जनताले एमालेलाई बहुमत दिन्छन्, एमालेकै सरकार बन्छ : रामप्रसाद अमगाई (भिडियाे)

प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन हुन केही दिन मात्र बाँकी छ। निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेरदवारहरुले चुनावी अभियानलाई तीव्रता दिइरहेका छन्।

तिनै उम्मेदवारहरु आफ्नो पार्टीको सिद्धान्त, विचार र एजेण्डाहरू जनतालाई बुझाउँदै/सनाउँदै आफ्नो पक्षमा मत तान्न जाेडताेडका साथ लागिपरेका छन्।

यही चुनावी अभियानमा सक्रिय छन्, नेकपा एमाले बागमती प्रदेश समिति सदस्य रामप्रसाद अमगाई। उनी पहिलो पटक काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यको लागि चुनावी प्रतिस्पर्धामा छन्।

२०४८ सालदेखि राजनीतिमा हाेमिएका अमगाईले एक दर्जनभन्दा बढी सामाजिक क्षेत्रमा रहेर काम गरिसकेका छन्। उनले लामो समयदेखि याे क्षेत्रको विकासका लागि निरन्तर आवाज उठाइरहेका छन्। क्षेत्र नम्बर १ काे विकासलाई निरन्तर उदेश्यका साथ उनी निर्वाचनमा हाेमिएका छन्।

उनै अमागाईसंग आम निर्वाचनमा केन्द्रित रहेरबिएल नेपाली सेवाका लागि ध्रुव बस्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:


तपाईंको उम्मेदवारी किन?

मेरो उम्मेरदवारी यही क्षेत्रको विकासका लागि हाे। नेकपा एमाले देशको सबैभन्दा ठुलो पार्टी हाे। देशमा सुखी नेपाली समृद्ध नेपालको सपनासमेत एमालेले बोकेको छ। यो मुलकमा अहिलेसम्म भएका राष्ट्रियता, जनजीविकाको जति पनि समस्याहरु छन्, ती सबै समस्याको समाधान एमाले मात्र गर्छ। मेरो क्षेत्रको विकासका लागि मलाई पार्टीले उपयुक्त्त पात्रको रुपमा लिएर मलाई टिकट दियो।

तपाईंको क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ। अहिले त स्वतन्त्र उम्मेरदवार पनि छन्। के तपाईंले नै चुनाव जित्नु होला त?

हामीले नजिते कसले जित्ने, अहिले नजिते कहिले जित्ने? प्रतिनिधिसभा र प्रदेशसभातर्फ हाम्राे जित निश्चित छ। किनभने यहाँका जनताले एमालेले गरेका काम देखेका छन्, देश र जनताको पक्षमा बोल्ने एउटामात्र दल एमाले भएकाे बुझेका छन्। राष्ट्रियताको पक्षमा बाेल्ने, चुच्चे नक्सालगायत नकाबन्दीमा हाम्राे पार्टीले खेलेकाे भूमिकाको मूल्याङ्कनका कारण अरुभन्दा एमालेलाई भोट दिनुपर्छ भनिरहेका छन्। अबको भावी प्रधानमन्त्रीको रुपमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई घोषणा पनि गरिसकेकाले अब एमालेको सरकार बनाउनका लागि भएपनि जनताले भोट हाल्छन्। हामी जित्छौँ, म ढुक्क छु।

अहिले चुनावी अभियानमा हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ, के जनताले सूर्य चिन्हमै मतदान गर्लान्?

वैधानिक रुपले जब १७ गतेदेखि घरदैलो अभियान खुल्ला भएको थियो, त्यही दिनदेखि हामी चुनावी अभियानमा निरन्तर छौँ। कतिपयले एमालेको तालमेल राप्रपासंग हाे कि भनेर अलमलमा हुनुहुँदो रहेछ, पार्टीको अध्यक्ष स्वयम् आफैँ आएर यो क्षेत्रमा तालमेल छैन भनेर भनिसक्नुभयाे। देशका केही भागमा मात्र चुनावी तालमेल हो, गठबन्धन हैन नझुक्किन भनेर स्पष्ट पारिसक्नुभएको छ।

काठमाडौंको राजधानी नै मेरो क्षेत्र रहेकाे तथा काठमाडौं महानगरपालिका १०, ११ र २९ रहेकाले यी ठाउँभित्र व्यवस्थापिका, न्यायपालिका कार्यपालिका र देशको महत्वपूर्ण प्रशासनिक क्षेत्र, सैनिक मुख्यालय, दशरथ रंगशालालगायतका ऐतिहासिक धरोहरसमेत मेरै क्षेत्रमा प्रर्दछन्। यो सबै हुँदाहुँदै पनि यहाँका जनताले बत्तीमुनिको अँध्यारो भनेको झैँ ती सुविधा भोग्न पाएका छैनन्।

म ०४८ सालदखि विभिन्न संघसंस्था हुँदै एक दर्जनभन्दा बढी सामाजिक संस्थाहरुमा समेत जोडिएकाले मैले हाम्रो रचनात्मक कुरालाई बुझेकाे छु। यस्ता कुराहरू जनतामाझ पुर्याउने र जे जे समस्याहरु छन्, ती सबै कुराको समाधान गर्ने छु।

बहुदलीय जनवादको सिद्धान्त बोकेको पार्टी एमाले भएकाले अन्य पार्टीसंग विकासका पूर्वाधारदेखि लिएर अरू एजेण्डाहरू केही छैनन्। यो क्षेत्रको समृद्धि र विकासको लागि मेरो उम्मेरदवारी हो। जनताले सूर्य चिन्हमै मतदान गर्छन्।

तपाईंका चुनावी एजेण्डाहरु के–के हुन्?

यो क्षेत्रका समस्याहरुसंग म अत्यन्तै नजिकबाट परिचित छु। ती सबै समस्याको समाधान गर्नु मेरो पहिलो एजेण्डा हो। सबैभन्दा पहिले त यहाँकाे खानेपानीको समस्या समाधान गर्नु छ। खानेपानी, ढल व्यवस्थापनदेखि लिएर रुद्रमती, इच्छुमती, बागमती र ऐतिहासिक धरोहर, शिक्षा, स्वाथ्य रोजगारलगातका समस्याको योजना बनाइ स्थानीय सरकारसंग समन्वय गर्ने र ‘सबै घर सबै रोजगार’ मेराे नारासमेत रहेकाले म जनतामाझ यसरी प्रस्तुत हुन्छु।

राजधानी जस्तो ठाउँमा खानेपानीको समस्या यथावत नै छ। कतिपय दलहरूले त मेलम्ची खानेपानीलाई चुनावी एजेण्डा नै बनाउने गरेका छन्। ​​​​​​ तपाईंको पनि त्यस्तै त हाेइन नि?

यो निकै महत्वपूर्ण प्रश्न गर्नुभयो। म आफैँ पनि मेलम्ची पुगेको छु। मेलम्ची नआउँदै खानेपानीको समस्या समाधान हुँदैन। बाढीपहिरोका कारण केही ढिलासुस्ती भएको छ। हाम्रो पार्टीको अध्यक्ष प्रधानमन्त्री हुँदा उद्घाटन भइसकेको कुरा हाे। अहिले हामी सरकारबाट बाहिर छाैँ, त्यतिबेला एमालेलाई काम गर्न नदिएर हटाइयाे। गठबन्धन नाम गरेको सरकार बनेपछि मेलम्चीप्रति कुनै चासो दिएकाे देखिँदैन। अबको निर्वाचनपछि एमालेको सरकार आउँछ। हामी काम समपन्न गर्छौ र काठमाडौंका जनताले यस्तो दुख पाउँदैनन्।

वाम लोकतान्त्रिक गठबन्धनले त अबको निर्वाचनपछि एमालेलाई देशबाट नै पत्तासाफ गर्छौँ भनिरहेको छन् नि, यस्तो भयो भने के गर्नु हुन्छ?

उनीहरुले भन्दैमा एमाले पत्तासाफ हुँदैन, जनताले गर्ने कुरा हो। जनताले सबैकुराको हिसाब-किताब राखिरहेका छन्। यो मुलुकको सबैभन्दा ठुलो पार्टी एमाले रहेको सबैलाई अवगत नै छ। जस जसले गठबन्धन गरेपनि जित्ने हामी नै हाे। उनीहरु विचार, सिद्धान्त नमिल्नेहरुसंग काँध जोडिरहेका छन्। तर राष्ट्रभक्त्ति, अनुशासित पार्टी एमाले मात्र रहेकाले हुनाले मुलुकको समृद्धिका लागि काम गर्ने पार्टी एमाले नै हुन्छ। त्यसैले जनताले एमालेलाई बहुमत दिन्छन् र एमालेको सरकार बन्छ भन्ने कुरामा म ढुक्क छु।

अन्त्यमा, तपाईं आफ्ना मतदाताहरूलाई के भन्न चाहनुहुन्छ?

आउँदै गरेको मसिंर ४ को निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ एमालेका उम्मेरदवारलाई आफ्नो अमूल्य मत दिएर विजयी गराई दिनुहोस्, तपाईंहरुको मतको दुरुपयोग भन्ने अवस्था हामीले पार्ने छैनौँ। दलकै भएपनि नयाँ मान्छेलाई काम गर्ने मौका दिनुहोस्। युवालाई जिताउनुस्। मान्छे चिन्ने समय यही हो, यो सु-अवसर नगुमाउनसमेत अनुरोध गर्दछु। 

प्रकाशित मिति: : 2022-11-10 22:00:00

प्रतिकृया दिनुहोस्