‘विद्युतीय साधनका सहरहरू’, के यो नेपालमा सम्भव छ? (भिडियाेसहित)

काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ मेला सुरु भएको छ। 

विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ सुरु भएको यो मेला तीन दिनसम्म चल्नेछ। 

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्दै देश ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिन सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको बताए। 

सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको बताउँदै उनले भने, ‘ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र तय गरेको नयाँ विद्युत् विधेयक सङ्घीय संसद्मा पेस हुने चरणमा छ।’

सरकारले देशभर नै पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ। यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन्। 

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स, एक्जिविसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एन्ड इम्पोर्टर्स एशोसिएसन अफ नेपालले यो मेला संयुक्तरुपमा लगाएका हुन्। स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीले मेलामा प्रदर्शनी स्टलहरू राखेका छन्। 

यहाँ विद्युतीय, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीले आआफ्नो उत्पादन र सामग्रीका बारेमा जानकारी दिइरहेका छन्। 

‘सरकारले चाह्यो नेपाल ईभीको सहर बन्छ’

पछिल्ला समय बजारमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो छ। नेपालमा जलविद्युतको उत्पादन समेत बढेको छ। सोही कारण सरकारले विद्युतीय यातायातलाई प्राथमिकता दिएको छ। त्यसका लागि नेपाल सरकारले आगामी वर्षहरूमा पेट्रोलियम सवारीहरूलाई कटौती गर्दै लैजाने नीतिसमेत अख्तियार गरिरहेको छ। 

पेट्रोलियम इन्धनमा आधारित गाडीको तुलनामा विद्युतीय सवारीले स्वास्थ्यका साथै जलवायु परिवर्तनका असर कम पनि मदत पुग्छ। यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देशभित्रै क्लिन इनर्जीको खपत बढाउँछ। 

नेपाल आयल निगमको तथ्याङ्क हेर्ने हो भने पेट्रोल र डिजेलको आयातमा सन् २०२१ मा १ खर्व ६० अर्व ९४ करोड रुपैयाँ बाहिरिएको थियो। सन् २०२२ मा भने बढेर २ खर्व २४ अर्व ७८ करोड रुपैयाँ बाहिरिएको छ। 

व्यापार घाटाको मुख्य कारण बनेको पेट्रोल डिजेलको आयातलाई निरुत्साहीत गरि विद्युतीय सवारी प्रर्वद्धन गर्ने राज्यको नीति भएपनि अपेक्षित परिणाम आउन सकेको छैन। 

सोही कारण सरकारले सन् २०३० सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापित गर्ने लक्ष्य राखेको छ। तर सरकारले घोषणा गरेर मात्र सम्भव नहुने प्रदर्शनीमा रहेका ‘लिफन’ ब्राण्डका नेपाल विक्रेता रुपक भट्टराई बताउँछन्। 

‘हालसम्म नेपालमा हाल २५ प्रतिशतसम्म विद्युतीय साधन (ईभी) छन् तर देशभरि यसको प्रयोग गर्न समय लाग्छ’, ‘लिफन’ ब्राण्डको स्कुटर बिक्रीमा राखेका उनी भन्छन्, ‘मान्छेले ईभी महँगो छ भन्छन् तर हामीले सस्तो मूल्यमा दिइरहेका छौं।’ 

विद्युतीय सवारीको मूल्य सुरुमा अलि महंगो मानिए पनि प्रयोगका हिसावले दीर्घकालमा यसमाथिको लगानी निकै कम पर्न जान्छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भने ईभी सस्तो र राम्रो रहेको बताउँदै उनले भने, ‘यसलाई एक पटक मात्र लगानी गरे हुन्छ।’ ईभी स्कुटरको वारेन्टी पनि धेरै वर्षसम्म हुन्छ। 

सरकारले चाह्यो भने पाँच वर्षभित्रै नेपाल ईभीको सहर बन्ने बिजय कोइरालाको विश्वास छ। कारको प्रदर्शनीमा रहेका बिजय कोइराला भन्छन्, ‘हामीले मात्र चाहेर मात्र केही हुँदैन तर सरकारले चाह्यो भने सन् २०३० सालसम्म पर्खनु पर्दैन।’

आफूले बिक्रीमा राखेको कारको ग्यारेन्टी पाँच वर्षसम्म रहेको जनाउँदै उनले प्रदर्शनी राखिएको कारको मूल्य २३ देखि २४ लाखसम्म पर्ने बताए। ‘वान टाइम इन्भेस्ट हो’, उनले भने, ‘प्रयोगकर्ताहरूका लागि बेस्ट हुन्छ।’

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय साधन प्रयोग गर्नु उपयुक्त रहेको बताउँछन्, नरेन्द्र खड्रगी। विद्युतबाटै चल्ने टेम्पाेको बिक्री गरिरहेका उनी भन्छन्, ‘वान टाइम लगानी नै यसको सबैभन्दा ठुलो विशेषता हो।’ 

ईभीको सामान एकपटक खरिद गरेपछि त्यसलाई पेट्रोललगायत सर्भिसको आवश्यकता नपर्ने उनको भनाइ छ। ईभीलाई एकपटक चार्ज गरे ८० किलोमिटरसम्म चल्नसक्छ। 

र, यसले पाँच सय ५० केजीसम्मको तौल बोक्न सक्दछ। जसको मूल्य ९ लाख ७० हजारदेखि ११ लाख रुपैयाँसम्म पर्दछ। पेट्रोलबाट चल्ने साधनबाट विद्युतीय साधन सर्वसाधारणका लागि उपयुक्त र सहज हुन्छ।

प्रकाशित मिति: : 2023-09-01 21:50:00

प्रतिकृया दिनुहोस्