नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान सुरु गरिएको बताएका छन्।
सरकारले नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि काम गर्नुपर्ने भन्दै अध्यक्ष नेपालले गाँउ-गाँउमा कृषि क्रान्तिको अभियान लिएर अघि बढन कार्यकर्तालाई आह्वान गरे।
शुक्रबार हेटौँडामा आयोजित समाजवादी जागरण अभियान अन्तर्गतको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताए।
उनले ढिला सुस्ती र भ्रष्टाचार अन्त्य गर्न सके मात्रै जनताले न्याय पाउने भनाइ राखे। जनताको मनोबल उच्च नभए समाजको विकास नहुने भन्दै उनले सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए।
जनतामा जानका लागि पार्टीको नाम मात्र नभई महाअभियान जरुरी रहेको उनको भनाइ छ। अध्यक्ष नेपालले रोजगारी, समृद्धि र सुशासनको नाराका साथ आम नागरिकमा देशको वर्तमान अवस्था, आगामी दिनमा पार्टीले लिने रणनीति, कार्यदिशा लगायतका विषयमा जानकारी गराउन अभियान सञ्चालन गरिएको स्पष्ट पारे। उनले जनतासँग स्थापित हुन आफूहरु घर–घरमा आएको बताए।
जनता आवास कार्यक्रम, काठमाडाैँ-निजगढ द्रुतमार्गको योजना तथा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका योजना आफू प्रधानमन्त्री हुँदा ल्याएको भन्दै बताए। जागरण अभियानले पार्टी बलियो बन्नेमा विश्वास गर्दै उनले कार्यकर्तालाई सबैमा आशा जगाएर अघि बढ्न आग्रह गरे।