‘गठबन्धनको सरकार बनाउन तयार छौँ तर प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ’ (भिडियाे)

संविधान जारी भएपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइसकेको अवस्था छ।

आम निर्वाचनको नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि दलहरु यतिबेला अङ्कको जोड घटाउ तथा संवाद गरिरहेको देखिन्छ।

निर्वाचनपछि बाम लोकतान्त्रिक गठबन्धनको पहिलो बैठक पनि बसिसकेकाे छ। अर्कोतिर एमालेलगायतका अन्यदलहरुले पनि दैनिकी भेटघाटलाई तिव्रता दिइरहेका छन्।

अघिल्लो निर्वाचनको तुलनामा यो पटक ठुला राजनीतिक दलहरूको सिट संख्या खुम्चिएको देखिन्छ। निर्वाचनको मतपरिणामप्रति दलहरू खासै सन्तुष्ट देखिँदैनन्। सन्तोषजनक परिणाम नआएपछि दलहरूले चुनावी समीक्षा पनि गरिरहेका छन्।

यता माओवादी केन्द्र तुलनात्मक रूपमा झनै खुम्चिँदै गएकाे देखिन्छ। बाम लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदान होमिएको माओवादी प्रतिनिधिसभातर्फ १८ सिटमै सीमित भएकाे छ। गठबन्धनको भागबण्डामा प्रतिनिधिसभातर्फ ४३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले १८ सिटमा मात्रै जित हात पार्याे।

२०७४ मा तत्कालीन नेकपा (माओवादी–एमाले) चुनावी प्रतिस्पर्धामा जाँदा सन्तोषजनक नतिजा निकालेको माओवादी यसपटक भने निराशाजनक नतिजा बेहोर्न पुगेको छ।

निर्वाचनकाे समीक्षा, पार्टीको धारणा, गठबन्धन तथा वर्तमान राजनैतिक विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका केन्द्रिय सचिव डिलाराम आचार्यसंग बिएल नेपाली सेवाका लागि ध्रुव बस्यालले गरेको कुराकानीको संम्पादित अश प्रस्तुत छ:

चुनावी गठबन्धन हुँदा पनि माओवादीको सिट त झनै खुम्चियो नि! तपाईंको पार्टी पनि मतपरिणामप्रति त्यति सन्तुष्ट देखिँदैन, तपाईंहरूको अपेक्षा के थियो?

माओवादी केन्द्रमा देखिएको समय सापेक्षित रुपमा संगठनात्मक कमजोरी पनि हो। अर्को कुरा भनेको माओवादीबाट नेपाली कांग्रेसलाई मत गयो तर कांग्रेसबाट माओवादीलाई मत सिफ्ट भएन। त्यस कारण हामीले धेरै ठाउँमा हार बेहाेर्नु पर्याे। प्रत्यक्षमा १८ सिट मात्रै जित्यौँ। मुख्य गरेर पार्टीभित्र आन्तरिक व्यवस्थापन नहुनु र गठबन्धनबाट भोट माओवादीलाई नआउनु हो।

माओवादीले प्रत्यक्ष र समानुपातिकमा जुन मत प्राप्त गरेको छ, त्यसमा तपाईंको धारण के छ ?

पहिलो संविधान सभापछि हाम्रो पार्टी सबैभन्दा ठुलो दल थियो, दाेस्राे निर्वाचनमा दाेस्राे भयो, तेस्रोमा तेस्रो नै भयो। अहिलेको निर्वाचना झनै कमजोर रुपमा तेस्रो भयो। अरू कारणहरु जे भएपनि हाम्रो संगठन व्यवस्थित नहुनुका मुख्य कारण जनताले ‘तिमी माओवादी जस्तो भएनौ, सरकारमा हुँदा अथवा संसदमा हुँदा अरुको भन्दा फरक हुनुपर्ने थियो तर फरक भूमिका देखिएन’ भन्ने भयाे। त्यसैले जनताले माओवादीलाई माओवादी जस्तो बनाउनका लागि सिस्नुले हानेको जस्तो मैले अनुमान गरेको छु।

माओवादीलाई त जनताले पत्याएनन् नि?

माओवादी केन्द्रले जुन कम्युनिष्ट पार्टीको रफ्तार छ, त्योअनुसार संघर्षको मोर्चा छोड्दै गयाे। हामी एउटा फगत संसदीय पार्टी जसरी जे गर्छ सरकार र सदनले गर्छ भन्ने तहको जुन अवस्था पुग्यौँ, त्यो कुरा जनताले मन पराएनन्।

काठमाडौँका प्रहरीले रत्नपार्कमा मकै बेचिरहेको हटाउँदा अथवा सामान्य गरिखाने वर्गको मान्छेको खुशी खोस्दा माओवादी त्यहाँ उभिनु पर्थ्यो। काठमाडौँ टाइ कोट लगाएर हिँड्ने, सुकिला-मुकिला मान्छे मात्र होइन, दुखी, गरीब, सारा नेपाली जनताको राजधानी हो। त्यसैले राजधानीलाई जति सक्छौ राम्रो बनाउ, मुखमा लातले नहान, दिनभर श्रम गरेर बेलुका परिवारलाई खुसी पार्नेहरुलाई लखेट्नु हुँदैन भन्नुपर्ने थियो। अथवा देशव्यापी रुपमा राज्यको तर्फबाट अथवा व्यत्तिगत रुपमा गरीवहरुको पक्षमा हजारौँ माओवादी उभिनपर्थ्यो तर यो कदापी गरेकाे देखिएन। हामीले जे गर्नुपर्ने हो, त्यो छोड्यौँ।

अझ हामीले हाम्रो वर्ग संघर्ष, अन्याय, अत्याचारको विरुद्ध जुट्न छोडेका कारण जनताले माओवादी मन पराउन छोडेको हो। जनता के चाहन्छ भने हाम्रो पिर, मर्कामा तिमी जुधिराख्नु पर्छ भन्ने सन्देश दिएको हो। नपत्याएको भने होइन।

माओवादीलाई गठबन्धनले घात गर्यो भन्ने खालका आरोपहरू आइरहेका छन् नि, तपाईंलाई के लाग्छ?

त्यस्तो पनि होइन। स्पष्ट रुपमा भन्नुपर्दा नेपाली कांग्रेसको संस्थापन पक्षले भोट हाल्न या गठबन्धनलाई सघाउन खोजेको हो, पहल गरेकै हो। तर कांग्रेसको इतर पक्ष भन्ने जो छ तिनीहरुले गठबन्धनको विरुद्धमा बाेलिरहेको रह्याे। तर चुनावले च्यापदै गएपछि बोल्न छोड्याे। कारण- गठबन्धनको भोट आफूलाई पनि चाहिएका थियाे। माओवादीलाई २० भन्दा धेरै कट्न दिनु हुँदैन भन्ने उहाँहरुको मनसाय थियाे। त्यो खालको सन्देश प्रवाह गर्नु भयो। त्यसको प्रभाव र अर्को मासले मूल्याङ्कन गर्ने कुरा भएकाले सबै कुरा जनतामाझ नपुगेको हाे। हाम्रो पार्टीको सांगठनिक अवस्था बलियो र सशक्त नहुनु नै अहिलेको निर्वाचन मतपरिणाम हो।

माओवादीले अब २०६४ सालकै अवस्थामा पुग्न के के सुधार गर्नुपर्छ ?

नेपाली जनताले चाहेको गणतन्त्र, धर्मनिपेक्षतालगायतका मुद्धाहरु राजनैतिक रुपले विभिन्न परिर्वतन भयो। त्यो कुरा ठिक छ तर राजनैतिक मुद्धा, राज्यसत्ता र जनताको व्यवस्था परिर्वतनसमेत माओवादीले गर्यो तर आम नेपालीहरुको जीवन भने बदलिएन। देश छोडेर दुवै, कतार, मलेसियालगायत विभिन्न देशका गइ कमाएर नपठाउने हो भने जनताको घरमा चुलो बल्दैन। अवस्थामा परिर्वतन नभएपछि जनताले यो प्रकारको परिर्वतन खोजेका हुन्।

जनताको जीवनमा परिर्वन आएन। यो कुराकाे नेतृत्व गरेर शान्तिपूर्ण रुपले माओवादीले उत्पादनको रुपमा, जनताको जीवन परिर्वनको रुपमा जल, जमिन उचित रुपले प्रयोग गर्ने कुरामा बोल्नु पर्नेछ। आम जनताको जीवन फेर्ने कुरामा केन्द्रित नेतृत्व माओवादीले गरेमात्र शक्तिशाली हुन सक्छ। अहिले १८ सिट लिएको हाम्राे पार्टीले अर्को चुनावमा १ सय १८ लिन पनि सक्छ। संसदीय लोभमा माओवादी गइरह्यो भने झन ठुलो घाटा पुग्ने देखिन्छ।

केही समय पहिले माओवादीले एमालेसंग बाम एकता गरेर जाने चर्चा पनि चलेको थियो। अध्यक्ष प्रचण्ड आफू प्रधानमन्त्री बन्नका लागि जुन दलसंग पनि एकता गर्ने अवस्थामा देखिनुहुन्छ नि?

गठबन्धन या राजनैतिक मूल्य-मान्यतालाई हेर्दा माओवादी सरकार बनाउनका लागि कहाँ ताम्सिने भन्ने कुरा छैन। अहिलेको देशको निर्वाचन परिणामले एउटा मात्र विकल्पबाहेक माओवादीविहीन सरकार गठनकाे सम्भावना देखिँदैन। जस्तो कि कांग्रेस र एमाले मिल्दा बहुमत पुग्छ, त्यहाँ माओवादी आवश्यक पदैन। नत्र माओवादीविना सरकार गठन सम्भावना हुँदैन।

तर प्रधानमन्त्री जहाँ पाइन्छ, त्यतै टाँसिन जाने भन्ने हुँदैन। अझ एमालेसंग मिलेर सरकार गठनमा जाने भन्ने कुरामा विल्कुल छैनौँ। विभिन्न सूचना, भ्रमहरु पनि छरिए तर यसो होइन। हाम्रो साइज कस्तो भयो भन्ने भन्दा पनि हामी गठबन्धनको सरकार बनाउने कुरामा प्रतिबद्ध छौँ। हामीले चुनावमा गठबन्धनको लागि मत मागेका हौँ। त्यसैले गठबन्धनबाहेकको विकल्पको सरकार सोचेक छैनौँ। तर हिजोको परिवर्तनको महत्वपूर्ण आन्दोलको नेतृत्व र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको अनुभवसमेत भएकाले पहिलो चरणमा हाम्रो अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने हाम्रो माग हो। तर गठबन्धनबाट यो प्राप्त भएन भने पनि हामी गठबन्धनमै रहन्छौँ। गलत प्रकारको नीति हाम्रो छैन।

नयाँ सरकार गठनका लागि तपाईंको पार्टीको भूमिका के रहन्छ?

नयाँ सरकार गठबन्धनकै बन्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ। गठबन्धनको सरकार बन्दा त्यसको नेतृत्व माओवादीले गर्नुपर्छ भन्नेमा समेत हामी स्पष्ट छौँ। अन्य मन्त्रालय, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रदेश सरकार गठन हुँदा कहाँ कसरी क-कसको नेतृत्व हुन्छ भन्ने कुरामा अझै विषय प्रवेश नभएका कारण अब यस विषयमा प्रवेश र सहमतिमै हामी अगाडि बढ्छौँ।

नयाँ सरकार बनाउन सत्ता गठबन्धनमा बहुमत पुग्ने देखिँदैन। अन्य विकल्प के देख्नु भएको छ?

बाम लोकतान्त्रिक गठबन्धनभित्रको नतिजा हेर्दा केही सिट नपुग्ने देखिन्छ तर थरुहट पार्टी, जनमत पार्टी, लाेसपा र जसपा अध्यक्ष उपेन्द्र यादवले पनि अब एमालेसंग कुनै गठबन्धन नहुने कुरा भनिरहनु भएकाले सवबै शक्ति मिलेर जाँदा हाम्रो बहुमत पुग्ने देखिन्छ।

अन्यतमा, पछिल्लो समय उदय भएका नयाँ दलहरूलाई तपाईंले कुन रूपमा लिनुभएको छ?

नयाँ अनुहार, नयाँ पार्टी राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो। तर दशवर्षे जनयुद्धपछि नेपाली समाजको चेतना माथि उठ्यो भन्ने ठिक हो/होइन मूल्यांकन गर्ने स्थिति देखिँदैन। पार्टी बनेको ६ महिना पुगेको छैन। उनीहरुको सिद्धान्त, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक नीति केही थाहा छैन। उनीहरु पुँजीवादी हुन् कि समाजवादी अथवा राजावादी? आफ्नो परिचय के हो भन्ने समेत थाहा नपाइ, परिपक्क नभइ जनताले भोट हाल्नु त्यति उचित हैन।

आम मतदातालाई मेरो गुनासो हो। त्यसको अर्थ फेरि हामी परिपक्क छौँ भन्ने होइन। तर आफ्नो परिचय के हो, हामीले जनतामाझ प्रष्ट त पारेका छौँ नि। त्यसैले उनीहरुको उदय र जित भनेको पुराना पार्टीप्रतिको वितृष्णा, गुनासो, आक्रोश, आलोचना हो जस्तै लाग्छ। त्यसैले राजनीति गर्दा नीति, सिद्धान्त भने स्पष्ट हुन जरुरी छ। जनतासंग आफ्नो एजेण्डा स्पष्ट गनुस् भन्ने मात्र हो।

प्रकाशित मिति: : 2022-12-10 08:04:00

प्रतिकृया दिनुहोस्