
नेपालमा जुनसुकै मौसममा पनि वायु प्रदूषणको जोखिम रहने गर्छ।
जाडोको समयमा तुवाँलो, चैत–बैशाखमा धुँवा धुलो र वर्खायाममा बाढीका कारण वायु प्रदूषणको जोखिम कायमै छ।
हालै विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार वायु प्रदूषणकै कारण नेपालमा मानिसको मृत्यदर बढी रहेको छ।
प्रतिवेदनले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठूलो जोखिमको कारण भएको देखाएको हो।
‘काठमाडौं उपत्यका र तराई नेपालको वायु प्रदूषणका लागि हटस्पट हुन, जसमा विगत एक दशकमा कुनै उल्लेखनीय सुधार भएको छैन्।
वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउँछ र वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु निम्त्याउँछ,’ प्रतिबेदनमा भनिएको छ।
वायु प्रदूषण नियन्त्रणका लागि क्षेत्रीय र बहु–क्षेत्रीय स्तरबाट प्रयासहरु हुन जरुरी रहेको प्रतिबेदनमा उल्लेख छ।
वायु प्रदूषणलाई सम्बोधन गर्न कार, मोटरसाइकल, बस र ट्रकलगायत सवारी साधनलाई विद्युतीकरण गर्न आवश्यक रहेको र सवारी साधन निरीक्षण एवम मर्मत प्रणालीलाई सुदृढ पार्दै सडकको धुलो घटाउनुपर्नेमा विश्व बैंकले जोड दिएको छ।
तर वायु प्रदूषण नियन्त्रणमा सरकारको पर्याप्त तयारी छैन्। मानव स्वास्थ्यमा नै प्रतिकूल असर परिरहेका बेला सरकारी तयारी फितलो भएको गुनासो बढ्दो छ।
चिकित्सकहरूका अनुसार वायुप्रदूषणले मुख्यतः छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण बढाउने गरेको छ साथै आँखा र छालासम्बन्धी समस्याहरू पनि निम्तिन सक्ने अनुमान गरिन्छ।
यस्ता मानव स्वास्थ्य सम्बन्धि जोखिमका कारण मृत्युदर बढिरहेको प्रतिवेदनहरु सार्वजनिक हुने गरेका छन्।
वातावरणविद् भुषण तुलाधरले वायु प्रदूषणले नेपालीहरुको औसत आयु घट्दै गइरहेको बताएका छन्।
उनले नेपालमा वायु प्रदूषणको प्रमुख स्थान भनेको घरको भान्सा रहेको बताए।
उनले मनसुनको समयमा वायु प्रदूषण घट्छ र पानीको मात्रा बढ्ने सम्भावना भएकाले हैंजा, झाडापखाला जस्ता रोगहरु लाग्ने सम्भावना रहेको बताएका छन्।
उनले यो मनसुनमा चाँहि पानीको प्रदूषण र विपत्तीका घटनाहरुले गर्दा जोखिम बढ्ने गरेको बताए।
उनले भने ‘मनसुन भएकाले वायु प्रदूषण केही कम हुन्छ। किनभने पानीले मौसम सफा बनाउँछ। यद्यपी, केही ठाउँमा प्रदूषण कायम नै छ। नेपालमा सबैभन्दा बढी प्रदूषित ठाँउ कुन हो भनेर खोज्ने हो भने, नेपालको आधाजति घरको भान्छाहरु नै हुन्। हरेक समयमा दाउरा, गुइँठा प्रयोग गर्ने गरेका छन्। त्यसले प्रदूषण बढाइरहेको छ। मनसुनको समयमा वायु प्रदूषण घट्छ र पानीको मात्रा बढ्ने सम्भावना हुन्छ। जसले गर्दा हैंजा, झाडापखाला जस्ता रोगहरु लाग्न सक्छन्। प्राकृतिक प्रकोपका कारणपनि रोगहरु आउन सक्ने सम्भावना हुन्छ। त्यसैले यो मनसुनमा चाँहि पानीको प्रदूषण र विपत्तीका घटनाहरुले गर्दा जोखिम बढ्ने गर्छ।’
उनले विश्वव्यापी रुपमा नै प्रदूषण नै मानिसको जनस्वास्थ्यको सबैभन्दा प्रमुख चुनौति रहेको बताउँदै नेपालमा वायु प्रदूषण प्रमुख समस्याको रुपमा आइसकेको दाबी गरे।
‘मौसम अनुसारको वायु प्रदूषणले मानिसको स्वास्थ्यमा एकदमै ठूलो जोखिम बढ्ने गरेको छ। विश्वव्यापी रुपमा नै मानिसको जनस्वास्थ्यको सबैभन्दा प्रमुख चुनौति भनेर भनिएको छ। विश्व स्वास्थ्य संगठनले नै मानिस मृत्युको प्रमुख कारण प्रदूषण हुने गरेको भनेको छन्,’ उनले भने।
विश्व बैंकको प्रतिवेदनले औंल्याएका विषय यथार्थ रहेको बताउँदै उनले सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्नुका साथै कृषि गर्दा आउने अवशेषहरुलाई ध्यान दिनुपर्ने उनले बताएका छन्।
विश्व बैंकले प्रतिवेदनले देखाए अनुसार हामी एकदमै धेरै गम्भीर हुन आवश्यक रहेको उनले जानकारी दिए।
उनले वायु प्रदूषणले स्वास्थ्यमा मात्र होइन अर्थतन्त्रमा पनि गम्भीर असर पार्ने प्रति ध्यानाकर्षण गराए।
‘विश्व बैंकले निकालेको अध्ययन प्रतिवेदन सही छ। अरु अरु प्रतिवेदनले पनि त्यस्तै रिपोर्टहरु निकालेको छ। काठमाडौ उपत्यका, जहाँ स्रोत–साधनका मात्रा बढी भएकाले प्रदूषण बढी छ। उपत्यका भएकाले पनि त्यो प्रदूषण गुम्सिएर बसेको हुन्छ। तराईमा पनि प्रदूषणको स्रोतहरु धेरै छन्। बाहिरबाट सँगै आएका सवारी साधनहरुले पनि धेरै असर गरेको छ। खेती गर्दा जुन अवशेषहरु आउँछन् त्यसलाई जलाउने गरिएकाले पनि त्यहाँ बढी प्रदूषण हुने गरेको छ। विश्व बैंकले जुन ३.४ बर्षले औसत घटाउँछ भन्ने प्रतिवेदन निकालेको छ त्यो सही छ। त्यसलाई गम्भीरतापूर्वक लिन जरुरी छ,’ उनले भने।
उनले प्रदुषणका कारण बालबालिकाको मस्तिष्कमा समेत गम्भीर असर गरेको बताए।
उनले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राख्यो भने प्रदूषण कम हुने दाबी गरे।
‘बालबालिकाको मस्तिकमा समेत गम्भीर असर पर्छ। त्यसले गर्दा बालबालिकाको मस्तिष्कमा गहिरो असर परेर पढ्न नसक्ने समेत हुन्छ। पर्यटन क्षेत्रमा असर गर्ने हुँदा अर्थतन्त्र पनि घट्छ। सबैभन्दा पहिला हामीले बुझनुपर्ने के हो भने विश्वका प्रदूषित सहरहरुमध्ये सबैभन्दा धेरै प्रदूषित सहरमा पर्छौ। त्यसलाई बुझेर त्यसको समस्याको समाधान खोज्ने हो भनेदेखि सबै मिल्दै जान्छ। जस्तै विद्युतीय गाडीको प्रयोग गर्ने, इट्टाभट्टहरुमा कोइलाको ठाँउमा वायु प्यालेटहरु प्रयोग गर्ने गरियो भने वायु प्रदूषण कम हुन सक्छ,’उनले भने।
सरकारले प्रदूषणलाई विशेष प्रथामिकतामा राख्नुपर्ने र योजनाबद्ध तवरले योजना बनाएर अघि बढ्नपर्ने बताएका छन्।
उनले सरकारसँग जनताबाट उठाएको प्रशस्त पैसा छ तर त्यो खर्च गर्न नसकेको बताए।
यता, वन तथा वातावरण विभागका वातावरण निरीक्षक प्रकाश केसीले वायु प्रदूषणको चाप प्रि–मनसुन अथवा चैत–बैशाख हुने गरेको औंल्याए।
उनले अन्तर्राष्ट्रिय तवरबाट प्रदूषणलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
सहरी क्षेत्रमा जनसंख्या बढी हुने भएकाले अलि बढी व्यवस्थापन गर्नुपर्ने देखिएको भन्दै स्थानीय तहदेखि नै यसलाई महत्व दिनुपर्ने उनले बताए।
सरकारले पनि राष्ट्रिय स्तरमा नै योजना बनाएर अघि बढ्नुपर्ने भएकाले वायु प्रदूषण न्यूनिकरण गर्न लागेको समेत बताए।
सवारी र उद्योगबाट हुने प्रदूषण निरन्तर नै रहेको भएता पनि मनसुनको समयमा फायरिङ्ग इभेन्ट कम हुने भएकाले प्रदूषण अलि कम हुने बताए।
उनले अहिलेको समयमा घरैबाट निस्कने फोहोरहरु धेरै रहेको औंल्याउँदै वायु प्रदूषण बढ्दै गयो भने जुनसुकै मौसममा पनि स्वास्थ्यमा असर गर्ने उनले बताए।
उनले भने ‘मनसुनका बेला वायु प्रदूषणको हिसाबले मौसम सफा रहन्छ। पानीले प्रदूषणलाई पखाल्ने काम गर्छ। सवारीबाट हुने उद्योगबाट हुने निरन्तर नै छ त्यो बाहेक मनसुनको समयमा फायरिङ्ग इभेन्ट कम हुने भएकालेपनि प्रदूषण अलि कम हुन्छ। यो बेला भनेको घरैबाट निस्कने फोहेरहरु मात्र हो। तर पानीले प्रदूषण पखाल्ने भएकाले मौसम सफा रहन्छ। वायु प्रदूषण बढ्दैगयो भने नेपालमा जुनसुकै मौसममा पनि स्वास्थ्यमा असर गर्छ। स्वासप्रश्वासमा अलि बढी असर गर्छ। तर जुनसुकै मौसम स्वास्थ्यका लागि जोखिमपूर्ण नै छ।’
सहरी क्षेत्रमा जनसंख्या बढी हुने भएकाले वायु प्रदूषणको अवस्थामा बढी व्यवस्थित गर्न पर्ने देखिन्छ र स्थानीय तहमा पनि व्यवस्थापन गर्नपर्ने उनको तर्क छ।
सरकारले राष्ट्रिय स्तरमा नै योजना बनाएर अघि बढिरहेकाले वायु प्रदूषण विस्तारै न्यूनीकरण हुँदै जाने बताए।
आगलागी र कृषिजन्य अवशेषलाई व्यवस्थापन गर्न लागिरहेको उनले बताए।
‘घरभित्रबाट निस्कने प्रदूषणलाइ रोक्न सुधारिएको चुलोको व्यवस्था गर्न वातावरण विभाग नलागेपनि सरकारका अरु युनिटले काम गरिरहेका छन्,’ उनले भने।
उनले यस बर्ष प्रदूषण कम गर्न प्रधानमन्त्री तहदेखि नै सक्रियता जनाएकाले विश्व बैंकको प्रतिवेदनका आधारमा अघि बढ्ने बताए।
तर विभागले बर्षौंअघि सार्वजनिक गरेको प्रतिवेदनप्रति वेवास्ता भएको उनको गुनासो छ।
‘विश्व बैंकले ल्याएको तथ्यांक विश्व स्वास्थ्य संगठनले हेर्छ। प्रदुषणका कारण स्वास प्र्रस्वासमात्र नभइ हृदयघात हुने, आयु घट्ने जस्तो समस्या पनि आउँछ। बच्चा, बुढा, गर्भवती महिला शारीरिक रुपमा कमजोरहरुलाई छिटो असर गर्छ,’ उनले अगाडि भने,‘बच्चाको आमाले भान्छामा बस्दा बिषेश ध्यान दिनुपर्छ। प्रदूषण न्यूनिकरणको लागि टोक्नोलोजिहरुलाई बढी प्रथामिकता दिनुपर्छ।’
उनले नेपालको वायु प्रदूषणको व्यवस्थापनका लागि कार्ययोजना बनाएर त्यसमा लगानी गर्नुपर्ने बताए।
१ .
२ .
३ .
४ .
५ .