भोजपुरका ग्रामीण क्षेत्रका नागरिकको साधन अटो

बिएल संवाददाता

टक्सार (भोजपुर)
फाइल तस्बिर
फाइल तस्बिर

तराईका जिल्लामा मात्र छ्यासछ्यास्ती देखिने गरेको अटो टेम्पो अहिले भोजपुरका गाउँगाउँमा देख्न सकिन्छ।

पहाडी जिल्ला भोजपुरमा सडकमा पहुँच पुगेसँगै ग्रामीण नागरिकमा पनि अटो मोह देखिन थालेको हो।

हटियाको सामान ओसार्नदेखि लिएर मिल जान पनि अहिले अटोकै बढी प्रयोग हुने गरेको छ।

भोजपुरमा मूल सडकभन्दा भित्री ग्रामीण क्षेत्रका नागरिकलाई आवतजावतका साथै साँझ–बिहान कोही बिरामी भएर स्वास्थ्य संस्थासम्म लानु परेमा पनि अटो भरपर्दो साधन बनेको छ। 

'अटो टेम्पो चालकको फोन नम्बर राखेर बोलाउने हो, समस्यामा परेको बेलामा सहजता हुन्छ, कम दूरीको यात्रामा अटो सहज साधन भएको छ' भोजपुर नगरपालिकाका–४ की दुर्गा प्रधानले भने।

गाउँघरमा ठूला सवारी साधनको पहुँच नहुने भएकाले अटो प्रभावकारी सेवा दिने माध्यम भएको छ। भोजपुरमा अटो व्यवसाय चलाइरहेका गणेश श्रेष्ठ यात्रुलाई नम्बर दिने गरेको र अर्को पटक सोही नम्बरमा वरपर आउनजानका लागि बोलाउने गरिएको बताउँछन्।

काम नभएर पहिला साथीभाइसँग गफिनेहरुसमेत अहिले अटो किनेर व्यवसायी बनेका छन्। त्यति मात्र होइन वैदेशिक रोजगारीबाट फर्केर आउनेहरुले समेत अहिले विकल्पका रुपमा अटो किनेर सेवा दिँदै आइरहेको देखिन्छ।

ग्रामीण भेगमा सडकको स्तरोन्नति हुन सकेमा त्यस क्षेत्रका सर्वसाधारणका लागि अटो अझै राम्रो सवारीको साधन बन्ने गाउँवासीको भनाइ छ।

सङ्घीयतासँगै स्थानीय निकायमा जमघट समेत बढी हुने भएकाले सदरमुकाममा भन्दा गाउँ बस्तीहरुमा टेम्पोको माग बढी देखिएको छ।

विगतमा थोरै टेम्पोले सर्वसाधरणलाई सेवा दिइरहेको भए पनि अहिले छिनछिनमा टेम्पो कुद्ने गरेको छ। 

अहिले टेम्पोले दैनिक रुपमा शनिबारे हटियालाइन, बजार क्षेत्र, पानीट्याङ्की, देउराली, टक्सार, हस्पिटल, एयरपोर्ट लगायतका स्थानमा मात्र नभई सदरमुकाम आसपासमा रहेको बोखिम, भैँसीपङ्खा, श्यामिशिला लगायतका स्थानमा पनि यात्रु र सामान ओसारपसार गर्ने गरेका छन्।

आफ्ना लागि छोटो दूरीको यात्राको आनन्द र किराना पसलका सामानहरु बजारदेखि ल्याउन टेम्पो एकमात्र सहज, सुरक्षित, सुलभ र रमाइलो साधन भएको भोजपुर नगरपालिकाका व्यवसायी दीपक श्रेष्ठको भनाइ छ। 

भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, षडानन्द नगरपालिका र भोजपुर नगरपालिकालगायत स्थानीय तहहरुमा अटोको सेवा पुगेको छ। 

प्रकाशित मिति: : 2023-03-20 20:09:00

प्रतिकृया दिनुहोस्