सुध्रिएन राहदानी विभाग, सेवाग्राहीको चेतनामाथि प्रश्न गरेर उम्किन खोज्छन् कर्मचारी (भिडियो रिपोर्ट)

सेवाग्राही भन्छन्: एउटै पासपाेर्ट लिन ५० हजार खर्च हुन्छ

नयाँ सरकार गठनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागमा देखिएका समस्या समाधानको लागि अनेकौँ प्रयास भए। तर, पनि सेवाग्राहीका समस्या र दु:ख जस्ताकाे तस्तै छन्। गृहमन्त्रीको एक्सन र प्रधानमन्त्रीको निर्देशनपछि पनि राहदानी विभागको समस्या समाधान नभएको पाइएको छ।

अहिले पनि सेवा लिनको लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरिरहेका छन्। सेवा नपाएर महिनौँ कुर्नु परेको दु:ख सुनाउँदै लाइनमा भोकभोकै बिहानदेखि बेलुकासम्म लाइन बस्नु परेकाे सेवाग्राहीले गुनासाे गरे।

‘काठमाडाैँ आएको एक महिना हुन लाग्यो, राहादानी लिनकाे लागि दिन-दिनै लाइनमा बस्छौँ। यहाँभित्र विभिन्न समस्या देखाइन्छ। नेपालमा जुनसुकै मन्त्री आए पनि हामी जनताले कहिले सुख नपाउने भइयाे। रवि दाइले अस्ति मात्र राहादानीको समस्या समाधान एकहप्तामै गर्छु भन्नुभएको थियो तर भएन, उनकाे पनि के आश गर्नु अब,’ उदयपुरका कुमार विश्वकर्माले बिएल नेपाली सेवासँग भने।

उनले एउटा राहदानी लिनकाे लागि सबै खर्च जाेड्दा ५० हजारभन्दा बढी हुने विश्वकर्माले बताए।

गत पुस १७ गते सर्भरमा समस्या भएको भन्दै राहदानी विभागले राहदानी वितरण नै बन्द गरेर समस्या समाधान गरेको बताएको थियो। प्रधानमन्त्री निर्देशनपछि विभिन्न निकायका टोलीले समस्या समाधानको लागि काम गर्नुका साथै सातै प्रदेशबाट राहदानी वितरण सुरु गरेकाे थियो। तर, अहिले पनि विभागको ढोकामा सेवाग्राहीको लाइन उस्तै रहेको पाइएको छ।

यता केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको सरकारकी परराष्ट्र मन्त्री डा.विमला राई पौडेलले नेपाली जनताले सरकारी सेवा लिन दु:ख पाउन नपर्नु पर्ने बताएकी थिइन्। उनले पहिलो निर्णय नै नागरिकता र राहादानीलगायतका आवश्यक कुराहरुलाई तत्काल सहजता तरिकाले प्रदान गर्ने सञ्चारकर्मीसँग बताएकी थिइन्। तर, उनले भने अनुसार जनताले सहजता महसुस गर्न सकेका छैनन्।

सर्लाहीका रामबाबु गिरीले एक हप्तादेखि लाइनमा बसिरहेको तर राहादानीको लागि काम नभएको बताएका छन्। राहादानीको काम जिल्ला जिल्लामै जिम्मा दिए यस्तो दु:ख नहुने उनको भनाइ छ।

‘हामीले जस्तो लाइन लाग्नुपर्ने पीडा अरुलाई नहोस्। अब बरु सरकारले राहादानीका लागि आ–आफ्नाे जिल्लामा जिम्मा दिए यत्ति धेरै खर्च हुँदैन थियो,’ उनले भने। उनले सर्भर सहज नभएकाे र एउटा फारम भरेर डेट लिनकाे लागि आफैंले २ हजार ५ सयसम्म खर्चिएकाे बताए।

यता राहदानी विभागले भने प्रधानमन्त्री वा मन्त्री फेरिँदैमा तत्काल समस्या समाधान नहुने बताउँदै उम्किन खोजेको छ। राहादानी विभागका निर्देशक तथा प्रवक्त्ता दुरपदा सापकोटाले नयाँ सरकारका मन्त्रीसँग छलफल भइसकेको र राहादानी विभागको प्रस्ताव पेस गरिसकेको तर मन्त्रालयबाट कुनै पनि प्रकारको निर्देशन नआएको बताइन्।

‘नयाँ सरकार भर्खरै मात्र त गठन भएकाे छ। राहादानी विभागको बारेमा हामीले जानकारी तथा प्रस्तावहरु सुनाइसकेका छौँ। अहिलेसम्म हामीलाई कुनै निर्देशन आएको छैन। आज भोलि नै मन्त्रीज्यूको निर्देशन आउला हामीले हाम्रो काम निरन्तर गरिरहेकै छौँ,’ प्रवक्ता सापकाेटाले भनिन्।

सापकोटाले सेवाग्राहीहरुलाई सकेसम्म बिहानदेखि बेलुकासम्म काम गरेर सेवा दिरहेको उनको दाबी गरिन्। सेवाग्राहीहरुको कमजोरीका कारण पनि समस्या भोग्नु परेको उनको भनाइ छ।

‘हामीले बिहानदेखि बेलुकासम्म जत्ति काम गर्न सकिन्छ गरिरहेका छाैँ। सेवाग्राहीहरुलाई सकेसम्म सबैजनाको काम सकेर फर्काउने काम गरिरहेका छौँ। हामीलाई अहिले विभिन्न प्रकारका आरोपहरु लगाउने काम भइरहेकाे छ तर बास्तविकता त्यस्ताे छैन। सेवाग्राहीमा नै समस्या छ। जस्तो कि, सबै जानकारीहरु हाम्रो वेवसाइडमा राखेका हुन्छौँ, त्यो नपढी पूरै कागजात नलिएर आउने गर्नुहुन्छ अनि यहाँ समस्या हुन्छ।’

प्रकाशित मिति: : 2023-01-19 23:10:00

प्रतिकृया दिनुहोस्