सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ छिट्टै ल्याउने तयारी गरिरहेको जानकारी दिएकी छन्।
प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी आजदेखि सुरु गरेको तीन दिने ‘एड्भान्स पत्रकारिता तालिम’को सुरुवात गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालमा सद्भाव खलबलिने किसिमको समाचार नलेख्न आग्रह गरिन्।
मन्त्री शर्माले तालिमले पत्रकार महिलाको क्षमता अभिवृद्धिमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘एकाउन्न प्रतिशत महिला रहेको देशमा पत्रकारिता क्षेत्रमा आबद्ध महिलालाई सक्षम बनाउन जरुरी छ।’
उनले महत्वपूर्ण ‘विट’मा पत्रकार महिलाको सहभागिता बढाउनसमेत आग्रह गरिन्। मन्त्री शर्माले बागमती प्रदेशसँगै अन्य प्रदेशमा पनि यस प्रकारका तालिम सञ्चालन गर्न प्रेस काउन्सिललाई अनुरोध गरिन्।