ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष र महासचिवमा उम्मेद्वारी घोषणा

ललितपुर उद्योग वाणिज्य संघका महासचिव रुपकमान महर्जनले ४४औं साधारण सभा तथा अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेवारी घोषणा गरेका छन्। 

संघको महासचिव जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गरिरहेका उनले समाज कल्याणका निम्ती अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए।

डेढ दशकदेखि संघको विभिन्न पदमा रहेर उद्योग व्यवसायीहरुको समस्यामा साथ दिँदै आइरहेका उनी ललितपुर खाद्य व्यापार संघको अध्यक्ष समेत हुन्।

'समाजको सेवा गर्न र समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ', आफूले उम्मेदवारी दिएको कारण खुलाउँदै उनले भने।

उद्योग, व्यवसाय र कलाको केन्द्रमा परिचित छाता संगठनको रुपमा रहेको ललितपुर उद्योग वाणिज्य संघको अधिवेशनको सरगर्मी बढेको छ।

साढे पाँच दशकको गौरवमय इतिहास बोकेको यस व्यवसायिक संगठनले वर्तमान चुनैतीहरुको सामना गर्दै सानादेखि ठूला सबै व्यवसायीहरुको हक हितको लागि आवाज उठाउँदै आइरहेको छ। र व्यवसायी मैत्री वातावरण निर्माणको नेतृत्व गर्न सक्ने सक्षम नेतृत्वको खोजी गरिरहेको छ। 

विश्वव्यापी आर्थिक मन्दीको मारमा परेको राष्ट्रिय अर्थतन्त्र र त्यसको प्रभावले उद्योग, व्यापार र व्यवसायमा छाएको निराशाले पनि व्यवसायीहरु सुनौलो बिहानीको व्यग्र प्रतीक्षामा रहेका छन्।

'हाम्रो  समूहमा ललितपुर जिल्लाका चिरपरिचित व्यवसायीहरु र व्यवसायीहरुका अधिकारको लागि दत्तचित्त भएर लागेका कर्मठ साथीहरु हुनुहुन्छ र हाम्रो जीत सुनिश्चित छ', अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै रुपकमान महर्जनले बताए।

नेपाल आर्ट भिलेज लगायत विभिन्न सामाजिक संघ संस्था र विभिन्न व्यवसायिक संस्थाहरुमा समेत नेतृत्वदायी भूमिकामा रहेका महर्जन एक भद्र, शालिन र समन्वयकारी व्यक्तित्वको रुपमा परिचित छन्। 

यसैगरी चिरपरिचित व्यवसायी तथा साढे दुई दशकदेखि ललितपुर उद्योग वाणिज्य संघमा विभिन्न पदमा रहेर कुसल भूमिका निर्वाह गरेका र निरन्तर रुपमा तीन कार्यकाल कार्यसमिति सदस्य रुपमा रहेका वर्तमान कार्यसमिति सदस्य महेश श्रेष्ठले महसचिवको उम्मेद्वारी घोषणा गरेका छन्।

आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमूलस्थित यल दरबारमा संघको साधारणसभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2023-08-30 07:30:00

प्रतिकृया दिनुहोस्