गृहमन्त्रीमाथि प्रतिपक्षी नेताको संगीन आरोपहरू

क्विन्टल सुन तस्करीको केन्द्रमा फनफनी घुमिरहेका एउटा पात्र हुन्, केपी शर्मा ओली। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष ओली संसदमा प्रमुख प्रतिपक्षी दलका नेता पनि हुन्।

र, उनलाई यही सुनमा मुछिएका व्यापारी दीपक मलहोत्रासँग जोडिएको छ।

यो प्रकरणमा आफ्नै पनि नाम जोडिएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान ‘जरैसम्म पुग्ने’ अभिव्यक्ति चर्काइरहँदा ओली भने उनीमाथि बेस्सरी खनिएका छन्। गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतलाई उनकै कार्यकर्ताले मुछिरहेका छन्।

ओलीकै पार्टीको भ्रातृ संगठनले त गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन पनि गरिसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडक छेउबाट समातिएको ‘१०० किलो सुन’ले विमानस्थल भन्सारसहित राजनीतिक-वृत्तसमेत बेस्सरी हल्लिएको छ।

विमानस्थलको बाक्लो सुरक्षा संयन्त्र र भन्सार छल्दै एक महिनाभित्र क्विन्टलका क्विन्टल सुन बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोचना खेपिरहेका छन्।

‘सुन तस्करी प्रकरण’मा प्रधानमन्त्री प्रचण्डभन्दा धेरै आलोचित छन्- पूर्वप्रधानमन्त्री ओली, गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महत। एमालेनिकट पुराना सुन व्यापारी दीपक मल्होत्राको नाम १०० किलो सुन प्रकरणमा मुछिएपछि एमाले अध्यक्ष ओली कांग्रेस र माओवादीनिकट सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परे।

प्रचण्ड नेतृत्वको सरकारले ठूलो परिमाणको सुन बरामद गरेको भन्दै ‘एमाले-मल्होत्रा’को पुरानो सम्बन्ध औँल्याउँदै ओलीमाथि हिलो छ्यापियो। अनि, ‘विमानस्थलको आँखा छलेर बाहिरिएको एक क्विन्टल सुन’लाई लिएर गृहमन्त्री र अर्थमन्त्रीमाथि आशंकाहरू उब्जिएका छन्।

विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुनका सन्दर्भमा ‘हाई प्रोफाइल’तर्फ शंकाको सुइ घुमे पनि त्यतातिर अनुसन्धान भइरहेको छैन। सत्ताघटक कांग्रेसकै एक केन्द्रीय सदस्य भन्छन्, ‘यो सामान्य आँटले गरिएको तस्करी होइन। यसमा गृहमन्त्रीकै संलग्नता हुनुपर्छ। सानो व्यापारीले यस्तो गर्न सक्दैन। विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन भित्र्याउने भनेपछि गृहमन्त्रीकै हात हुनुपर्छ। उहाँले तत्काल राजीनामा दिएर यो प्रकरणलाई नसघाएसम्म पहिलेझैँ सेलाउँछ।’

गृहमन्त्री श्रेष्ठ भने आफ्नै दाबी र रटानमा दौडिरहेका छन्। सुन तस्करी प्रकरणमा आफू कहीँकतै नचुकेर संलग्न भएको देखिए वा भेटिएमा ‘कोट र टार’ कसैलाई पनि नछाड्ने बताउँछन्। उता अर्थमन्त्री महत मौन छन्। सुन तस्करीबारे उनी न बोल्छन्, न अनुसन्धानलाई चलायमान गराउनका लागि चल्छन्। गृहमन्त्री श्रेष्ठले विम्बका रुपमा ‘कोट’ भनेर टार्गेट गरेपछि एमालेका नेता–कार्यकताहरू चर्को गरी उफ्रिएका छन्।

‘आफ्नोसमेत संलग्न भएको एक क्विन्टल सुन’ ढाकछोप गर्नका लागि नारायणकाजी श्रेष्ठले मिडियामा अमूर्त तर्क गर्दै हिँडिरहेको उनीहरूको  आरोप छ।

कम्बोडियाबाट मंगलबार स्वदेश फर्किएका ओलीले विमानस्थलमै गृहमन्त्रीमाथि गम्भीर र संगीन आरोपहरू लगाएका छन्। गृहमन्त्रीका अभिव्यक्तिहरू आफूले कम्बोडियामै हेरेको र सुनेको बताउने ओलीले उनलाई आफूमाथिका आरोपहरूलाई गलत सावित गर्न पनि चेतावनी दिएका छन्।

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन? यहाँ आउने-जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ। गृहमन्त्री कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ, अर्काकै गालामा, मुखैको छेऊमा लगेर टाँस्छ,’ ओलीले भने।

तल्लो तहबाट एकअर्कालाई दोष थुपार्दै आइरहेका सत्तापक्ष र प्रतिपक्ष मंगलबारदेखि भने आमुने-सामने भए।

गृहमन्त्री र सरकारप्रतिको आफ्नो आक्रोश थाम्नै धौधौ मानिरहेका ओलीले बहालवाला गृहमन्त्रीमाथि संगीन आरोपहरू लगाएका छन्। त्यसको सिधा अर्थ हो- क्विन्टल सुन प्रकरण अब यत्तिमै सीमित रहँदैन। यो सत्ता र प्रतिपक्षको लडाइँको विषय भइसकेको छ।

सम्भतः एमालेले सडकदेखि सदनसम्म तताउँदैछ।

‘गृहमन्त्रीले बताउनुपर्‍यो। उहाँको संलग्नता छ कि छैन? यसमा। गृहमन्त्रीले कोट र टारका सम्बन्धमा चर्चाका गरेको के हो,’ ओलीले प्रश्न गरेका छन्। विमानस्थल भन्सार छलेर बाहिरिएको एक क्विन्टल सुन तस्करी र त्यसमाथि उनकै पनि नाम मुछिएका बेला गृहमन्त्री हल्कारुपमै छन्। गृहमन्त्री आफू उम्किन र भरिया अनि केही कर्मचारीलाई मात्र दोषी देखाउने बाटोमा हिँडिरहेको।

‘यो अत्यन्तै अनैतिक क्रियाकपाल हो। गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार हो। आफू गृहमन्त्री भएपनि... यस्ता खालका गैरजिम्मेवार कुराहरू गरेर हिँड्ने? सानोतिनो संलग्नतामा त यो काम भएको छैन होला? उहाँको संलग्नता चाहिँ छ कि छैन? छैन भने कसको संलग्नता छ? को छ यसमा? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टाँस्ने होइन,’ ओलीले विमानस्थलमा भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करको गिरोहले असार २९ मा हङकङबाट तस्करी गरिएको सुन प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

विमानस्थल भन्सारबाट पास भएको सुन राजस्व अनुसन्धान विभागले समातेपछि प्रधानमन्त्री प्रचण्डबारे जनमत पनि विभाजित छन्।

कतिपय भन्छन्- प्रधानमन्त्री कार्यालय मातहतको विभागले सुन बरामद गर्‍यो, प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ। अर्कोथरि भन्छन्- सुन दिनदिनै तस्करी भइरहेको थियो, योपटक चाहिँ सेटिङ नमिलेर समातियो। प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ।

तर गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्रीका सन्दर्भमा भने सुरक्षा निकाय र निजामती क्षेत्रका पूर्वअधिकारी निर्मम तर्क राख्छन्। उनीहरू भन्छन्, ‘सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीकै हात छ। उनीहरूलाई तत्काल पदबाट हटाएर छानविनमा तान्नुपर्छ।’

गृहमन्त्री श्रेष्ठले ओलीलक्षित दिएको ‘कोट’ अभिव्यक्तिले राजनीति रंगमञ्च थप अर्को रबैया मच्चाउँदैछ। फितलो अनुसन्धान भइरहेको सुन तस्करीको पाटोमा पुरानो तस्किरसहित व्यापारी मल्होत्रालाई ओलीसँगै उभ्याउन खोजेपछि सरकारसँग एमाले चिढिएको छ।

‘म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीका हैसियतले उहाँ बोल्दाखेरि तरिका पुर्‍याएर बोल्नुपर्छ, बद्तमिज हुनु एउटा कुरा हो, यो बद्तमिजी मात्रै होइन, गैरजिम्मेवार हद भयो। जथाभावी बोल्ने गृहमन्त्री भएर? जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ? गम्भीर विषयलाई डाइभर्ट गर्न खोजिँदैछ,’ गृहमन्त्रीलाई ओलीले भनेका छन्।

र, मंगलबार नै गोरखा पुगेका गृहमन्त्री श्रेष्ठले त्यहाँका पत्रकारहरूसँग भने, ‘प्रहरी अनुसन्धानमा बिराम लाग्दैन, ठूलो होस् कि सानो, दोषी छ भने अनुसन्धान जहाँसम्म पुग्नपर्छ, पुग्छ।’

उनले त्यसको जरासम्मै पुगेर अनुसन्धान गरिछोड्ने अडान पनि दोहोर्‍याएका छन्।

‘अनुसन्धान जरैसम्म पुर्‍याउन निर्देशन दिएका छौं, दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याइन्छ। जरैसम्म पुगिन्छ र कसैलाई छोडिन्न’, आफूलाई गाली गर्दै ओली काठमाडौंमा बम्किरहँदा गृहमन्त्रीले सन्देश पठाएका छन्।

प्रकाशित मिति: : 2023-07-25 18:12:00

प्रतिकृया दिनुहोस्