‘एमसीसीले छिमेकी देशसँग नेपालको व्यावसायिक सम्बन्ध सुधार गर्नेछ’

अमेरीकी सहयोग नियोग मिलेलियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत अब आयोजना निर्माणका कामहरू सुरु भएका छन्।

बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले अर्थ मन्त्रालयमा परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको औपचारिक पत्र साटासाट गरे।

योसँगै आजकाे मितिदेखि ठ्याक्कै पाँच वर्षमा आयोजनाका कामहरू सक्नुपर्नेछ। पूर्वतयारीका चरणहरू पूरा भएपछि उक्त कार्यान्वयनको चरण घोषणा गरिएको हो।

अर्थ मन्त्रालयमा आयोजना भएको कार्यक्रममा छोटो मन्तव्य व्यक्त गर्दै अर्थमन्त्रीले देशको आर्थिक विकासका लागि एमसीसी परियोजना महत्वपूर्ण सहयोगी हुने बताए।

उनले भरपर्दो विद्युत आपूर्ति र सडकहरूको स्तोन्नतिले नेपालको विकासमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।

‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषित विद्युत् प्रसारण आयोजना र नेपालको रणनैतिक सडक सञ्जालमा लगानी गर्ने सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भ भएको घोषणा गर्न पाउँदा खुसी लागेको छ,’ महतले भने, ‘नेपालको आर्थिक विकासलाई सघाउने एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका आयोजनाहरूले सडक स्तरोन्नति तथा भरपर्दो विद्युत् आपूर्तिमार्फत नेपाली जनतालाई लाभान्वित गर्ने विश्वास छ।’

‘सर्वाधिक महत्वपूर्ण आर्थिक सहयोग नेपाली साझेदारहरूसँग सहकार्य गर्न पाउँदा एमसीसी गौरवान्वित भएको छ’, यसलाई अत्यन्त उत्साहजनक क्षण भन्दै एमसीसीका उपाध्यक्ष अल्फोर्डले सुनाए।

उपाध्यक्ष अल्फोर्डले नेपालमात्र नभएर अन्य देशमा पनि विद्युत् दिन मिल्ने भएकाले नेपालको आर्थिक वृद्धि र छिमेकीसँगको व्यावसायिक सम्बन्धमा पनि सहयोग पुग्ने बताए।

‘नेपाली जनताका लागि व्यावसायिक अवसरहरू सिर्जना गरेर, रणनैतिक सडक सञ्जालको मर्मतसम्भारमा सुधार गरेर तथा वातावरण संरक्षण गर्ने क्रममा विद्युत् आपूर्तिको विश्वसनियतामा सुधार गर्ने नवीन उपायहरू पहिल्याएर नेपालको आर्थिक वृद्धिलाई अगाडि बढाउन हामी सहकार्य गर्नेछौँ’, उनले भने।

एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आयोजनाका कामहरू तोकिएकै समय सीमामा सकिने बताए। ‘नेपाल सरकारको निर्देशन एवं एमसीसीको सहयोगबाट हामी निश्चित बजेट र समयावधिमा आयोजनाहरू सफलतापूर्वक सम्पन्न गर्नेछौँ’, उनले भने।

उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले एमसीसी नेपालको विकासका लागि यो परियोजना ‘कोशेढुङ्गा’ सावित हुने बताए।

‘अमेरिका र नेपालबीच ७५ वर्षभन्दा बढी समयदेखि बलियो मैत्रीपूर्ण सम्बन्ध छ र हाम्रो मित्रताको एउटा उत्साहवर्द्धक कोशेढुङ्गा एमसीसी नेपाल कम्प्याक्ट हो’, उनले भने, ‘यसले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्नेछ र विद्युत् तथा यातायातमा नेपाली जनताको पहुँचमा सुधार गर्नेछ। आज यस महत्वपूर्ण घोषणा कार्यक्रममा सहभागी हुन पाउँदा निकै हर्षित छु र नेपालको आर्थिक विकासमा कम्प्याक्टले उल्लेख्य प्रभाव पार्ने अपेक्षा गर्दछु।’

प्रकाशित मिति: : 2023-08-30 18:25:00

प्रतिकृया दिनुहोस्