रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिबीचको विवाद चरम उत्कर्षमा पुगेको छ।
तत्कालीन मेयर गोपाल राय यादव विशेष अदालतबाट दण्डित भएर निलम्बित भएसंगै कार्यवाहक मेयर अम्बया खातुन र अन्य जनप्रतिनिधिबीच बिवाद उत्पन्न भएको हाे।
करिब एक महिनादेखि जनप्रतिनिधिबीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका छैनन् भने लोकापर्व छठको मुखमा पनि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन।
फतुवा विजयपुर नपामा विगत महिनादेखि भइरहेको नाटक मञ्चनले नगरपालिका अस्तव्यस्त मात्र नभएर नगरको भविष्य नै खतरामा परेको भन्दै आम जनता पार्टीको फतुवा विजयपुर नगरपालिकाको नगर अध्यक्ष एवम मेयर प्रत्यासी विजय यादव निर्विजले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध गरेका छन्।
‘फतुवा विजयपुर नगरपालिका गलत नेतृत्वका कारण रौतहटको सबभन्दा पिछडिएको नगर साबित भइसकेको छ’, यादवले भने।
लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादवलाई तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला विशेष अदालतबाट भएपछि उनको पद गएको थियो।
‘भ्रष्टचारकाे जालोले बेरिएको यो हाम्रो नगरलाई बेतिथि विरुद्ध सम्पूर्ण न्याप्रेमी जनसमुदाय अगाडि आउन जरुरी देखिएको छ । यो सवै बेथितिकाे विरुद्ध सम्पूर्ण युवा शक्ति एक हुन जरुरी रहेकाे छ। हाम्राे सुन्दर नगरलाई मजबुत बनाउन युवा शक्ति एक हुनुपर्छ’ नेता विजय यादवले आह्वान गर्दै भनेका छन्।