सन्दीप लामिछानेको थुनछेक बहस सुरु

नाबालिग बलात्कार गरेको आरोपमा हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको बयान सकिएको छ। 

मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उनको बयान सकिएको हो। 

बयान सकिएपछि उनकाे थुनछेक बहस आजदेखि सुरू भएकाे छ। 

१७ वर्षीय नाबालिग बलात्कार गरेको आरोपमा उनी विगत २५ दिनदेखि प्रहरी वृत गौशलाको हिरासतमा छन्।

भदौ ५ गते सन्दीपले आफूलाई होटल काठमाडौँ इनमा लगेर पटक–पटक बलात्कार गरेको किशोरीले जाहेरीमा बताएकी छन्।

सन्दीपले भने किशोरीसगँ एउटै कोठामा बसेपनि आफूले बलात्कार नगरेको बयानमा बताएका छन्। किशाेरीसँग घुमेर काठमाडाैं इनमा बसेपनि बलात्कार नगरेकाे उनकाे दाबी छ।

सन्दीपको बयान : युवतीले बेडमा बाेलाएकी थिइन्, म अस्वीकार गरेर कुर्सीमै सुतेँ (पूर्णपाठ)

किशाेरीलाई पटक–पटक बलात्कार नगरेकाे बताउँदै आफूलाई कसैले फसाउन कोसिस गरिरहेको उनले बताएका छन्।

यता पीडित नाम परिवर्तन (गौशला)ले भने सन्दीपले आफूलाई मन्जुरी बिना घुम्न लागेको र होटल काठमाडाैं इनमा दुई पटक बलात्कार गरेको बताएकी छन्।

उनकाे जाहेरी अनुसार सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गर्याे।

कार्यालयले उनीविरुद्ध बलात्कार गरेको सबै प्रमाण जुटेको र उनलाई कम्तिमा १० देखि १२ वर्षसम्मको जेल सजायको माग गरेको छ। तर यता सन्दीपका पक्षबाट वकालत गरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरे भने अमेरिका गएका छन्।

आफूले लडिरहेको 'केस' लाई बिचैमा छाडेर उनी अक्टोबर ३० देखि नवम्बर ४ सम्म हुने 'आइ बी ए' मा सहभागी हुन अमेरिका पुगेका हुन्।

पीडितको बयान : आराम गर्न बेडमा पल्टिएको बेला गरे सन्दीपले बलात्कार (पूर्णपाठ)

आजदेखि सुरू भएकाे बहसमा घिमिरेकाे अनुपस्थित हुँदा लामिछानेकाे पक्षबाट लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारीले मुद्दा लड्ने छन्।

सन्दीपकै पक्षबाट वकालत गरिरहेकी अधिवक्ता सुधा रिजालले सञ्चारकर्मीलाई विवादित अभिव्यक्ति दिएपछि उनले यस विषयमा चासो देखाएकी छैनन्।

प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय माग दाबी समेत गरेको छ। 

प्रहरीले पीडितलाई क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ। त्याेसँगै लामिछानेको एनआइसी बैंकमा रहेकाे ६५ हजार २९८ रुपैयाँ र चितवन कल्याणपुर-७ मा रहेको जग्गा सम्पत्तिलाई रोक्का गरिदिन समेत अनुरोध गरेकाे छ। 

सन्दीप लामिछानेको बयान सकियो, थुनछेक बहस आज

 

प्रकाशित मिति: : 2022-11-02 11:24:00

प्रतिकृया दिनुहोस्