‘आफूसँग पैसा नहुँदा छोराछोरी पनि आफ्नो नहुँदो रहेछन्’

सम्पत्तिको कारण छोराबुहारीले आफूलाई बेवास्ता गरेपनि उनी सधैं भलाे चिताउँछिन्। गहभरि आँसु बनाउँदै उनले भनिन्, ‘म गरीब भएपनि छोराबुहारीले धेरै पैसा कमाओस्। उनीहरूले मैले जस्ताे कहिल्यै दुख नपाओस्।’ 


हिमालय वृद्धाश्रममा सबैभन्दा फूर्तिला छन्, भोजपुरका सुन्दरकुमार विष्ट। उनी सबेरै उठ्छन्, योगा गर्छन् र आफूसँगैका साथीहरूलाई पनि व्यायाम गर्न सिकाउँछन्। त्यतिमात्र होइन, उनी आश्रमका कामकाजहरूमा पनि सघाउने गर्छन्।

बिजुली बत्ती होस् या धाराको समस्या नै किन नहोस्, उनी सधैं समाधान गर्न अघि सर्छन्। ‘आफूले जानेका काम गर्नुपर्छ र अरुलाई पनि सिकाउनुपर्छ’, उनी भन्छन्।

८८औं वसन्त पार गरिसकेका उनी आफूलाई स्वस्थ्य राख्न सधैं सकारात्मक सोच्ने गर्छन् तर बिडम्बना काँडाझैँ चस्किदिन्छ, उनका विगतका यादहरू सम्झँदा।

विगतमा आफूले भोगेका दुखहरूलाई पछ्याउन खोज्ने उनी आफ्नै दुनियाँमा रमाउन चाहन्छन्। भन्छन्, ‘भुल्न खोज्छु तर आइदिन्छ विगतका ती दिनहरू। अनि सम्झिएर भावुक हुन्छु।’ 

छाेराछाेरीलाई शिक्षित बनाउनका लागि उनले भारत, भुटान र नेपालमा काम गरे तर सुख पाउने उमेरमा उनी वृद्धाश्रम पुगे।

आफूले दुख गरेर बढाए-पढाएका उनका छोरा बेलायत र छोरी अमेरिकामा छन्। तर उनी भने दुई वर्षदेखि आश्रममा जीवन बिताइरहेका छन्। उनी भन्छन्, ‘छोराछोरीको भविष्यका लागि मैले धेरै दुख गरेँ पनि, अहिले उनीहरू नै मसँग छैनन्।’

डाँडाको घाम भइसकेका उनले भावुक हुँदै बिएल नेपाली सेवासँग भने, ‘सम्पत्ति भइन्जेल छोराछोरी साथै थिए। तागत र सम्पत्ति सकिँदै गयाे, छोराछोरी पनि टाढिँदै गए।’

आफूले संघर्ष गरेर हुर्काएका सन्तानले छाडेपछि एक्लिएका सुन्दरले भने, ‘मसँग सम्पत्ति थियो भने आज मेरा छोराछोरीहरू मसँगै हुन्थे तर पैसा-सम्पत्ति छैन, त्यसैले छाेराछाेरी आज मबाट टाढा छन्।’ 

०००

मनभन्दा ठुलो धन मान्छिन्, सर्लाहीकी दिलमाया मगर। छोराबुहारीको अपहेलनाका कारण मानव सेवा आश्रम पुगेकी उनी भन्छिन्, ‘सबै कुराभन्दा पनि ठुलो पैसा रहिछ।’

पाँच दशकअघि प्रेमलाई सबथोक सोच्ने उनले छोरालाई उच्च शिक्षा दिइन्। सानै छँदा छोरीले संसार त्यागेपछि उनले छोरालाई भरपूर्ण माया दिइन्। तर सुख पाउने उमेरमा उनी छोराको स्नेहबाट टाढा भइन्। जसको कारण उनी ‘सम्पत्ति’ रहेकाे बताउँछिन्। ‘यदि मसँग पुग्ने पैसा हुन्थ्यो भने छोराको प्यारी आमा हुन्थेँ। पैसा छैन टाढा भएँ’, उनले सुनाइन्।

दुख गरेर हुर्काएका छोरा विवाह गरेर काठमाडौं आएपनि उनी श्रीमानका साथमा जसोतसो गाउँमा बसिन् तर श्रीमानको मृत्युपश्चात उनी अलपत्र परिन्। 

बुबाको निधनपछि छोराले आमालाई काठमाडौं ल्याए। तर दुख पाएकी आमालाई तथानाम गालीगलौज गरेर घरबाट निकालिदिए। छोराबुहारीको घृणा सहन नसकेर आश्रम आइपुगेकी उनी भक्कानिँदै भन्छिन्, ‘पैसा नभएपछि सबै जनाले हेप्दा रहिछन्।’

सम्पत्तिको कारण छोराबुहारीले आफूलाई बेवास्ता गरेपनि उनी सधैँ भलाे दिन्छिन्। उनी रुँदै भन्छिन्, ‘म गरीब भएपनि छोराबुहारीले धेरै पैसा कमाओस्। उनीहरूले कहिल्यै दुख नपाओस्।’ 

०००

आफ्नो गरिबीको कारण छोरीबाट टाढा भइन्, सिक्किमकी हिमादेवी बस्नेत। १२ वर्षअघि आश्रम पुगेकी उनलाई छोरीले नै त्यहाँ राखेकी हुन्।

विवाह गरेकी छोरीले पाल्न नसकेर आश्रम राखेको क्षण सम्झिँदा रुने गर्छिन्, उनी। भन्छिन्, ‘छोरीसँग कुराकानी नभएको धेरै भइसक्यो। कस्ती भइन्, थाहा छैन। तर गरिबीको कारण मलाई छोडिदिइन्।’

सानो छँदा अरूको घरमा काम गरेर पढाएकी छोरीले मनपरी गाली गर्दा चित्त दुख्ने गरेको उनले सुनाइन्।

बाआमाले सन्तानका लागि दुख गरेपनि छोराछोरीले नबुझ्ने उनको बुझाई छ। ‘मेरो एउटी छोरी थिइन्। त्यसले मलाई माया गरिनन्। छोरा जन्मिएको भएपनि मलाई बेवास्ता गर्थ्यो होला’, उनी भन्छिन्, ‘बुबाआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामाथि।’ 

०००

छोराछोरी सम्झँदा दुखी हुन्छन्, सिन्धुलीका चन्द्रबहादुर लामा। चार जना सन्तानका बुबा उनी मानव सेवा आश्रममा जीवन कटाइरहेका छन्। उनी भन्छन्, ‘छोराछोरी भएपनि सुख पाइनँ।’

छोराछोरीलाई शिक्षा दिलाउन उनले ज्यामी काम गरे। भारी बोकेर हिँडे। तर सुख पाउने उमेरमा चारै छोराछोरी छरपस्ट भए। ‘सकुन्जेल काम गरेर छोराछोरीलाई हुर्काएँ तर थलिएपछि उनीहरूको साथबाट टाढा भएँ’, आफ्नाे दुख सुनाउँदै उनले भने। 

कमाउन नसक्ने भएपछि छोराको मायाबाट टाढिएका उनले त्यहीबेला थाहा पाए, आफूसँग आम्दानी नहुँदा सन्तान पनि आफ्नो नहुँदो रहिछ।’ 

०००

आफैँले जन्माएकी छोरीलाई देख्न चाहँदिनन्, चरिकोटकी माइली तामाङ। उमेरले ७३ वर्ष पुगिसकेकी उनी छोरीलाई सम्झिएर रिसाउने गर्छिन्। भन्छिन्, ‘एउटी भएकी छोरीले माया गरिनन्। त्यस्तालाई किन छोरी भनेर सम्झनु?’

सानै उमेरमा विवाह गरेकी माइलीले दुख गरेर छोरीलाई हुर्काइन्। तर छोरीकै दुश्मन बनिन्, आमा। ‘गाउँमा दुख थियो। दुई छाक टार्न मुस्किल थियो। त्यहीकारण छोरी भागेर काठमाडौं आइन्’, छोरीले दिएको दुख सम्झिँदै उनले भनिन्, ‘छोरीले छाडेर भागेपछि म एक्लै भएँ।’

जवानीमै श्रीमान गुमाएकी उनले छोरी स्याहारिन्। तर तीनै छोरीले उनलाई ‘लात’ मारेर काठमाडौं भागिन्। छोरीको सम्झनामा विक्षिप्त भएकी उनी छोरीको खोजीमा काठमाडौं आइन्। छोरी नभेटेपछि उनी श्रममा बस्न थालिन्।

‘म आश्रम आएपछि छोरीले खबर पाएछिन्। मलाई भेट्न आएकी थिइन् तर पाल्न सक्दिनँ भनेर गइन्। त्यस्ता सन्तान किन चाहियो र मलाई?’, आक्रोशित हुँदै उनले भनिन्।

चार वर्षदेखि आश्रममा बस्दै आएकी उनी आफ्नो छोरीलाई भन्न चाहन्छिन्, ‘मलाई जति रुवाएको छ, त्यो पनि त्यति नै रुन परोस्। मेरो त्यही छ आशिष!’

वृद्ध बाआमा नपाल्ने छोराछोरीलाई के छ कानुन? 

नेपालको कानुनअनुसार ६० वर्ष पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरिएको छ। ज्येष्ठ नागरिकभित्र पर्ने एकल महिलालाई ६० वर्ष पुगेपछि सरकारले भत्ता दिन्छ भने अरू नागरिकलाई राज्यले ७० वर्ष पुगेपछि भत्ता दिन्छ। 

छोरा बेलायतमा, छोरी अमेरिकामा, ‘सुबेदार बा’ वृद्धाश्रममा (भिडियोसहित)

२०७४ सालमा संशोधन भएको ‘जेष्ठ नागरिकसम्बन्धी ऐन’ ले छोराछोरीले आमाबुबालाई हेरविचार र संरक्षण गर्नुपर्छ भनेर कानुनमा उल्लेख गरेको छ।

कानुनअनुसार छोराछोरीले वृद्ध भएका बाआमालाई अपहेलना गरेमा र आश्रम लगेर छाडेमा सन्तानविरुद्ध उजुरी हाल्न मिल्छ। आमाबुबालाई छोराछोरीले नहेरेको प्रमाणित भएमा उनीहरूलाई ६ महिना कैदसम्म सजाय हुन सक्ने व्यवस्था छ। 

प्रकाशित मिति: : 2023-10-23 11:00:00

प्रतिकृया दिनुहोस्