माओवादीप्रति राेल्पाली जनता रुष्ट छन् : नातीभाइ ह्योम्बा (भिडियाे)

नातीभाइ ह्योम्बा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) काे तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट चुनावी प्रतिस्पर्धामा छन्। भक्तपुरमा जन्मिएका उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा हाेमिएका हुन्।

२०३९ सालदेखि पार्टीमा आवद्ध भएर २०५४ सालमा भक्तपुर नगरपालिकाको प्रत्यक्ष निर्वाचित वडा सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी इँटा व्यवसायमा संलग्न छन् भने इँटा व्यवसायी सङ्घको अध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

उनले एमसीसी र नागरिकता विधेयकविरुद्धको नेमकिपाको आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। देशको सार्वभौमिकता नै खतरामा पर्ने कदमविरुद्ध नागरिक जागे त्यसलाई खारेज गराउन सकिन्छ भन्ने विश्वासका साथ उनी आन्दोलनमा सक्रिय देखिन्छन्।

आफ्नो पार्टीको सिद्धान्त, विचार र एजेण्डाहरू जनतालाई बुझाउँदै/सनाउँदै आफ्नो पक्षमा मत तान्न जोडतोडका साथ   लागिरहेका उनै नातीभाइसंग आम निर्वाचनमा केन्द्रित रहेर बिएल नेपाली सेवाका लागि ध्रुव बस्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:

तपाईं चुनाव लड्नकाे लागि राेल्पा नै किन जानुभयाे ?

नेपाल मजदुर किसान पार्टीले ५१ वटा क्षेत्रमा आफ्ना उम्मेदवारहरू उठाएको छ। हाम्रो संगठन भएको ती ठाउँहरूमा त्यहीँका मान्छेलाई उम्मेदवार बनाएकाे छ तर रोल्पामा हाम्रो संगठन त्यति राम्रो छैन, त्यसैले पार्टीले मलाई राेल्पाकाे जिम्मेवारी दियो।

किनभने, म व्यवसायले इँटा उद्योगमा काम गर्छु र मेरो उद्योगमा काम गर्ने प्राय रोल्पाली जनता नै छन्। रोल्पाका जनतासंग म धेरै कुराले नजिक छु। उहाँहरुको जनजीविकाको सवालमा र रोल्पाको समस्यालाई नजिकबाट बुझेको हुनाले मलाई पार्टीले रोल्पाकाे जिम्मा दियो। त्यसैले नै मैले रोल्पाबाट उम्मेदवारी दिएकाे हुँ।

भक्त्तपुरको मान्छे रोल्पामा जाँदा जनताले पत्याउलान् त?

नपत्याउलान् भन्ने पनि होला र? अहिलेको अवस्थामा नेमकिपालाई नै पत्याउने देखिन्छ। किनभने, राष्ट्रियताको सवालमा जनताको विश्वास लिएर जनतालाई सरकारमा गएका पार्टीहरूले जुन प्रकारले दुख दिएका छन्, यसले गर्दा रोल्पाका जनताहरुले सुखको साससमेत फेर्न पाएका छैनन्।

परिर्वतनको सपना बोकेर आन्दोलनमा होमिएका लाखौँ जनताले दुख पाए, हजारौँ मान्छे सहिद बन्न बाध्य भए। विगतमा दलहरूले जुन सपना देखाएर आन्दोलनमा जोडेका थिए, त्यो वर्तमानमा नेताहरुले देखाइसकेका छन्। उनीहरूले काम नगरेकै कारण अब यसको विकल्पमा हाम्रो पार्टी रहेको छ। जनताले धेरै विश्वास गरेका छन्, यो निर्वाचनमा नेपाल मजदुर किसानन पार्टीका उम्मेदवारले अत्यधिक मतले जित्छन् भन्नेमा हामी ढुक्क छौँ।

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन बलिया उम्मेदवार हुन्, एमाले पनि बलियो नै देखिन्छ। यस्ताे अवस्थामा तपाईंको जित त कल्पना मात्रै त हाला नि हैन?

त्यतिसम्म पनि नहोला तर चुनाव जित्ने नै कल्पनाले हो। सपना नदेखेर कुनै कुरामा सफल हुन सकिँदैन। मैले जितको कल्पना गरिसकेको छु। किनभने, रोल्पाको जनताले उहाँहरुलाई पटक-पटक झेलिसक्नु भएको छ।

माओवादी, एमालेलगायतका पार्टीले सरकारमा गएर गरेको कामप्रति जनता निकै रुष्ट छन्। त्यसकारण रोल्पामा नेमकिपाका उम्मेदवारलाई अत्याधिक बहुमतले विजय गराउँछन्। चुनाव जित्नेमा ढुक्क छु।

हजाराैँ राल्पालीलाई इँटाभट्टामा राेजगारी दिनुभएकाे छ, उनीहरुले नै भोट हाल्छन् भन्ने अपेक्षाले राेल्पाबाट उम्मेदवारी दिनुभएकाे होला हैन त?

हैन। रोल्पाली जनतासँग मेरो धेरै संगत, भेटघाट अनि चिनजान छ। उहाँहरुलाई थाहा छ कि मेरो इँटा व्यवसाय छ। रोल्पाली जनताहरुले मेरो इँटाभट्टामा काम पाउने आशा पनि गर्नुभएको छ। तर, उहाँहरूसंग मेलै यसरी मत त मागेको छैन। जो आए पनि मेरो इँटाभट्टामा रोजगार दिन तयार छु।

२०५२ सालदेखि म रोल्पाली जनतासंग जोडिएको छु। वर्षकाे ६ महिना त रोल्पाका जनतासंगै रहन्छु र मेरो रोल्पाली जनतासँग राम्रो सम्बन्ध छ। त्यस कारणले पनि मेलै रोल्पाबाट उम्मेदवारी दिएको हुँ। मलाई पूर्ण विश्वास छ, रोल्पाका जनताहरुले मलाई मतदान गर्छन्।

तपाईं त रोल्पामा नयाँ अनुहार हो, केही गरी चुनाव जितिहाल्नुभयो भने रोल्पाका लागि के गर्नुहुन्छ?

सबैभन्दा पहिले त समानुपातिकता देशभर कायम गर्ने हाम्रो पार्टीको मुख्य एजेण्डा नै हो। देशको राजधानी काठमाडौँलगायत उपत्यकाका जनताले जुन प्रकारका सेवा सुविधा पाएका छन्, त्यस्तो सेवा देशभरका जनताले पाउनुपर्छ। शिक्षा, स्वास्थ्य निशुल्क पाउनुपर्छ भन्ने मेराे माग हाे।

अहिले भक्त्तपुर मोडेल भन्ने कुरा आइरहेका छ, त्यस्तै समाजवादी व्यवस्था निमार्ण र समाजवादी नमुना भक्त्तपुरबाट सुरु भइसकेको छ। त्यो कुरा रोल्पामा पनि लागु गर्नेछु। शिक्षा, स्वास्थ्य, यातायात, र रोजगारीको व्यवस्था गर्ने छु। रोल्पाली जनताका लागि रोल्पामै उद्योग सञ्चालन गरेर रोजगार सिर्जना गर्ने, सामाजिक, आर्थिकलगायतका विकासमा म प्रतिबद्ध रहने छु।

तपाईं चुनावी मैदानमा उत्रिने आधार र एजेण्डा के हो?

म रोल्पाको विभिन्न गाउँ-गाउँमा पुगिसकेको छु। रोल्पाका हरेक पालिका तथा वडाहरुमा पुग्दा नेमकिपा भर्खरै मात्र आउनुभएछ भन्दै भव्य स्वागत भइरहेको छ। उहाँहरुले सकारात्मक सल्लाहसहित मतदान गर्ने बताउनुभएको छ। भक्त्तपुर जस्तै रोल्पा पनि बनाउन सल्लाह दिनुभएको छ।

त्यस्तै चुनावी एजेण्डा भनेको मेरो व्यक्त्तिगत एजेण्डा हैन, नेमकिपाको एजेण्डा नै मेरो एजेण्डा हो। एमसीसी, नगरिकता विधेयक, एसपीपीलगायतका राष्ट्रघाती एजेण्डा हो भन्दै आवाज उठाइरहेका छौँ। त्यस्तै नेमकिपाको घोषणापत्र नै सबैको समान घोषणापत्र हो। घोषणापत्रअनुसार काम गर्ने छु।

रोल्पाको सबै गाउँले मलाई चिनेको छैन तर मैले रोल्पालाई चिनेको छु। रोल्पाका समस्या बुझेको छु। रोल्पाका जनतालाई दिएको रोजगार, शिक्षा, हस्पिटलमा गरेको उपचारलगायत मैले रोल्पालाई भक्त्तपुरबाट गरेको योगदान नै मेरो चुनाव जित्ने आधार र एजेण्डा हुन्।

निर्वाचन महँगो भइसक्यो। चुनाव जित्न करोडौं खर्च गर्नुपर्छ, तपाईले कत्तिकाे खर्च गर्दै हुनुहुन्छ?

हाम्रो पार्टीले भोज-भतेर गर्ने पैसा बाँड्ने काम गर्दैन। हामीलाई केन्द्रीय समितिले निर्वाचन खर्च भनेर दिएको हुन्छ, त्यो पैसा चुनाव प्रचारमा खर्च हुन्छ। पर्चा बाँड्ने र सामान्य खाना-खाजा तथा यातायात खर्च हुन्छ। अरुको जस्तो तडकभडक हुँदैन। भोज-भतेर गर्ने पैसा बाँड्ने शून्य हुन्छ। मेरो प्रतिस्पर्धा भनेको राष्ट्रघातीहरुसंग हो। त्यसैले पैसा हैन, विचारको खर्च हुनेछ।

अन्त्यमा, आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ?

नेपाल मजदुर किसान पार्टीको घोषणापत्र एक पटक अध्ययन गर्नुस्। हामीले भक्त्तपुरमा ०४२ सालदेखि गरेको काम र खोपो विश्वविद्यालय बनाउने पटक-पटक मुद्धा उठाएका छौँ। नेपालभरका जनताले १५ लाखमै डक्टर पढ्न पाउने र सर्वसाधारण मान्छेहरुले पनि सहज, सरल रुपमा एमबीबीएस पढ्न पाउने व्यवस्था गर्ने नेमकिपाको एजेण्डा रहेको छ।

तपाईंहरूले आफ्नो मताधिकार सुनिश्चित गर्नुस् र नेपालमा समाजवादी व्यवस्था स्थापना गरौँ। हाम्रो घोषणापत्रमा लेखिएको कुरा लागु गर्नका लागि मादल चिन्हमा मतदान गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।

प्रकाशित मिति: : 2022-11-14 22:10:00

प्रतिकृया दिनुहोस्