मोरङ–२ : एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा

BreaknLinks
BreaknLinks

नेपाली कांग्रेसको आधार क्षेत्र मानिएको मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमाले र सत्ता गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस र एमाले तथा प्रदेश ‘क’मा माओवादी केन्द्र र एमालेको भिडन्त हुँदा प्रदेश ‘ख’मा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।

यो क्षेत्र कांग्रेसका तत्कालीन नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चुनाव जित्दै आएको क्षेत्र हो। अहिले यो क्षेत्रबाट उनै गिरिजाप्रसाद कोइरालापुत्री सुजता कोइराला सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार छिन्। उनलाई नेकपा एमालेका मोरङ जिल्ला अध्यक्षसमेत रहेका ऋषिकेश पोखरेलले चुनौती दिँदै छन्।

लगातार तीनपटक गिरिजाप्रसाद कोइरालाल र दुईपटक आमोदप्रसाद उपाध्यायले चुनाव जित्दै आएको यो क्षेत्रमा २०७० को संविधान सभाको निर्वाचनमा ऋषिकेश पोखरेल विजयी भएका थिए। पोखरेलले उपाध्यायलाई ३५८ मतले पराजित गर्दै विजयी भएका थिए।

०७० मा कांग्रेसलाई हराएका पोखरेल २०७४ को निर्वाचनमा माओवादीको सहयोग रहँदासमेत पराजित भए। २०७४ मा यो क्षेत्रबाट कांग्रेसका डा. मिनेन्द्र रिजाल विजयी भए।

यसपटक स्थानीयस्तरमा लोकप्रिय रहेका पोखरेल र बाबुको साख जोगाउन मैदानमा उत्रिएकी कोइरालाबीचको प्रतिस्पर्धा कडा हुने स्थानीयको बुझाइ छ। प्रतिनिधिसभामा पोखरेल र कोइरालासहित १३ जना उम्मेदवार मैदानमा भए पनि उनीहरुले खासै प्रभाव नराख्ने मतदाताहरुको बुझाइ छ।

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु यतिबेला भोट माग्न व्यस्त छन्। उम्मेदवारहरु आ-आफ्नो एजेण्डासहित मतदातामाझ पुगिरहेका छन्। पोखरेल आफू संविधान सभा सदस्य हुँदा थालेका कामको निरन्तरता दिन र स्थानीय समस्या बुझेको उम्मेदवार रहेको बताउँदै भोट मागिरहेका छन्।

यता, सुजता कोइराला आफ्ना बाबुले थालेका अधुरा कामको सम्मन्न गर्न आफूले जित्नुपर्ने दावी गर्छिन्। स्वतन्त्रसहित अन्य उम्मेदवार पनि विभिन्न एजेण्डाका साथ चुनावमा होमिएका छन्।

मोरङ क्षेत्र नम्बर दुईमा १ लाख २४ हजार सात सय २९ मतदाता छन्। यो क्षेत्रमा रतुवामाई र सुनवर्षी नगरपालिकासहित रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, कानेपोखरी गाउँपालिकाको वडा नं १, २ र ३  र पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ पर्छ। यो क्षेत्रमा २९ वटा वडा छन्।

गत स्थानीय तहको निर्वाचनमा रतुवामाईको प्रमुखबाहेक अन्य सबै पालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ। रतुवामाईको प्रमुख कांग्रेसले जित्दा उपप्रमुख भने एमालेले जितेको छ।

सामाजिक आवश्यकता बुझेको नेतृत्वको आवश्यक छ : पोखरेल

मोरङको क्षेत्र नम्बर–२ मा ३० वर्षदेखि मुलुकाका प्रधानमन्त्रीदेखि मन्त्रीहरुले नेतृत्व गरेको क्षेत्र भएपनि आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक कुनै क्षेत्रमा विकास नभएको उनको तर्क छ। समाज बदल्नका लागि सामाजिक आवश्यकता बुझेको नेतृत्व चाहिएको पोखरेल बताउँछन्।

पोखरेल भूमिहिन सुकुम्बासीको समस्या समाधानदेखि प्राविधिक शिक्षा, कुषि, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारलगायतका एजेण्डा लिएर भोट मागिरहेका छन्।

झापासँग सीमाना रहेको रतुवा खोला, बीचमा पर्ने बक्राहा, पश्चिममा चिसाङ र लोहन्द्रा खोलाले घेरिएको यो क्षेत्रको मुख्य समस्या नदी कटान र डुबान रहेको भन्दै खोलाको कटान र डुबान नियन्त्रण गर्ने पोखरेलको एजेण्डा छ। रतुवा खोला र बक्राहाको बाढी नियन्त्रण गर्न आफ्नै पहलमा मदन भण्डारी र जिपी मार्गको अवधारण ल्याएको उनको दावी छ।

कृषि उत्पादनमा जोड दिँदै किसानलाई चाहिएको समयमा मल उपलब्ध गराउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पोखरेलले बताए। स्थानीय व्यक्तिले मात्र स्थानीयको समस्या हल गर्न सक्ने बताउँदै उनले आफू हरेक दुख-सुखमा मतदाताको सारथी बन्न सक्ने बताए। आफू गाउँकै व्यक्ति भएका कारण जनताको समस्या बुझेको उनले बताए।

बाबुले छाडेका काम पूरा गर्छु : कोइराला

आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले अधुरा छाडेका कामहरुलाई आफूले पूरा गर्ने सुजता कोइरालाको भनाइ छ। ‘गिरिजा बाबुले जुन कामहरु अधुरो छाडेर जानुभएको छ, त्यो कामलाई म पूरा गराउँछु’, कोइरालाले भनिन्, ‘त्यो सबै अधुरा कामहरु पूरा गराउन मेरो पूर्ण कोशिस हुनेछ।’

आफ्नो निर्वाचन क्षेत्रमा अत्याधिक गरिबीको समस्या भएको र त्यसको समाधान गर्न योजना बनाएको उनले बताइन्। २१औँ शताब्दीमा पनि अत्याधिक गरिबी हुनु मुलुक र राजनीतिज्ञहरुका लागि लज्जास्पद भएको उनको बुझाइ छ।

‘यो क्षेत्रमा गरिबी अत्याधिक छ, २१औँ शताब्दीमा पनि यस्तो गरिबी हुनु लज्जास्पद हो, मुलुक र राजनीतिज्ञहरुका लागि’, उनले थपिन्, ‘गरिबी निवारणको बृहत योजना लिएर म आउनेछु।’

कृषिलाई लक्षित गरेर जनताको जीवनस्तार सुधार गर्ने कोइरालाको एजेण्डा छ। यस्तै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयमा पनि आफूले काम गर्ने उनको भनाइ छ।

गिरिजाप्रसाद कोइरालाले पूर्वाधार विकासका लागि यो क्षेत्रमा उल्लेख्य काम गरेको उनको बुझाइ छ।

मतदाताको चिन्ता : मल र बाढी

खेतमा बाली लगाउने समयमा सजिलोसँग मल नपाइने रतुवामाई–९ की मिरा पौडेलले गुनासो गरिन्। केही वर्षयता उनले धानबाली र अन्य हिउँदे बाली लगाउँदा समयमा मल पाएकी छैनन्। उनी किसानको समस्या हल गर्ने नेतालाई भोट दिने पक्षमा छिन्।

‘चाहिएको समयमा हामीले कहिल्यै मल पाएका छैनौँ, अलिअलि आएको मल पनि ठुलाबडाले लैजान्छन्, पाइहालियो भने पनि घण्टौँ लाइनमा बस्नुपर्छ’, उनले भनिन्, ‘किसानको समस्या बुझेको र हामीलाई अप्ठ्यारो पर्दा हेर्ने, गर्ने नेतालाई भोट हाल्छौँ।’

रतुवा र बक्राहाबाट पीडित बन्दै आएकाहरु खोलाको दीर्घकालीन समस्या समाधानको काम गर्न चाहने उम्मेदवारलाई भोट हाल्ने बताउँछन्। बक्राहा खोलामा ठुलो बाढी आउनसाथ डराउनुपर्ने अवस्थामा रहेका लेटीबासी यो पटक स्थानीयको समस्या बुझेको र उक्त समस्याको आफैँ सामना गरेको नेतालाई भोट हाल्ने बताउँछन्।

स्थानीय किसानको समस्या बुझेको र खोजेको बेला गाउँमा भेटिने उम्मेदवारलाई भोट दिने रतुवामाई किसान टिका यादवले बताए। ‘हाम्रो दुःखका बारेमा नेतालाई पाँच वर्षसम्म कुनै वास्ता हुँदैन। अहिले गाउँका चिया पसलमा आएर त्यो नेता र यो नेता भन्दै छलफल गरेको सुन्छु’, उनको गुनासो छ, ‘हामीजस्ता गरिब जनतालाई हेर्ने नेता कोही भएनन्।’

उनी यसपालि पाका र यसअघि जितिसकेका नेतालाई मत नदिने बताउँछन्। ‘हाम्रो क्षेत्रको विकास गर्ने, किसान, मजदुरको समस्या बुझ्ने नेता हामीलाई चाहिएको छ’, यादवले भने।

मत खेर नजाओस् भन्ने पक्षमा नयाँ मतदाता

यहाँका अधिकांश नयाँ मतदाता जीवनमा पहिलो पटक आफूले हालेको मत खेर नजाहोस् भन्ने अपेक्षा गरिरहेका छन्। ‘जीवनमा पहिलो पटक निर्वाचनमा सहभागी हुँदैछु, कस्तो होला? के होला? भन्ने हुटहुटी जागेके छ’, प्रज्जवल भण्डारीले भने, ‘आफूले हालेको पहिलो भोट खेर नजाहोस् भन्ने लागिरहेको छ।’

आफूले पहिलो पटक गरेको मतदान खेर नजाओस् भन्ने अपेक्षा गरेको अजय चौधरीले बताए। गाउँमा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सिर्जना हुनेगरी काम गर्नसक्ने र जनताको समस्या समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने चाहना भएको उनको भनाइ छ। विकास गर्ने भिजन भएको, सक्षम र इमान्दार उम्मेदवारलाई मतदान गर्ने यादवले बताए।

प्रकाशित मिति: : 2022-11-13 21:50:00

प्रतिकृया दिनुहोस्