मलाई चुनाव जित्न गाह्रो छैन : रीता न्यौपाने (अन्तर्वार्ता)

BreaknLinks
BreaknLinks

यतिखेर सबैतिर चुनावी शरगर्मी बढेको छ। उम्मेदवारहरुले आ-आफ्नो क्षेत्रमा चुनावी प्रचारलाई तीव्रता दिएका छन्। जनतामाझ विभिन्न आश्वासन बाँढिरहेका छन्। त्यतिमात्र नभएर पहिला जितेकोले गरेनन्, मलाई जिताउनुस्, म गर्छु भनेर भनिरहेका छन्।

यस्तै मोरङको क्षेत्र नं. ६ (१) मा पनि चुनावी प्रचारप्रसारले निर्वाचनको माहाेल तताइरहेको छ। सो क्षेत्रमा प्रदेशसभा सदस्यका लागि नेकपा(एमाले) की नेतृ रीता न्यौपाने र सत्ता गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का ज्वाइँ जीवन आचार्य मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन्।

२०७४ को निर्वाचनमा पराजित आचार्य योपटक जित निकाल्ने दाउमा छन् भने मोरङ जिल्लाबाट एकमात्र महिला उम्मेदवारको रुपमा रहेकी न्यौपाने पनि परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त छिन्। स्थानीय समस्या बुझेको र यो क्षेत्रको लागि नयाँ अनुहारसँगै महिला उम्मेदवार भएका कारण मतदाताले आफूलाई जिताउनेमा उनी ढुक्क छिन्। उनै न्यौपानेसँग चुनावी गतिविधिको बारेमा गरिएको कुराकानी प्रस्तुत छ :

चुनावी अभियान कसरी सञ्चालन भइरहेको छ?

चुनावी अभियान तीव्र गतिमा भइरहेको छ। प्रचारप्रसारलाई कन्जुस्याँइ नगरी अगाडि बढाइहेको अवस्था छ। हाम्रो ठाउँमा उम्मेदवार आएनन् भनेर मतदाताले गुनासो गर्ने ठाउँ नहोस् भनेर घरदैलो र भेटघाटलाई तीव्र पारेका छौं।

मतदाताको घरदैलोमा पुग्दा उनीहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ?

मतदाताको मिश्रित प्रतिक्रिया रहेको छ। कतिपय ‘चुनावमा भोट दिएर के गर्ने, जितेर गएपछि कोही फर्किएर आउने हैन’ भन्ने कुरा गर्छन् भने कोही जितेर गएपछि हामीलाई नबिर्सनु, हाम्रा समस्या बुझिदिनुस् भन्ने गर्दछन्। हामीलाई केही चाहिँदैन, हाम्रा साना-साना समस्या बुझिदिए हुन्छ भन्ने पनि छन्। हाम्रो प्रतिनिधि हो भन्ने आभास हामीलाई हुनुपर्याे भन्ने जनताको प्रतिक्रिया छ।

तपाईंको क्षेत्रका मतदाताको खास चाहना के छ?

म उम्मेदवार भएर मतदाताको घर-घरमा पुग्दा उनीहरुको खासै ठुलो चाहना मैले पाइनँ। उनीहरुको सबैभन्दा ठुलो चाहना भने आफूले चुनेर पठाएको नेता आफ्नो ठाउँमा आइरहोस्। गर्न सक्ने काम गरोस्। यदि गर्न सकेन भने के कारणले सकेन हामीलाई बुझाओस्। जनताको दुख, सुखको साथी बनोस्। आफ्नो जनप्रतिनिधिसँग छलफल, भेटघाट निरन्तर भइरहोस् भन्ने नै उनीहरुको मुख्य चाहना भएको पाएको छु।

तपाईंले चुनाव जित्ने आधार के हो?

चुनाव जित्ने आधार एक त पार्टी संगठन नै हो। दोस्रो, हिजो यस क्षेत्रमा एमालेका जनप्रतिनिधिले गरेको काम हो। नेकपाले इमान्दारीताका साथ काम गर्छ भन्ने मानसिकता मतदातामा रहेको मैले पाएको छु। अर्को, नयाँ अनुहारसँगै जिल्लाको एकमात्र महिला उम्मेदवार हुँ। त्यसपछि म पहुँचको राजनीति गरेको मान्छे हैन।

भूगोलमा रहेर राजनीति गरेको र आफ्नो क्षेत्रका मतदाताहरूको समस्या बुझेको मान्छे हुँ। आफ्नो जिन्दगी नै सामाजिक सेवामा समर्पित गर्ने उद्देश्यका साथ अघि बढेको छु। जितेर गएपछि पनि म जनताकै सेवा गर्ने हो। त्यसकारण पनि मतदाताको उत्साह मप्रति छ। मैले चुनाव जित्ने आधार यही हो।

एकातिर सत्ता गठबन्धन छ, अर्कोतिर एमाले एक्लै छ। यो अवस्थामा सजिलै चुनाव जितिन्छ त?

सत्ता गठबन्धन भएपनि जनलहर भने एमालेतिर छ। गठबन्धन नेताहरुको फाइदाको लागि भएको हो, हामी कार्यकर्ताको लागि हैन भन्ने मतदाताहरु हुनुहुन्छ। विचार, सिद्धान्त केही नमिल्नेलाई कसरी भोट दिनु भनेर जनता आफैंले भनिरहेको अवस्थामा गठबन्धनले असर गर्छ जस्तो मलाई लाग्दैन। त्यसमाथि को उम्मेदवार कस्तो छ भनेर मतदाताले बुझिसक्नुभएको कारणले पनि चुनाव जित्न गाह्रो हुँदैन।

आफ्नो प्रतिस्पर्धीलाई कुन रुपमा लिनुभएको छ?

म ३५ वर्षदेखि यही क्षेत्रमा रहेर काम गरिरहेको छु। म यही क्षेत्रको बाटोले चिनेको छोरी हुँ। उहाँ मेरो घर यही क्षेत्रमा हो भनिराख्नु भएको छ। तर, कहाँ छ कसैलाई थाहा छैन। उहाँ प्रचण्डको ज्वाइँ भएर यो क्षेत्रमा चुनाव लड्न आउनुभएको छ। अघिल्लो निर्वाचनमा पनि चुनाव लड्नुभएको हो। तर हार्नुभयो।

राजनीतिक व्यक्तित्व भएको भए हारेपनि यो क्षेत्रको विकासका लागि काम गर्नुहुन्थ्यो। उहाँ त चुनाव लड्न आउनुभयो, त्यसपछि फर्केर आउनुभएन। अहिले पनि म पहुँचमा छु। विकासका योजनाहरु धेरै ल्याउँछु भनिरहनुभएको छ। पहुँचमा हुनेले त पहिला पनि ल्याउन सक्नुपथ्र्यो नि त, खै त ? आएन। एउटा परिवारभित्र रहेर राजनीति गर्नेले यो क्षेत्रको विकास गर्न सक्दैनन् भन्ने कुरा मतदाताले बुझेका छन्।

प्रतिस्पर्धीलाई कमजोर त कहिल्यै ठान्नुहुँदैन। यदि उहाँले राजनीतिमा संघर्ष गरेर आउनुभएको भए मैले अर्कै रुपमा हेर्नुपर्थ्याे। तर, पहुँचको भरमा पदको लागि निर्वाचन लड्न आएकाले मैले डर मान्नुपर्ने अवस्था छैन। उहाँ यो पाँच वर्षको अवधिमा सरकारको तलबभत्ता खाएर बस्नुभएको व्यक्ति हो। प्रचण्डको नजिक रहेर तलबभत्ता खाइरहँदा यो क्षेत्रको जनताको लागि केही नगरेका कारण जनताले उहाँका झुटो आश्वासन पत्याउनु हुन्न। यसले गर्दा मलाई त्यति असहज हुन्छ जस्तो लाग्दैन।

चुनावको बेला उम्मेदवारहरुले एकअर्कालाई आरोप-प्रत्यारोप लगाउने प्रचलन बढेको छ, यो कत्तिको उचित हो?

म कसैलाई पनि गाली गर्नुहुँदैन भन्ने पक्षको मान्छे हुँ। मैले अहिलेसम्म मेरो प्रतिस्पर्धीलाई गाली गरेको छैन र गर्दिनँ पनि। मेरो प्रतिस्पर्धीले मलाई होच्याएर बोल्नुभयो। महिला भएर भोट माग्न आएको हैन, च्यातिएको लुगा देखाउन आएको हैन भनेरभन्दा मलाई नराम्रो अनुभव भयो। तर, मैले उहाँलाई केही भनिनँ। किनकि, उहाँको स्तरमा मलाई झर्नु छैन।

आफ्नो एजेण्डा राख्ने हो। आफूले त्यो ठाउँमा पुगेपछि गर्न सक्ने कामको बारेमा जनतालाई भन्ने हो। अरुलाई गाली गरेर ठुलो हाेइन्छ जस्तो नि मलाई लाग्दैन। घृणायुक्त अभिव्यक्तिप्रति म सचेत छु। र, कसैले के गर्यो/गरेन भन्ने कुरामा पनि म वास्ता राख्दिनँ। आफूले गरेका, गर्ने र गर्न सक्ने कामका बारेमा बोल्ने बानी मेरो छ। योभन्दा बाहिर म कहिले जाँदिन।

तपाईंका एजेण्डा के-के छन् ?

म मेरो पार्टी एमालेको एजेण्डालाई मध्यनजर गरेर काम गर्नेछु। पार्टीको प्रतिनिधिसभाका उम्मेदवारको एजेण्डालाई पनि मैले मध्यनजर गरेर काम गर्नेछु। योसँगै म प्रदेशसभा सदस्य भइरहँदा के गर्ने भनेर आफ्नो स्थानीय एजेण्डा अगाडि सारेको छु। मैले स्थानीयको समस्यालाई बुझेर आफ्नो एजेण्डा प्रस्तुत गरेको छु।

हाम्रो समाजमा अझै पनि छोरीलाई किन पढाउने भन्ने सोच हावी छ। यसकारण मैले 'छोरी पढाउ' अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछु। नीतिगतरुपमा अगाडि बढाउने सोच छ। युवा स्वरोजगार सृजना गरी युवार्लाइ विदेश पलायन हुनबाट रोक्ने दीर्घकालीन योजना बनाउनेछु।

महिलालाई आर्थिक एवं सामाजिक रुपमा अगाडि बढाउने नीति ल्याउनेछु। ज्येष्ठ नागरिक भवनसँगै ठाउँठाउँमा जमघट हुने ठाउ निर्माण गर्नेछु। बालबालिकाको मनोरञ्जनका लागि चिल्ड्रेन पार्क बनाउन पहल गर्नेछु। महिलालाई विना झन्झट निःशुल्क सेनेटरी प्याड वितरणमा सहजीकरण गर्नेछु। अपाङ्गमैत्री सौचालय निर्माणमा जोड दिनेछु।

अझै पनि धेरै महिलाहरुले प्रसूतिको समयमा रगत अभावमा ज्यान गुमाइरहेका छन्। रगत अभावमा कुनै महिलाले ज्यान गुमाउनु नपरोस् र पैसा अभावमा रगत नपाउने परिस्थिति नहोस् भन्ने उद्देश्यले प्रसूति समयमा निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गर्नेछु। क्षेत्रको प्रत्येक वडामा खुल्ला व्यायमशालाको व्यवस्था गर्नेछु। निर्वाचित भइसकेपछि स्थानीयको समस्या उनीहरुसँग नै बसेर छलफल गरेर आवश्यकता अनुसार पूरा गर्ने कोशिश गर्नेछु।

प्रकाशित मिति: : 2022-11-12 14:13:00

प्रतिकृया दिनुहोस्