कतारबाट ल्याएको सुनसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुरको सालपासिलिछो गाउँपालिका–४ का २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका–९ का ४४ वर्षीय नजिर मन्सुर रहेका छन्।
यस्तै अन्य पक्राउ पर्नेमा धनुषा हंसपुर नगरपालिका– ८ का ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका– १५ का २८ वर्षीय अर्जुन भट्टराई र गोरखाको गण्डकी गाउँपालिका– २ घर भई हाल काठमाडौंको बालाजुमा बस्ने वर्ष ३० का अनिष थापा रहेका छन्।
उनीहरुलाई आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिनामंगलबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट २१४ दशलव ३६ ग्राम सुन र नगद एक लाख १० हजार रुपैयाँ बरामद गरेको छ। उक्त सुनको मूल्य करिब २६ लाख ५१ हजार रहेको प्रहरीले जनाएको छ।
कतारको उडान मार्फत् नेपाल आउने केही व्यक्तिहरूले भन्सार छली अबैध रूपमा सुन ल्याएर कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई निगरानी गरी पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।