
मन्दिरा अधिकारी
‘न्याय खोज्ने’ हरूको आशा, आक्रोश र आवेगले माइतीघर अचेल आफैँ असरल्ल छ।
मोरङका काजी विक पनि माइतीघरको यही भीडमा मिसिन आइपुगेका छन्। गाउँगाउँमा फैलिएका लघुवित्तको शिकार यिनी पनि बने। अनि आफूजस्ता धेरै पीडितहरू मिलेर अहिले माइतीघरको आँगनमा न्याय मागिरहेका छन्।
०००
‘तिमीहरूले ठगेको पैसाको किस्ता कसले तिर्छ?’ हरेकदिन लघुवित्तका ‘मान्छे’ले थर्काउने फोनको त्यो बोली अब त काजीले सुन्नै नसक्ने भएका छन्।
करिब छ वर्षअघि छोराको उपचारका लागि कर्जा लिएका उनले कर्जाभन्दा किस्ताका रकम बढी बुझाइसके। ६ लाख रुपैयाँ ऋण झिकेको लघुवित्तले उनीसँग १२ लाखभन्दा धेरै लगिसक्यो, किस्ता किस्तामा।
तर अहिलेसम्म पनि लघुवित्त भनिरहेछ, अझै बाँकी छ ऋण तिर्न। दुई गुणा धेरै पैसा बुझाइसके पनि अझै न कर्जा तिरेर सकियो, न किस्ता नै।
०००
छोरालाई नशाकाे रोगले च्याप्दै गएपछि उपचार खर्च जुटाउन काजी सन् २०१७ मा साउदी अरब हानिए। पैसा कमाएर छोराको उपचार गराउने सपना बुनेर साउदी उडेका उनले भने जस्तो कमाइ गर्न सकेनन्। दैनिक ४०/४५ डिग्रीको घाममा १६ घण्टा काम गर्दासमेत महिनाको २० हजार मात्रै कमाउँथे।
एकातिर छोरा बिरामी थियो, अर्कोतिर बस्ने बाससमेत गतिलो थिएन। एक्लैको कमाइले दुईतिर नपुग्ने भयो। श्रीमतीले ऋण लिएर भए पनि छोराको उपचार गर्न सल्लाह मागिन्। काजीले सहमति जनाए।
साथीसँगै मिलेर श्रीमतीले गाउँकै तीनवटा लघुवित्तबाट दुई/दुई लाखका दरले ६ लाख कर्जा लिइन्।
उनीहरूले उपचारका लागि कर्जा त लिए तर, न छोरा ठिक भए, न त राम्रो बास नै बन्यो। छोरी पनि बिरामी पर्न थालिन्। दुवैको उपचारमा पैसा सकियो।
कर्जा लिएकाे रकम सकिए पनि काजी साउदीबाट किस्ताका रकम पठाइरहन्थे। श्रीमती लघुवित्तमा पैसा बुझाइरहन्थिन्।
लघुवित्तको किस्ताले उनीहरूलाई थिचेको थिच्यै थियो। एक/दुई दिन किस्ता तिर्न ढिला भयो कि लघुवित्तबाट ‘दाई पैसा तिर्ने होइन?’ भन्दै फोन घुमाइहाल्थे।
दिनरात नभनी ज्यामी काम गरेर कमाएको पैसा सबै लघुवित्तमा सकिएपछि सात महिनाअघि मात्र उनी नेपाल फर्किए। काजी फर्किएलगत्तै लघुवित्तको किस्ता तिर्न श्रीमती रीता पनि कुवेत जाने तरखरमा लागिन्।
काजीले रीतालाई ‘विदेश नजाऊ, जे गरे पनि आफ्नै देशमा गर’ भनेर नभेका पनि होइनन्। तर, दिनैपिच्छे लघुवित्तको अपहेलना र धम्की सुन्नुभन्दा रीतालाई कुवेत जानु नै बेस लाग्यो। र अन्ततः २०७९ पुसमा तीन लालाबाला छाडेर रीता कुवेत पुगिन्।
०००
श्रीमती बाहिर गएपछि सबै कुराको जिम्मेवारी काजीको थाप्लोमा आइपर्यो। घरको कामदेखि लिएर छोराछोरीलाई स्कुल पुर्याउने अनि व्यवहार चलाउनेसम्म उनलै गर्न थाले।
तीन कक्षासम्म मात्र पढाइ गरेका उनी लघुवित्तसम्बन्धी केही जानकार थिएनन्। लघुवित्तले जतिजति भन्थ्याे, काजी तिर्दै जान्थे।
‘म उताबाट पैसा पठाइरहन्थेँ, बुढी यता किस्ता तिर्थिन्। सायद अब किस्ताको रकम धेरै नहोला भएर नेपाल आएँ’, उनले भने, ‘तर लघुवित्तले त अझै ६ लाख बाँकी छ भन्छ।’
हरेक महिनामा किस्ताका रकम बुझाएपनि अझै ६ लाख तिर्न बाकीँ छ भनेपछि उनी लघुवित्त पीडितहरूको समूहमा आवद्ध भए र उनीहरूसँगै माइतीघर आइपुगे।
काजीलाई माइतीघरको बसाई त्यति सजिलो छैन। हिजो अस्तिमात्रै घर बनाउने क्रममा सिसाले काटेका खुट्टा सुनिएका छन्। घाउबाट घरि पानी बग्छ त घरि रगत। तर, पनि उनी न्याय पाइने आशमा माइतीघरको आँगनमा उभिएका छन्।
‘आफूले लिँदै नलिएको रकमको समेत किस्ता तिरिरहेको छु। न्याय चाहियो’, उनले भने, ‘मेरो अरु कुनै कुराको माग छैन।’
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया