला सर्वेन्द्र एक्लै पुगेर सरकारसंग वार्ताको लागि वातावरण निर्माण गरेका थिए।

महाभूकम्पको समयमा नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव रामआधार साहलाई पक्राउ गरेर कार्वाही गर्ने सर्वेन्द्रको नेतृत्वमा भएको थियो। 

लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बेच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाइस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजी खोजी हत्कडी लगाउने काम खनालको कमाण्डमा भएको थियो।

खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्याएर म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजा बनाउने कामको नेतृत्व सर्वेन्द्रले गरेका थिए।

सर्वेन्द्र खनाल प्रहारी महानिरिक्षक हुँदा तत्कालीलिन सभामुख कृष्ण बहादुर महरालाई समेत अनुसन्धानको दायरा भित्र ल्याएका थिए।

सभामुख जस्तो राज्यको उपल्लो तहको मानिसको बारेमा मुद्वा दर्ता भइसकेपछि अनुसन्धानको लागि थुनामा राख्ने निर्णय आफैँमा साहसिक थियो, विधिको शासन थियो। चौतर्फी राजनीतिक दबाबका बिचमा पनि प्रहरी एक इन्च हलचल भएन।

जीवनभर गलत कुरासंग सम्झौता नगरेका सर्वेन्द्र नेपाली राजनीतिलाई सफा गर्न सक्ने एउटा बलियो नेता हुन्।

नेपालको सांसदमा हुनुपर्ने एउटा अगुवा हुन्। सर्वेन्द्र खनालसंग यो देशका तस्कर, लुटेरा, भ्रष्टाचारी र देशद्रोहीहरु चाहिँ बेस्सरी आत्तिनुपर्छ।

प्रकाशित मिति: : 2022-10-02 22:05:00

प्रतिकृया दिनुहोस्