अष्ट्रेलिया जाने पैसा बटुल्न अपार्टमेन्टमा लिभिङ टुगेदर बसेर चाेरी धन्दा

काठमाडौँमा घर, अपार्टमेन्ट बास

वि.सं. २०६१ सालमा मोबाइल तथा ल्यापटप चोरी गरेको आरोपमा ७ महिना जेल बसेका ३९ वर्षीय सुबाेध श्रेष्ठ फेरि चोरीको आरोपमै पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका– १४ घर भएका श्रेष्ठ ल्यापटप, मोबाइल चोरी गरेर बिक्री गर्ने गरेको आरोपमा पक्राउ परेका हुन्।

घर काठमाडौं, बास अपार्टमेन्ट

श्रेष्ठको घर काठमाडौंमा भए पनि उनी घरमा बस्दैनन्। हाल उनी काठमाडौँको ताचलस्थित सिटी अपार्टमेन्टमा बस्दै आएका थिए। दैनिक जसो ठुला–ठुला मोबाइल, ल्याटप पसलमा जाने र पसलको बारेमा अध्ययन गरी रातिमा चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

चोरी गरेरै गर्लफ्रेन्डसहितको जिन्दगी आजसम्म बिताइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धीविक्रम शाहले बताए। सिटी अपामेन्टको ८०२ नम्बरको फ्लाइटमा बस्दै आएका श्रेष्ठ लामो समयदेखि चोरी कार्यमा संलग्न रहेको शाह बताउँछन्।

७ महिना जेल बसेर फर्किएपछि...

श्रेष्ठलाई प्रहरीले २०६१ सालमा चोरी मुद्धामा प्रकाउ गरेको थियो। त्यसपछि उनको चोरी आरोप पुष्टि भएपछि अदालतले ७ महिना जेल सजाय तोकेको थियो। ७ महिना जेल बसेर घर फर्किएका श्रेष्ठले महाबौद्धमा मोबाइल तथा ल्यापटपमर्मत पसल खोलेर ७ वर्ष पहिले बसेको वरिष्ठ प्रहरी उपरीक्षक शाहले बताए।

उनले पसल मात्र गरेनन् त्यहाँ राति–राति सामान चोरी गरेर सस्तो मूल्यमा बिक्री गर्ने काम निरन्तर गरिरहे। उनले पछि पसल बन्द गरे। त्यसपछि नियमित रुपमा आइटी पसलहरु र आइटीसँग सम्बन्धित मोबाइल, ल्याटपहरु बिक्री गर्ने, पसलहरुमा चोरी गर्ने गरे।

त्यहाँबाट चोरी गरेको सामानहरु हाम्रो बजार डटकम अनलाइनबाट सस्तो मूल्यमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। कम मूल्यमा पाइने भएपछि उनका ग्राहक बढेकोसमेत पाइएको छ। उनी पसलहरु धाउने र सकेसम्म चोरी गर्ने, कुनै ठाउँ जाँदा नजिकै भए पनि सार्वजनीक यातायात चढ्ने गर्दैनथे। उनी पठाओ चढ्थे। श्रेष्ठले अरुले थाहा पाउँछ भनेर उनी कुनै ठाउँ जाँदा होस् या सामान पुर्‍याउन जाँदा कम्तिमा २ देखि ३ वटा ट्याक्सीहरु प्रयोग गर्दै आउने गरेका थिए।

प्रेमिका पनि चोरी कार्यमा

काठमाडौँ उपत्यका आसपासमा शृंखलाबद्ध चोरी गर्दै आएका ३९ वर्षीय सुबाेध दुई वर्ष पहिले काठमाडौं महानगरपालिका– २६ लैनचौरकी १९ वर्षीय रोशनी महर्जनसँग प्रेम सम्बन्धमा परे। प्रहरीकाअनुसार सुबाेध र रोशनी रविभवनस्थित सिटी अपार्टमेन्टको आठौँ तलामा लिभिङ टुगेदर बसे।

१२ कक्षासम्म पढेका श्रेष्ठले प्रेमीका महर्जनलाई पनि चोरी गर्न नै लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। यहाँ चोरी गरेर जिन्दगी नचल्ने सोचपछि उनीहरुले अष्ट्रलिया जाने योजना बनाए। तर, अष्ट्रलिया जाने पैसा चोरी गरेरै कमाउने योजनामा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। चोरी गरेरै अस्ट्रेलिया जाने सपना बुनेर उनीहरु डेढ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका थिए।

यसरी परे पक्राउ

पछिल्लो एक वर्षदेखि रोशनी ‘लिभिङ टुगेदर’मा श्रेष्ठसँग बस्दै आएकी थिइन्। २०७८ जेठ २८ मा राति ललितपुर महानगरपालिका– ९ मानभवनमा ओम प्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिंक टेक्नोलोजीमा चोरी भयो। उक्त चोरी अनुसन्धान गर्दै जाँदा सुबोध र रोशनी सम्लग्न देखिएपछि उनीहरुलाई  प्रहरीले प्रकाउ गरेको हो।

उनीहरुविरुद्ध प्रहरीले अदालतबाट सात दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको छ। सुबोधले ग्लोबल लिंक टेक्नोलोजीको झ्याल फुटाएर काउन्टरबाट १ लाख ८ हजार नगद, कम्पनीको सीइओको कोठाबाट ३७ हजार नगद र डेल कम्पनीको ल्यापटप चोरी गरेको अनुसन्धानबाट पत्ता लागेको छ। अनुसन्धानबाट रोशनी पनि चोरीमा संलग्न रहेको भेटिएको छ।

तर, रोचक के छ भने पक्राउ गरेपछि अनुसन्धान ‘किन चोरेको ?’ भन्दा श्रेष्ठले अस्ट्रेलिया जान पैसा जम्मा गर्दै आएको जवाफ दिएका थिए। त्यति मात्र होइन, श्रेष्ठले योजनाबद्ध रुपमा चोरी गरेको भन्दै प्रहरीलाई ‘कसरी पत्ता लगाउनुभयो ?’ भनेर प्रश्न गरेका थिए।

सुबोधले यसअघि ज्ञानेश्वरबाट ३२ वटा ल्यापटप र पुतलीसडकस्थित ‘आई टिम प्रा.लि.’मा पनि चोरी गरेको प्रहरीलाई बताएका छन्। प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ।

प्रकाशित मिति: : 2023-06-26 21:42:00

प्रतिकृया दिनुहोस्