नाफा कमाएर ऋण तिर्न ग्यास-तेलको मूल्य चर्काउँदै आयल निगम

गत भदौ १५ गतेदेखि लागु हुनेगरी नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य एकैपटक २३५ रुपैयाँ बढाइ दियो।

भारतीय आयल निगमले ग्यासको मूल्यमा १८६.४५ रुपैयाँ बढाएर पठाएको थियो। यसलाई उसले ‘स्वचालित मूल्य प्रणाली’ भनेको छ।

भारतीय आयल निगमको मूल्यका आधारमा पेट्रोल, डिजेल र ग्यासको नेपाली बजार मूल्य तोक्ने निगमले बढेर आएको मूल्यमा ह्वात्तै बढाइदिन्छ। तर, घटेर आउँदा कमैमात्र मूल्य घटाउँछ।

स्वचालित मूल्य प्रणाली भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा घटाउने र बढ्दा बढाउने विधि हो। तर, निगमले भने एकोहोरो (बढ्दा बढाउने)मात्रै यसलाई लागु गर्छ।

यसलाई भने निगमले ‘पहिलादेखिको घाटा पूर्ति गर्न’ भनेर तर्क गरेको छ। अर्थात्, निगमले विगतमा ब्यहोरेको घाटा पूर्ति र त्यसबाट खेपेको ऋण चुकाउन उपभोक्ता मूल्यमा कसिरहेको छ।

नत्र त अघिल्ला दुई वर्षदेखि घाटामा रहेको आयल निगमले आ.व. २०७९/०८० मा १८ अर्ब नाफा कमाएको छ। योसँगै निगम सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थानको सूचीमा पहिलो स्थानमा छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ नियमित रूपले घटे पनि नेपाली बजारमा मूल्य समायोजन नगरी चर्को नाफा लिएर बेच्दै कारण निगम सबैभन्दा धेरै नाफा कमाउने सरकारी कम्पनी बन्यो।

तर, त्यसको चर्को मूल्य भने उपभोक्ताले चुकाउनुपरेको छ।

सरकारको स्वामित्वमा खडा भएका सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा धेरै नाफा आयल निगमले कमाउँछ तर पनि समग्रमा हेर्दा संस्था घाटामा रहेको निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन्।

उनकाअनुसार अहिले निगमले १५ दिनमा करिब २५ करोडको नाफा गर्छ तर विगतमा भएको घाटा पूर्ति गर्नका लागि यो पनि निकै कम हो।

‘हुन त अहिले हामी नाफामा छौं तर विगतमा भएको घाटाको कारण त्यसकै ऋण तिरिहेका छौं’, उनले सुनाए।

रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महङ्गो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गर्दा निगम घाटामा गएको थियो।

आ.व. २०७८/७९ मा ४९ अर्ब रुपैयाँ घाटा रहेको निगमले आ.व. २०७७/७८ मा ५९ करोड घाटा खाएको थियो। तर २०७९/८० सालमा भने सबैभन्दा धेरै नाफा कमाएको छ।

‘अहिले यो संस्था नाफामा छ तर त्यो नाफाको पैसा भने ऋण तिर्नमै ठिक्क हुन्छ। अहिलेको वर्ष नाफा कमाए पनि के गर्नु अझै पनि ऋण तिर्न बाँकी छ’, उनले बिएल नेपाली सेवासँग भने।

पछिल्लो समय आयल निगमले नाफा कमाइरहे पनि सरकारको ऋण तिर्न अझै नाफा गर्नुपर्ने उनको भनाइ छ।

कति छ आयल निगमको ऋण ?

अन्तर्राष्ट्रिय बजारले तोकेको मूल्य अनुसार निगमले पेट्रोलियम पदार्थ मूल्य तोक्ने गर्छ।

तर, कहिलेकाहिँ भने निगमले बाहिरबाट मूल्य घटेर आएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउँदैन। जसको कारण निगमले ऋण देखाउँछ।

‘आयल निगमले गत आवमा चर्को मुनाफा राख्नैपर्ने बाध्यता थियो। किनभने त्यसअघिको वर्षमा अन्तर्राष्ट्रिय बजारमा ठूलो अन्तरले मूल्य बढे पनि नेपाली बजारमा सोहीअनुसार समायोजन गर्न नपाउँदा निगमलाई ४९ अर्ब नोक्सान भएको थियो,’ उनले भने, ‘सो नोक्सानी पूर्तिका लागि गत आवमा नाफा गरिएको हो।’

आयल निगमले गत आ.व.मा गरेको नाफा कुनै एक आर्थिक वर्षमा आर्जन गरेको हालसम्मकै दोस्रो ठूलो नाफा हो। यसअघि आव ०७२/७३ मा निगमले १९ अर्ब ३६ करोड नाफा आर्जन गरेको थियो। त्यतिखेर कमाएको नाफा पनि ऋण तिर्न प्रयोग गरिएको उनले बताए।

आयल निगमले पेट्रोलियम पदार्थ खरिद गर्दै आइरहेको इन्डियन आयल कर्पोरेशन (आइओसी)को २४ अर्ब रुपैयाँ उधारो भुक्तानी गरी बक्यौता मुक्त भएको छ तर सरकारसँग लिएको उधारो भने अझै चुकाउन सकेको छैन। त्यसको कारण उनी विगतमा निगमले ब्यहोरेको घाटालाई देखाउँछन्।

‘निगमले ७ प्रतिशत ब्याजले सरकारसँग ७ अर्ब रुपैयाँ ऋण लिएको थियो। त्योसँगै घाटामा रहेका बेला निगमले बिक्रेता र एयरलाइन्सले राखेको धरौटी रूपैयाँहरू तेल किनेरै सक्कायो तर अहिले निगम नाफामा छ र ऋणहरू पनि भुक्तानी गर्दैछ’, उनले भने, ‘अब निगमले सरकारको २ अर्ब १० करोड तिर्न बाँकी छ र १ अर्ब ९५ करोड रूपैयाँ कम्पनी घाटामा हुँदा किनेको तेलको पैसा तिर्नुछ।’

कति बेच्छ तेल ?

गत आ.व.मा दुई खर्ब ८१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको निगमले जनाएको छ। त्यो अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत कम हो।

पेट्रोलियम पदार्थमा लगाइएको स्थिर कर नीतिका कारण गत आ.व.मा निगमले एक खर्ब १० अर्ब रुपैयाँ राजस्व बुझाएको थियो।

२०७९/८० मा निगमले ६ लाख ७२ हजार किलो लिटर पेट्रोल, १३ लाख ८ हजार किलोलिटर डिजेल, १३ हजार किलोलिटर मट्टीतेल, १ लाख ७४ हजार, हवाई इन्धन र ५ लाख  लिटर १४ हजार टन एलपी ग्यास आयत गरेको प्रवक्ता ठाकुरले बताए।

अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर पेट्रोल १७८.२ रुपैयाँले खरिद गर्ने नियमले नेपालमा बेच्दा ४ रुपैयाँ नाफा राख्छ। अर्थात्, अहिले निगमले पेट्रोल लिटरको १८२ रुपैयाँले बेचिरहेको छ।

त्यसैगरी डिजेलमा निगमले ३.२५ रुपैयाँ नाफा राखेको छ भने मट्टीतेलबाट झण्डै १८ रुपैयाँ नाफा उठाइरहेको छ। तर, एलपी ग्यासबाट भने निगमले ०.४ रुपैयाँ मात्र नाफा लिएको छ।

‘एलपी ग्यासमा निगमले कुनै नाफा खाएको छैन। जतिमा किनेको त्यतिमै बेचिरहेको छ’, उनले भने।

नेपालमा एक थोपामा पनि तेल उत्पादन हुँदैन। सोही कारण स्वदेशमै उत्पादन हुनसक्ने विद्युत उत्पादन गर्नुपर्ने उनको भनाइ छ। उनकाअनुसार विदेशी उत्पादनको खपत घटाएर स्वदेशी उत्पादनको खपत बढाउनुपर्छ।

‘हामीले यहाँ जे जति कमाइरहेका छौं। त्यसले विदेशी उत्पादनको आयात गर्छौ तर स्वदेशी उत्पादनलाई ध्यान दिने हो भने सबै जनालाई सहज हुन्छ’, उनी भन्छन्, ‘विदेशी सामानलाई त्यागेर स्वदेशमा बनेको सामानलाई ध्यानमा राख्नुपर्छ।’

आयल निगम नेपालकै मेरुदण्ड भएको बताउँदै उनले भने, ‘सरकारको पूर्ण स्वामित्व रहेको सार्वजनिक संस्थानहरू धमाधम बन्द भइरहेको छ। कैयौं संस्थानहरूको अवस्था दयनीय छ तर यो संस्थाको अवस्था अहिलेसम्म दयनीय छैन, राम्रै चलिरहेको छ।’

थप सामाग्री :
प्रकाशित मिति: : 2023-09-15 19:15:00

प्रतिकृया दिनुहोस्