मोरङ- ३ मा रेखाको क्रेज : स्थानीय भन्छन- नयाँ अनुहार हेरिन्छ, हाम्रो मत फेरिन्छ !

तेजन खड्का

उर्लाबारी
BreaknLinks
BreaknLinks

गाउँहरूमा चुनावको खासै उत्साह छैन। प्राय: उम्मेदवार आउँदा कार्यकर्ता मात्र देखिन्छन्। कारण, चुनाव कति आए, कति गए तर जनताको समस्या ज्युँका त्युँ नै छन्। त्यही भएर पनि हाेला जनतामा चुनावकाे उत्साह छैन।

यद्यपि, जनताको निराशामा खुसीको आशा बनेर मोरङ- ३ मा उभिएकी छिन् राप्रपा नेतृ रेखा थापा।

उनको घरदैलोमा निक्कै उत्साह छाउने गरेको छ। सिमित कार्यकर्ता, रेखा र प्रदेशका उम्मेदवार तर मतदाताको उपस्थिति भने बाक्लै। थापाको घरदैलो अभियानमा सधैँ एउटै पार्टी र उस्तै खालको नेतालाई भोट हालेका मतदाता यो निर्वाचनमा भने फरक अनुहार देखिएकोमा खुसी देखिएका छन्।

पथरी शनिश्चरेमा रेखा घरदैलोमा पुग्दा ७५ वर्षीय सुकमाया धिमाल औधी खुसी भइन। रेखालाई आशीर्वाद दिँदै भनिन, ‘नानी यो ठाउँ एमालेको हो। तर यो पटक मत फेरिन्छ, नयाँ अनुहार हेरिन्छ। आज टिलिभिजनमा देखेको नानीलाई आगनमै देखेँ, कति खुसी लागेको छ, कति। फेरि पनि आउनु है।’

प्रतिउत्तरमा रेखाले मुस्कुराउँदै भनिन, ‘अर्को पटक पनि घरदैलोमा आइहाल्छु नि आमा। जिताउनु भयो भने त तपाईंहरुको कामको लागि यतै हुन्छु नि।’

धिमाल जस्तै प्रायः नयाँ अनुहार हेरिन्छ भन्नेहरु निक्कै भेटिने गरेका छन।

पुराना नेताहरुले जितेपछि नफर्केको, काम नगरेको, आश्वासन बाढेको गुनासो स्थानीयले रेखालाई धेरै गर्छन। भन्छन, ‘दुख पायौँ, विकास भएन। त्यही भएर सायद रेखालाई पुराना नेताहरुले गरेको कामको स्पष्टिकरण दिन परिरहेको छ।’

रेखाले पनि जनतालाई आश्वस्त पार्दै जिताएकाे मान्छेले काम गर्दैनन् भने किन फेरि मत दिनुहुन्छ भन्दै प्रतिप्रश्नसमेत गरेकी थिइन्। ‘मलाई मत लगानी गर्नुहोस, पछुताउने दिन आउन दिने छैन। सङ्गै हातेमालो गर्नुपर्छ। मेरो विजय तपाईं हाम्रो विजय हुनेछ,’ रेखाकाे भनाइ सकिने बित्तिकै स्थानीयले ताली बजाउछ्न, पर्रर।

‘हामीले धेरैपटक नेताहरूलाई भोट दिएर जितायौं तर केही पनि गरेनन, हाम्रो जग्गाको समस्या जस्ताको त्यस्तै छ,’ स्थानीय सुशीला रिमालले रेखासँग भनिन्,‘कतै तपाईं पनि त्यसरी नै भोट मात्र माग्न आउनुभएको त होइन ?’

प्रत्युत्तरमा नायिका थापाले कलाकारिता गरेर कमाएको इज्जत लिलामी गर्न आफू यहाँ नआएको स्पष्ट पार्दै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन्। ‘यहाँको समस्या तपाईंहरूको मात्र होइन, मेरो आफ्नै समस्या हो’, उनले भनिन्,‘यदी मलाई मत दिएर संसद पठाउनु भयो भने यहाँको आवाज बुलन्द गर्ने छु, नत्र तपाईंहरूलाई नै लिएर सिंहदरबार जानेछु।’

जितेर गएकाले फेरि फर्किएर नहेरेपछि रेखाप्रति जनताको सहानुभूति पनि बढ्दो छ। निर्वाचित जनप्रतिनिधिका प्रतिबद्धता र घोषणा-पत्र कागजी खोष्टा मात्र सावित भएको स्थानीय बताउँछन्। ‘३० वर्ष भयो पार्टीलाई भोट हालेको। हालसम्म केही परिवर्तन भएको छैन,’ बेलबारी- ४ सखुवाटोलीकी हिमा पौडेल भन्छिन्, ‘भोट माग्दा चाहिँ सबै सुकुम्बासीलाई ठाउँ दिन्छु भन्छन्। तर, चुनाव जितेर गएपछि बिर्सन्छन्।’

विगतमा पनि आफूले भूमि सुधार मन्त्रालय गएर सुकुम्वासी समस्या समधानका लागि आवाज उठाएको जानकारी दिँदै नायिका थापाले नीति निर्माण तहमा पुगेर आधिकारिकरूपमा भूमिसम्बन्धी तड्कारो समस्या समधानका लागि पहल गर्ने बताइन्।’

नायिका थापाले त्यहाँका बासिन्दालाई आफ्नो सपना बन्दकी नराख्न आग्रह गरेकी छन्। ‘उम्मेदवारको पृष्ठभूमि हेरेर मतदान गर्नुहोस्। युवालाई मतदान गर्नुहोस्। तर आफ्नो सपना बन्दकी नराख्नुहोस्’, उनले भनिन्।

सबैबाट चिनिएकी नायिका भएकोले पनि उनको क्रेज अहिले यो निर्वाचन क्षेत्रमा देखिएको छ। पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दर हंरैचाका मतदातासँगको भेटघाटको क्रममा थापालाई हेर्नकै लागि पनि आउनेहरूको ठुलै हुने गरेको छ।

कतिपयले नायिका भनेर हेर्न आएको त हो, भोट त आफनै पार्टीलाई हाल्छ नि भनेर केहिले कुरा गर्ने गरेको राप्रपाका कार्यकर्ता सुजन नेपाल बताउँछ्न।

‘हो, उहाँलाई हेर्न कलाकारको क्रेज भएर हेर्न आउनेहरु पनि हुनुहुन्छ तर उहाँको कुरामा पछि कन्भिन्स भएर जानुहुन्छ,’ सुजनले भने।

रेखा जस्तो खुलेर अहिले अन्य पार्टीका उम्मेदवार घरदैलोमा निस्किएका छैनन्। उनीहरुको फरक रणनिती होला, राप्रका युवा नेता हरेन्द्र खत्री भन्छन, ‘महिला युवाको मत धेरै ल्याउने रैछ रेखाले भनेर विपक्षी पार्टी नेताको होस् उडेको छ। अझ जेष्ठ बुवा आमाहरु पनि एमालेले देको बृद्धभत्ता हो र ?  हाम्रै करको पैसाले त देको हो भन्न थाल्नुभएको छ।’

सबैको माया पाइरहेको छु– रेखा

रेखा थापाले सबै उमेर समूहका मतदाताको माया पाइरहेको बताउँछिन्। हुन पनि गाउँ-गाउँ जाँदा मतदातामा निक्कै उत्साह देखिन्थ्यो रेखा पुग्दा। हातमा डायरी र कलम बोकेर कुर्तामा सजिएर मतदाताकोमा पुगेकी थापा भन्छिन्,‘मलाई युवाको हौसला र बुबा आमाको आशीर्वाद रहेको छ।’

नेता सेवक हुनुपर्छ शासक हाेइन

नेता भनेको शासक नभई सेवक हुनुपर्ने रेखाको भनाइ छ। जनताको भोटलाई खरिद बिक्री गर्ने, जनतालाई भोट बैङ्कको रूपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरूलाई अब जनताले भविष्य सुम्पिन नहुने रेखाले मतदातासँग भन्ने गरेकी छिन्।

हारजित जे भए पनि जनताहरूको साथमै रहने रेखाको प्रतिबद्धता छ। रेखाको निर्वाचन क्षेत्रमा सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ। स्थानीयले समस्याबारे निकै गम्भीरतापूर्वक बताउने गरेका छन्।

मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का तर्फबाट पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनिल शर्मा उम्मेदवार छ्न। शर्मा र ढकालसँग प्रतिस्पर्धा गर्न लागेकी राप्रपा नेतृ थापा भने यो क्षेत्रको नयाँ अनुहार हो। मुख्य प्रतिस्पर्धी शर्मा र ढकालका लागि राप्रपाकी उम्मेदवार रेखा थापा टाउको दुखाइको बिषय बनेकी छिन्। कारण, थापाको सक्रियता र बढ्दो चर्चा।

थापाको बढ्दो सक्रियताले क्षेत्र नं ३ मा बेग्लै माहोल सिर्जना गरिदिएको छ। ढकाल र शर्माको तुलनामा थापाको घुलमिल स्थानीयसँग बढी देखिएको छ, जुन आत्मीयता शर्मा र ढकालले स्थानीयसँग साटासाट गर्न सकेका छैनन्।

प्रकाशित मिति: : 2022-11-02 13:45:00

प्रतिकृया दिनुहोस्