लोटरी किन्नुहाेस् तर विचार पुर्‍याएर

केही अपवादलाई छोडेर अमेरिकी सरकारको दृष्टिमा न्यून आय अर्थात् ‘लो इनकम’मा काम गर्ने नेपाली समुदायहरु कुलतमा फसेर क्रमशः घरको न घाटको हुँदैछन्। आफूले आर्जन गरेको कमाइले जीवन निर्वाह गर्ने भन्दा पनि तास, लोटरी र चिठ्ठा खेल्ने गर्नाले आफूसँग भएको रकम समाप्त हुने त छँदै छ, घरपरिवारमा पनि झैझगडाको स्थिति आएको छ। यसको फलस्वरूप परिवार नै विघटन हुने स्थिति पनि आउन सक्छ र आएको पनि छ।

यताका विश्व विद्यालयमा अध्ययन गरेर काममा लागेका सानो अंशलाई अपवाद मान्ने हो भने यहाँ रहेका अधिकांश नेपाली समुदायका मान्छेहरुले सरकारले तोकेको न्यूनतम ज्यालादरमा काम गर्ने हो। यो ज्यालादर राज्य हेरेर ७ डलर प्रतिघण्टादेखि १३ डलर प्रतिघण्टासम्म छ। नर्थ क्यारोलिना र भर्जिनिया राज्यमा ७ डलर प्रतिघण्टा छ भने क्यालिफोर्निया राज्यमा १३ डलर प्रतिघण्टा छ। यसमा पनि अमेरिकामा बस्ने कानुनी हैसियत नभएकाहरु अर्थात् अनडकुमेन्टहरुले योभन्दा कम दरमा काम गर्नुपर्छ। यसरी जुन राज्यमा जति ज्याला दर भए पनि त्यसै अनुसार खर्च हुने कारणले महंगो र सस्तो भन्नुको कुनै अर्थ छैन। जस्तो: क्यालिफोर्नियामा एउटा सामान्य दुई कोठे अपार्टमेन्टको भाडा प्रतिमहिना दुई हजार पाँच सय डलर पर्छ भने त्यस्तै प्रकारको अपार्टमेन्टको भाडा नर्थ क्यारोलिनामा एक हजारसम्ममा आउँछ। यो भाडादर मध्यम वर्गीय मान्छेहरु बस्ने क्षेत्रहरुको हो र अधिकांश नेपालीहरु बस्ने पनि यस्तै क्षेत्रहरुमा हो। योभन्दा उच्च क्षेत्रमा लो इनकम गरेर बस्न सकिन्न, भलै उसले नेपालमा जे जस्तो गफ लगाएको होस्।


कुन सक्कली, कुन नक्कली?


यस्तै परिवारका सदस्यहरुमध्ये कम उमेरका अर्थात् १८ वर्षभन्दा सानाबाहेक सबै सदस्यले काम नगर्ने हो भने खान लगाउन नै धौ–धौ हुन्छ, त्यो पनि सबैभन्दा सस्तो जीवनस्तरको रुपमा। यहाँको एउटा रमाइलो पक्ष के छ भने, उस्तै वस्तु धनीले १० डलरमा किनेको छ भने गरीबले १ डलरमा किन्ने पसल छ। जस्तो, हेरिस ट्याटर, जेसी पेन्नी र मेसिज महंगो सामान पाइने पसलहरु हुन् भने बालमार्ट, डलर जनरल, फेमेली डलर र डलर ट्री न्यून आय भएका मान्छेहरुको लागि हो। अझै डलर ट्रीमा त हरेक सामानको केवल एक डलर (करसहित एक डलर सात सेन्ट) मात्र पर्छ। यसरी सबै वर्गका मान्छेहरुले आफ्नो आय अनुसार सबै वस्तुको उपभोग गर्न पाएका छन्। यो अमेरिकाको अर्थ व्यवस्थाको एउटा सुन्दर पक्ष हो।

सामान्यतया यस्तो आर्थिक स्थिति हुँदाहुँदै पनि छिटो धनी हुने आशामा लोटरी र चिठ्ठामा खर्च गर्दा आर्थिक असन्तुलन हुन जाने खतरा हुन्छ। सरकारी स्तरबाटै खोलिएका देश स्तरीय मेगा मिलियन, पावर बल र राज्य स्तरीय हरेक राज्यअनुसार लक्की फर लाइफ, क्यास फर लाइफ, किनोजस्ता फरक–फरक लोटरीहरुमा धेरै पैसा खर्च गर्नु मूर्खता मात्र हो। यद्यपि, कहिलेकाहीँ चिठ्ठा खरिद गरेर भाग्य जाँच्नु अनुचित भने होइन। यी लोटरीहरु धेरै मान्छेहरुलाई परेको छ र पंक्तिकारको परिचय भएको दुई नेपालीहरुलाई १०/१० लाख डलर परेको पनि जानकारी छ। कर कटाएर ६ लाख ५० हजार डलर पाउनु भनेको राम्रै हो, त्यो पनि दुई डलरको टिकटमा।


वास्तविकतालाई छोडेर भ्रममा बाँच्न चाहनेहरु


रमाइलोको लागि र आफूलाई अनुचित आर्थिक भार नपर्ने गरी लोटरी किन्दा केही फरक नपर्ला तर ऋण गरेर वा कमाइको ठुलो हिस्सा यसमा खर्च गर्दा आफैँलाई प्रत्योतपादक हुन जान्छ। अमेरिकीहरुको एउटा भनाइ छ, ‘यु नेभर नो’ अर्थात् तिमीलाई केही थाहा छैन अर्थात् जे पनि हुन सक्छ वा यो चिठ्ठा तिमीलाई नै पर्न सक्छ। यसरी आफ्नो भाग्य परीक्षण गर्नु नराम्रो होइन तर छिटो धनी हुन्छु भनेर केवल चिठ्ठा मात्र किन्नु मूर्खता मात्र हो। यति भएर पनि यस्तो चिठ्ठाहरु खरिद नगर्ने कोही हुँदैन। फरक यति होला, कसैले धेरै र कसैले थोरै खरिद गर्लान्। मैले खरिद गर्दै गर्दिनँ भनेर कोही भन्छ भने त्यसले झूट बोलेको हो, रमाइलो के छ भने झुट बोल्नमा हामीलाई कसैले जित्न सक्दैन।

प्रकाशित मिति: : 2023-01-05 17:00:00

प्रतिकृया दिनुहोस्