नक्सा विवादमा सरकार किन चुप ?

भारतको नयाँ संसद् भवनमा नेपालको धेरै भाग समेटिने गरी नियतवश बनाइएको ‘अखण्ड भारत’को नितान्त कपोलकल्पित नक्साको चित्र झुण्डाएको केही दिनपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा झुन्डाएर भारतको ‘हेपाहानीति’लाई नमिठो जवाफ दिएका छन्, जुन कार्यको लागि हरेक स्वाभिमानी नेपालीले उनलाई अनेक-अनेक धन्यवाद दिनुपर्ने कुरामा दुई मत नहोला।

मेयर साहले झुण्डाएको नक्सामा भारतको युपी र बिहार राज्यको धेरै ठुलो भाग परेको देखेर भारत सरकारले विदेशमन्त्री एस जयशङ्करद्वारा आफ्नो मात्र नक्सा ठिक भएको बताउँदै सँधैको जस्तै ‘हेपाहानीति’ अपनाएको छ। वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको हण्डी खाएर उनका क्रियाकलापहरुको अतिरन्जित समर्थन गर्दै आएका गोदी मिडिया अर्थात् मोदीको काखमा बस्ने मिडियाहरुले भारतको नक्सा देखेर नेपालमा हलचल आएको झुटो समाचारहरु प्रेषित गर्न व्यस्त छन्।

यो आलेख तयार पारुन्जेलसम्म नेपाल सरकारले यो विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन। एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विपक्षी पार्टीहरुले सरकारको आधिकारिक धारणाको माग गरेपनि दशाैँ वर्ष भारतमा बसेरको राजनीति गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यो विषयमा कुनै ठोस प्रतिक्रिया दिन त्यति सजिलो छैन। र, अर्को ठुलो पार्टी नेपाली काँग्रेस दाहालले के भन्छन र त्यसैअनुसार आफ्नो धारणा राखुँला भनेर कुरिरहेको भान हुन्छ।

हाल बेङ्गलुरुमा रहेर पत्नीको उपचार गराइरहेका मेयर साहले भारत आउनुभन्दा पहिले आफ्नो कार्य कक्षमा झुन्डाएको नक्सामा पूर्वमा टिस्टा र पश्चिममा सतलुज नदी तथा युपी र बिहार राज्यको धेरै भाग समेटिएको छ। एक सय वर्षमा कुनै पनि सन्धि स्वत: निस्क्रिय हुने विश्वव्यापी मान्यताअनुसार वि.सं. १९५० को सन्धिको म्याद २०५० सालमै समाप्त भएको विज्ञहरुले बताए पनि सधैँ भारतको ‘पिच्छलग्गु’ सरकारले यस बारेमा कुनै कुटनीतिक प्रयास गरेको छैन।

भारतलाई खुसी बनाएर आफ्नो कुर्सी बचाउन र विगतमा आफ्नो नेतृत्वमा भएको साढे १७ हजार व्यक्तिको हत्या र अर्बाैँ रुपैयाँको नोक्सानजस्ता कुकर्म दबाउने प्रयासमा लागेका प्रधानमन्त्री दहालले यो विषयमा कस्तो धारणा राख्लान् वा यसै बुझ पचाएर बस्लान् यो कुरा समयले बताउने नै छ। तर, बाहिर ‘भारतसँग सुरुङ्ग युद्ध गर्छु’ भनेर कराउने तर त्यही भारतमा लुक्दै-छिप्दै ज्यान जोगाएर बसेका प्रधानमन्त्री प्रचण्डलाई यो विषयबाट उम्किन सजिलो भने छैन।

@twitter#naviinr

नवीन रायमाझीका थप सामाग्रीहरु पढ्नुहाेस्:

प्रकाशित मिति: : 2023-06-09 21:00:00

प्रतिकृया दिनुहोस्