काठमाडाैँमा ‘घण्टी’ गुञ्जिँदा एमाले निरीह, माओवादी पत्तासाप !

BreaknLinks
BreaknLinks

प्रदेश तथा प्रतिनिधि सभा सदस्यकाे लागि भएकाे निर्वाचनकाे मतगणना जारी छ। देशका धेरै क्षेत्रहरुकाे मत गणनासमेत सम्पन्न भएकाे छ। यही लहरमा नयाँ तथा स्वतन्त्र उम्मेदवारहरुकाे विजयले नयाँ उल्लास छाइरहेकाे छ।

यस पटककाे निर्वाचनमा जे सोचिएको थियो त्यो भने भएको देखिँदैन। सोचेको भन्दा धेरै नयाँ अनुहारले निर्वाचन जितेकाे र अग्रता लिएकाेले पनि निर्वाचन राेचक बन्दै गएकाे छ। पुराना राजनीतिक दल तथा शीर्ष नेताले समेत यो निर्वाचन अनपेक्षित पराजय भाेग्नु परेकाे छ।

राजधानी काठमाडौंमा प्रतिनिधि सभाका लागि १० वटा क्षेत्र रहेका छन्। यी क्षेत्र विभिन्न तहबाट महत्वपूर्ण रुपमा हेरिएको छ। यी क्षेत्रका अधिकांश क्षेत्रमा युवा उम्मेदवारले विजयी हासिल गरेका छन्।

२०७४ को निर्वाचनभन्दा यसपटक निकै फरक मत परिणाम आएकाे छ। पटक–पटक यहाँका निर्वाचन क्षेत्रमा राज गरिरहेका उम्मेदवारसमेत ‘पत्तासाफ’ भएका छन्। कारण, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकाे कायापलट।

राष्ट्रिय स्वतन्त्र पार्टी उदाउँदा नेकपा (एमाले)लाई ठुलो धक्का पुगेको छ। नेपाली कांग्रेसले एक सिट बढाएको छ भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरु चुनावी प्रतिस्पर्धामा आए पनि एक ठाउँमा जित्न नसकेर काठमाडौँबाट पत्तासाफ भएका छन्।

२०७४ सालको निर्वाचनमा काठमाडौंका ६ वटामा एमाले विजयी भएको थियो। बाँकी ४ निर्वाचन क्षेत्रमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए। यसपटक भने नतिजा उल्टिएको छ। एमालेले आफ्नो क्षेत्र गुमाएको छ। भने, अन्य दलहरुमा नैरास्यता छाएको छ।

गत निर्वाचनमा क्षेत्र नं. २, ३, ५, ७, ८ र ९ मा एमाले विजयी भएको थियो। क्षेत्र नं. २ मा माधवकुमार नेपाल, क्षेत्र नं. ३ मा कृष्णबहादुर राई, क्षेत्र नं. ५ मा ईश्वर पोखरेल, क्षेत्र नं. ७ मा रामवीर मानन्धर, क्षेत्र नंं. ८ मा जीवनराम श्रेष्ठ र क्षेत्र नं. ९ मा कृष्णगोपाल श्रेष्ठले विजय प्राप्त गरेका थिए।

यीमध्ये नेपाल र जीवनराम श्रेष्ठ एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)मा सामेल भएका थिए। यीमध्ये निर्वाचन क्षेत्र नं. ९ मात्रै एमालेले जोगाउन सकेको छ। क्षेत्र नं. ९ बाट पुनः कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। बाँकी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ३ वटा क्षेत्र जितिसकेको छ भने एउटा क्षेत्रमा जितको नजिक छ। रास्वपाका उम्मेदवारहरु निर्वाचन क्षेत्र नं. २ बाट सोविता गौतम, क्षेत्र नं. ७ बाट गणेश पराजुली र क्षेत्र नं. ८ बाट विराजभक्त श्रेष्ठ र क्षेत्र नं. ६ मा शिशिर खनाल निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नं. १ मा प्रकाशमान सिंह, क्षेत्र नं. ३ बाट सन्तोष चालिसे, क्षेत्र नं. ४ बाट गगनकुमार थापा, क्षेत्र नं. ५ बाट प्रदीप पौडेल र क्षेत्र नं. १० बाट राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्।

यस्ताे छ, काठमाडाैँकाे नतिजा

निर्वाचन क्षेत्र नं. १ बाट ०७४ कै प्रतिस्पर्धी रवीन्द्र मिश्र  थिए। तर, ०७४ भन्दा झिनो मतान्तरमा कांग्रेसका प्रकाशमान विजयी भए। ०७४ मा ८ सय १८ मतान्तरले रवीन्द्र मिश्रलाई हराएका प्रकाशमान यसपटक १ सय २९ मतान्तरले यही क्षेत्रमा विजय भए। प्रकाशमानले ७ हजार १४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत पाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२, नेपाल सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाए।

काठमाडौं क्षेत्र नं. २ बाट सोविता गौतमलाई एमालेका उम्मेदवार मणिराम फुयालले पछ्याएका थिए। गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा फुयालले ११ हजार ५५५ मत पाए। यस क्षेत्रबाट राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत प्राप्त गर्दा सत्ता गठबन्धनकी साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती चौथो स्थानमा रहिन्। ओनसरीले ९ हजार ४४९ मत मात्र पाइन्।

क्षेत्र नं. ३ मा कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मत ल्याएर विजयी भए। उनीसँग प्रतिस्पर्धामा एमालेका कृष्णकुमार राई थिए। उनले ११ हजार १९६ मत पाए। तेस्रो भएका माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईंले ५ सय १८ मत पाए।

क्षेत्र नं. ४ बाट यसपटक पनि कांग्रेस महामन्त्री गगन थापाले जित निकालेका छन्। गगनले पुरानै प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई ७ हजार बढी मतान्तरले पराजित गरे। थापा २१ हजार ३०२ मत लएर विजयी हुँदा भट्टराईले १३ हजार ८५५ मत पाए। तेस्रो भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका डा.ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाए।

काठमाडौं ५ बाट  कांग्रेसका उम्मेदवार प्रदीप पौडेल १५ हजार २३७ मतसहित विजयी भएका छन्। उनले एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका ईश्वर पोखरेललाई पराजित गर्दै जित निकालेका हुन्। एमालेका पोखरेलले १० हजार १५७ मत लिएर पराजित भए। तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशमशेर राणाले ३ हजार १५५ मत पाएका छन्। यो क्षेत्रबाट एमालेले सहज जित निकाल्ने आँकलन गरेको थियो, तर यसो हुन सकेन।

क्षेत्र नंं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्। उनी १४ हजार २०४ मत ल्याएर निर्वाचित भए।

यस क्षेत्रमा नेकपा (एमाले)का सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन्।

क्षेत्र नं. ७ मा गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याएर पराजुलीले विजय हुँदा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत लिएर पराजित भए। यहाँ सत्ता गठबन्धनकी उम्मेदवार अस्मिता सिंह (मानुषी)यमी भट्टराईले ६ हजार ६३ मत प्राप्त गरिन भने जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेन्द्रप्रसाद श्रेष्ठले जम्मा २ हजार ४६१ मत पाए। यो क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले निकै रोचक जित निकालेको हो।

क्षेत्र नं. ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। उनले १० हजार १०५ मत ल्याएर विराजभक्त विजयी हुँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत ल्याएर दोस्रो भए।

पर्यटनमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ तेस्रो भए। उनले जम्मा ४ हजार २६६ मत पाएका छन्। यस क्षेत्रमा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य प्रतिस्पर्धामै आउन सकेनन्।

काठमाडौं क्षेत्र नं. ९ र १० मा भने पुरानै अनुहार दोहोरिएका छन्। ९ बाट नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत लिएर पराजित भएका थिए। त्यस्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले ६ हजार ४०२ मत पाउँदा साझा पार्टी नेपालका मिलन पाण्डेले एक हजार ८५० मत पाए।

क्षेत्र नं. १० बाट कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भए। उनले १४ हजार ४५८ मत ल्याएर केसी निर्वाचित हुँदा एमालेका हिमेश केसी ११ हजार ७८६ मत पाए। तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ८ हजार ७२६ र राप्रपाका बलराम थापाले ६ हजार ०५६ मत पाए। कांग्रेससँग गठबन्धन तोडेर उम्मेदवारी दिएकी माओवादी केन्द्रकी अन्जना विशंखे ५ हजार २६२ मतमा समेटिइन। यो क्षेत्रमा गठबन्धन रहेको थिएन।

प्रकाशित मिति: : 2022-11-23 15:53:00

प्रतिकृया दिनुहोस्