प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सम्पन्न

बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती जात्रा सम्पन्न भएको छ।

महासप्तमीदेखि सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए। प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा दुई सय राँगा र चार सय बोकाको बलि दिइएको हो। निङ्गलाशैनी भगवती मन्दिरमा सुदूरपश्चिमकै सबैभन्दा बढी पशु बलि दिने गरिन्छ।

भाकलअनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजन आएका थिए। निङ्गलाशैनी माताको हजारौँ दर्शनार्थीले दर्शन गरेका गरेका जनाइएको छ। जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थी पुगेका स्थानीय दीपेन्द्रबहादुर बोहराले बताए। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।

जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि देहीमाडौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका–२ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले जनाए। मेलामा शान्ति सुव्यवस्था कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए।

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चारपटक पूजाआजा हुने गरेको छ। दसैँको महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मङ्सिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि दिइँदैन।

प्रकाशित मिति: : 2023-10-22 18:54:00

प्रतिकृया दिनुहोस्