एमाले–एस एकता: के भन्छन् दाेस्राे तहका नेताहरु ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेस नेतृत्वको वाम–लोकतान्त्रिक गठबन्धन भत्काएर एमालेसहितकाे गठबन्धनकाे धरातलमाथि प्रधानमन्त्री बनेका छन्। बाेली बारा–बारकाे अवस्थामा पुगेका प्रचण्ड–ओली सहकार्यमा नयाँ सरकार बनेसँगै अहिले वाम एकताकाे चर्चा चलिरहेकाे छ।

एमालेले माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी (एस)सँग पार्टी एकता गरेर संसदमा पहिलाे दल बन्न दाउमा रहेकाे खबर बाहिरिएसँगै याे विषयले नयाँ परिस्थिति सिर्जना गर्न सक्ने अनुमान गरिएकाे छ।

एमाले–एस एकताकाे औपचारिक वार्ता सुरु नभए पनि दुई पार्टीका नेताहरुबीच भेटघाट बाक्लिएकाे छ। भने, प्रधानमन्त्री प्रचण्डले पनि एसलाई सरकार सहभागी गराउने प्रयास गरिरहेका छन्।

माधव नेपालले प्रचण्ड बालकोट पुगेर सरकार गठनकाे सहमति गर्दा आफूलाई कुनै जानकारी नदिएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए। पाँच दलीय गठबन्धन टुटेपछि राजनीतिक रूपमा एक्लिएको एसलाई नयाँ गठबन्धनमा सामेल गराउने पहल सुरू भएको छ। एसलाई गठबन्धनमा मिलाएर सरकारमा सहभागी गराउने तयारीका साथ एमाले र माओवादी केन्द्रका नेताहरूले छलफल थालेका छन। पछिल्लाे राजनीतिक परिस्थितिमा एस दाेबाटाेमा अन्याेलग्रत अवस्थामा रहेकाे छ।

वाम एकताकाे पक्षमा सकारात्मक रहेकाे एस एमालेसँग पार्टी एकता गरेर देशकाे पहिलाे पार्टी बन्ला त ?

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् निवर्तमान सहरी विकास मन्त्री मेटमणि चौधरीले एमाले–एस सहकार्य रहेकाे प्रतिक्रिया दिएका छन्।

‘एमालेका केही साथीहरले पार्टी एकताबारे चासो देखाउनुभएको छ। यो एक प्रकारको सकारात्मकता हो। पहिले जे–जे भयो भयाे, अब मिल्नुपर्छ भन्ने हाम्रो धारण हाे,’ नेता चाैधरीले भने,‘इमान्दारीतापूर्वक लागियो भने हामी मिल्न सक्छौ। असम्भव भन्ने केही छैन।’ उनले आफ्नाे पार्टी सरकारमा सहभागी हुने अवस्था आए आफूले मागेअनुसार मन्त्रालय दिनुपर्ने उनकाे भनाइ छ।

त्यस्तै एमालेका दाेस्राे तहका नेताहरु पनि एमाले–एस एकै ठाउँमा उभिनुपर्नेमा जाेड दिएका छन्। एमाले पाेलिटव्युराे सदस्य शेरबहादुर तामाङले सबै वाम, एकै ठाउँमा उभिनुपर्ने बताउँछन्।

‘अहिले नै पार्टी एकीकरणको विषयमा कुनै छलफल भएको छैन। तर, आमजनता कार्यक्रताले वाम शक्त्तिहरु एक हुनुपर्छ भनेर आ–आफनो धारणा सार्वजनिक गरेका छन्। परिस्तिथिअनुसार सम्भाव वा सम्भव भन्ने हुँदैन,’ तामाङले भने,‘हिजो निर्वाचनमा एकअर्काले हराउनलागि परेका घटकहरु आज सरकार गठन गर्दा मिलेर गएकाछौँ। उसलाई सकारात्मक रुपमा लिनुपर्छ। यो राम्रो कुरा हो।’

तर, एकीकृत समाजावादीकी नेत्री रामकुमारी झाक्री भने तत्काल एमाले र एसले पार्टी एकता गर्न नहुने बताउँछिन्।

‘पार्टी एकीकरणको विषयमा मेरो समर्थन छैन। तर, राजनीतिमा सबै कुरा सम्भव हुन्छन यो कुरा पनि नहोला भन्न सकिँदैन। याे विषयमा म भने सकारातमकता छैन,’ नेत्री झाक्रीले भनिन्।

प्रकाशित मिति: : 2022-12-30 17:50:00

प्रतिकृया दिनुहोस्